काठमाडौँ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चुनावमा महिला सहभागी बढाउन आगामी सातादेखि विशेष अभियान चलाउने बताएकी छन्।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल र अर्न्तार्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन) को संयुक्त आयोजनामा काठमाडौँमा भएको कार्यक्रममा उनले चुनावमा प्रत्यक्षतर्फ ११ प्रतिशत मात्रै महिला उम्मेदवार मैदानमा रहेको भन्दै सबै महिला मतदातालाई मतदानमा सहभागी गराउने योजना सुनाइन्।
सातै प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिँदा चुनावमा महिला सहभागिता, अपाङ्गतामैत्री र पहुँचयोग्य मतदानस्थलको सुनिश्चितताका लागि मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको पनि उनको भनाइ थियो। “निर्वाचन अधिकारी, अधिकृतलगायत सरोकारवालाले महिला सहभागिता, समावेशी र सबैको पहुँच हुने गरी निर्वाचनको तयारी भइरहेको बताउनुभएको छ। चुनावमा महिला मतदाताको सक्रिय सहभागिताबारे विभिन्न १० वटा सन्देश तयार भएको छ‚” कार्यक्रममा मन्त्री श्रेष्ठले भनिन्, “यी सन्देश देशभरका सामुदायिक रेडियोबाट पनि बजाउने गरी अकोराबसँग सहकार्य भएको छ।”
उनले चुनावमा बालकालिको दुरुपयोग रोक्नेबारे पनि सबैले आवाज उठाउनुपर्नेमा जोड दिइन्। मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अन्य सीमान्तकृत वर्ग तथा समुदायलाई लक्षित गरेर विभिन्न १० वटा स्थानीय भाषामा समावेशीकरण प्रवर्धन र अधिकारको जानकारीसहित शिक्षा तथा सन्देशमूलक सामग्री बनाएर प्रचारको काम सुरु गरेको छ। नेपालीसहित मैथिली, भोजपुरी, अवधी, तामाङ, नेवारी, राईलगायत भाषामा शिक्षा र जानकारीमूलक सामग्रीहरूको प्रचार भने सुरु भइसकेको छ।
प्रतिनिधिसभाको चुनाव स्वच्छ र सहभागितमूलक बनाउन नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने सरोकारवाला निकायका प्रतिनिधिको भनाइ छ। प्रयत्न नेपालकी अध्यक्ष एवं अपांगता अधिकारकर्मी सरिता लामिछिनेले निर्वाचन पहुँचयुक्त बनाउनुपर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गर्दा दृष्टिविहीन, श्रवण क्षमता गुमाएकालगायत अपांगता भएकाले पनि थाहा पाउने गरी उपलब्ध गराउनुपर्ने धारणा राखिन्।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का महासचिव राजु घिमिरेले चुनावको समयमा बालबालिकाको दुरुपयोग रोक्न राजनीतिक दल, उम्मेदवार तथा नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिए। यस्तै कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले स्वतन्त्र नागरिकको अधिकार हनन नहुने नगरी अघि बढ्नुपर्ने बेला आएको धारणा राखे।
अर्न्ताष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन) का अध्यक्ष एसपी कलौनीले निर्वाचन भयरहित र स्वच्छ रूपमा होस् भन्ने चाहना रहेको उल्लेख गरे।
छलफलमा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन, यौनिक तथा लैंगिक अल्पसङ्ख्यकको सहभागितालगायत बारेमा नागरिक समाजको भूमिका र आगामी दिनमा सुधार गर्नुपर्ने पाटोबारे सरोकारवालाबीच छलफल पनि गरिएको थियो।