काठमाडौं । रास्वपाका वरिष्ठ नेता झापा ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै नेपालको सांस्कृतिक विविधता नै देशको पहिचान भएको उल्लेख गरेका छन्।
उनले आफ्नो शुभकामना सन्देशमा लेखेका छन्, “सांस्कृतिक विविधताले सजिएको हाम्रो देशमा विभिन्न समुदायले विभिन्न तिथि (मिति) मा नयाँ वर्ष मनाउने गर्दछन्। आज विशेषतः शेर्पा समुदायले उत्सवका साथ मनाउने ग्याल्पो ल्होसार हाम्रो हिमाली क्षेत्रमा साझा रूपमा मनाइने पर्व हो।”
बालेनले समयसँगै नेपाली पर्वहरू कुनै एक स्थान वा समुदायमा सीमित नरहेको उल्लेख गर्दै ती सबै साझा राष्ट्रिय सम्पदाका रूपमा विकसित हुँदै गएको बताएका छन्। उनले विविधतामा एकता कायम राख्दै गौरवमय संस्कृति र सम्पदाको संरक्षण गर्न सबैलाई आह्वान गरेका छन्।
देशले नवीनता र सकारात्मक परिवर्तन खोजिरहेको वर्तमान सन्दर्भमा ग्याल्पो ल्होसारले सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना समेत उनले व्यक्त गरेका छन्। साथै, आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना प्रकट गरेका छन्।