काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलन गर्दै पार्टीले आइतबार निर्वाचन प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो।

पार्टीले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको लागि स्थापित पार्टी भएको जनाएको छ। प्रतिबद्धता-पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गरिने जनाएको छ।

त्यस्तै प्रतिबद्धता-पत्रमा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ। उसले सुशासनतर्फ सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था अघि सारेको छ।

प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ। राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधिसभा सदस्य संख्या घटाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष कुलमान घिसिङले बताए। त्यसैगरी प्रदेशसभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने उल्लेख छ।

प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ। त्यस्तै संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढीमा सात सदस्यीय हुने प्रतिबद्धता-पत्रमा उल्लेख छ।

भ्रष्टाचार नियन्त्रणका लागि दोषीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, सम्पत्ति राष्ट्रियकरण, उजुरीकर्तालाई ५ प्रतिशत पुरस्कार दिने व्यवस्था र ‘उज्यालो हटलाइन’ सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।

पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, रेलमार्ग अध्ययन, जलमार्ग सम्भाव्यता परीक्षण तथा एक प्रदेश एक स्मार्ट सिटी कार्यक्रम अघि बढाइने बताइएको छ। पार्टीले गरिबी दर २०३० सम्म १५ प्रतिशत र २०३५ सम्म १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। बेरोजगारी दर ५ प्रतिशतभन्दा कममा झार्ने तथा ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने दाबी गरिएको छ।

प्रतिबद्धता-पत्रमा वार्षिक नौ लाख रोजगारी सिर्जना गर्ने, सन् २०३० सम्ममा जीडीपीको आकार ७० अर्ब डलर र सन् २०३५ सम्ममा करिब १११ अर्ब डलर पुऱ्याउने प्रतिबद्धता गरिएको छ।

यसैगरी सन् २०३५ सम्ममा प्रतिव्यक्ति आय करिब चार हजार डलर पुऱ्याउने तथा मेडल प्राप्त राष्ट्रिय खेलाडीलाई मासिक २५ हजार र अन्तर्राष्ट्रिय खेलाडीलाई ६० हजार रुपैयाँ पेन्सन दिनेलगायत प्रतिबद्धता उनेपाको छ।

कृषि क्षेत्रमा डिजिटल आईडीमार्फत अनुदान वितरण, ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक क्षेत्रमा रूपान्तरण, सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने तथा युवा किसानलाई सहुलियत ऋण दिने योजना अघि सारिएको छ। पर्यटन क्षेत्रलाई धार्मिक, सांस्कृतिक, साहसिक तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा विकास गरी वार्षिक १० अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखिएको छ।

हेर्नुस् प्रतिबद्धता-पत्र :