काठमाडौँ। पहिलो दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष आयोजना गरिने भएको छ।
दक्षिण एसियाली तेक्वान्दो युनियनको काठमाडौँमा बसेको बैठकले प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यही वर्ष भुटानको राजधानी थिम्पुमा आयोजना गर्ने निर्णय गरेको हो।
काठमाडौँमा आयोजना भइरहेको चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्ल्यूटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) का अवसरमा सोमबार राति युनियनको बैठक बसेको थियो। युनियनका अध्यक्ष पाकिस्तानका उमर सइदको सभापतित्वमा भएको बैठकले भुटानको राजधानी थिम्पुमा प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता र कार्यालय स्थापनालगायत विभिन्न निर्णय गरेको हो।
बैठकले सदस्य राष्ट्रबाट वार्षिक रूपमा अनुदान जम्मा गरी सहायता कोष स्थापना गर्ने, युनियनको लोगो तयार गर्ने, यसै वर्ष भुटानमा दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने, दक्षिण एसियाली क्षेत्रमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने, खेलाडीको हकहित र प्रशिक्षकको वृत्ति विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेलगायत निर्णय गरेको छ।
बैठकमा भारतीय तेक्वान्दो संघका अध्यक्ष नामदेव सिरगाउनकर, भुटान तेक्वान्दो महासंघका महासचिव योन्थेन थार्चेन, पाकिस्तान तेक्वान्दो संघका महासचिव नाजिमा रसुल र बंगलादेश तेक्वान्दो संघका प्रतिनिधिको उपस्थिति थियो। बैठकमा नेपालबाट नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, साम्राज्यविक्रम पाण्डे र महासचिव हेमन्त डाँगी सहभागी थिए।