काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। रसुवा जिल्लाबाट नेकपा एमालेका पूर्व जिल्लाअध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस सभापति गगनकुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता-कार्यकर्तामा जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको समूह रहेको कांग्रेसले जनाएको छ।

रसुवाबाट कांग्रेसमा प्रवेश गर्ने यस समूहमा एमालेका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कमिटी सदस्यहरू, युवा संघ र अनेरास्ववियुका जिल्ला तथा पालिकास्तरीय पदाधिकारीहरू, साथै खेलकुद महासंघका जिल्ला र केन्द्रीय पूर्वसदस्यहरू पनि छन्। उनीहरूमध्ये धेरैले लामो समय एमालेमा सक्रिय भएर नेतृत्व र प्रशासनको अनुभव हासिल गरेका थिए।

पूर्वमन्त्री रामवीर मानन्धरले पनि त्यागे एमाले
पूर्वमन्त्री रामवीर मानन्धर पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। उनले २०७४ सालमा निर्वाचित सांसदका रूपमा राजनीतिक अनुभव हासिल गरेका छन्। यसअघि स्थानीय तहमा वडाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए।

कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।

त्यस अवसरमा सभापति थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।