काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा जारी पत्रमार्फत आचारसंहिता उल्लंघन हुनसक्ने देखिएको भन्दै तत्काल एन्फाको निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको हो।
आयोगका अनुसार एन्फाले आगामी साधारणसभा तथा निर्वाचन कार्यक्रम गर्ने तयारी गरिरहेको जानकारी पाएपछि निर्वाचन आचारसंहिता २०७९ अनुसार प्रक्रिया रोक्न निर्देशन दिइएको हो। आयोगले सम्बन्धित निकाय तथा पदाधिकारीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्नसमेत सचेत गराएको छ।
पत्रमा आयोगले निर्वाचनसम्बन्धी थप सूचना प्रकाशन नगर्न र यदि कुनै कार्यक्रम सार्वजनिक गरिएको भए त्यसलाई स्थगित गरी आयोगलाई जानकारी गराउन पनि निर्देशन दिएको छ। अन्यथा आचारसंहिता विपरीत कार्य गरेको ठहर भएमा कानुनी कारबाही हुनसक्ने चेतावनीसमेत दिइएको छ।
“उल्लिखित सन्दर्भमा आयोगको मिति २०८२/१०/०४ को निर्णयानुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०८२ लागु भइसकेको बेहोरा अवगत गराउँदै आजैका मितिदेखिका सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगन गरी सोको जानकारी यथाशीघ्र यस आयोगमा गराउन निर्णयानुसार अनुरोध छ। अन्यथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही गरिने बेहोरासमेत यसै पत्रबाट सूचित गरिन्छ‚” आयोगले जारी गरेको पत्रमा भनिएको छ।
आयोगले यसको बोधार्थ मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय ललितपुर तथा सम्बन्धित पदाधिकारीहरूलाई भने कार्यार्थ भनेर पठाइएको आयोगले जनाएको छ।
