ढाका। बाङ्लादेशमा सम्पन्न आम निर्वाचनमा बहुमत प्राप्त बाङ्लादेश नेश्नलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान मंगलबार प्रधानमन्त्री नियुक्त हुँदै छन्।
बाङ्लादेश नेश्नलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले मंगलबार शपथ लिने बताएको छ।
बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ।
विद्यार्थी आन्दोलनको १६ महिनापछि बाङ्लादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ।
यसअघि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले १६ महिना शासन गरेको थियो। सोमबार राति युनुसले आफ्नो बिदाइ भाषणमा पद छोड्ने घोषणा गरेका थिए। गत बिहीबार (१२ फेब्रुअरी) मा सम्पन्न आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो भने जमात-ए-इस्लामी गठबन्धनले ७७ सिट जितेको छ।