काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व लिएर कुशासन हटाउने प्रतिज्ञा गरेका छन्।
जनकपुरको तिरुहुतिया गाछीमा आयोजित प्रतिज्ञासभामा उनले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको भन्दै काम गर्न आएको दाबी गरे।
उनले भने, “मधेसबाट कांग्रेसले देश बदल्ने साहस लिएको छ। आँट लिएको छ। अब मधेसले देशको संघीयतालाई कार्यान्वयन गराउन जरुरी छ।”

मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले अब परिवर्तन गर्न आवश्यक रहेको सभापति थापाको भनाइ छ। उनले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको पनि बताए।
उनले भने, “मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेसका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेसको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था जर्जर छ। यहाँ किसान, उखु किसानको अवस्था, पर्यावयरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ।”

मधेसले सिंगो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको पनि उनले बताए। उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था मिलाउने बताए।
उनले भने, “अब मधेस वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।” उनले मधेसको वित्तीय संरचना खल्बलिएकाले यहाँका सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेस आएको बताए। यहाँको वित्तीय संस्था खल्बलिएको छ। सहकारी ठगहरूको बिगबिगी बढेको छ। सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेस झरेको छ।”
उनले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकाले यहाँ क्रिकेट एकेडेमी बनाउने आश्वासन पनि दिए। उनले भने, “म यहाँका युवाहरूको क्रिकेटको सपना पूरा गर्न चाहन्छु।”

उनले आफू ‘मधेसको बेटा’ बन्न आएको भन्दै दुर्गानन्दको साहस, कुशेश्वरको रगतको सम्मान र महेन्द्र निधिको जीवनशैली रहेकाले यहाँ आफू मधेसमा आएको बताए।
कांग्रेस अब पखालिएर आएको भन्दै जनविश्वास लिन आएको पनि सभापति थापाले बताए। “अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएको र देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ। म सबै युवाको सपना पूरा गर्न र युवाहरूको साझा पार्टी बनाउन आएको हुँ।”

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
