काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाको असन्तोष दमन गरेर नभई सम्बोधन गरेर मात्रै राष्ट्र अघि बढ्न सक्ने बताएकी छन्। ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनले भ्रष्टाचार, नातावाद र विभेद अन्त्य नगरेसम्म लोकतन्त्र सुदृढ नहुने स्पष्ट पारिन्।
भदौ २३–२४ को जेन्जी युवा आन्दोलनलाई उनले ‘असफल संरचनामाथिको प्रश्न’ भन्दै त्यसले उठाएका मागहरू जायज रहेको बताइन्। लोकतन्त्रलाई व्यवहारमा उतार्न, सुशासन र पारदर्शिता कायम गर्न तथा छिटो निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले युवालाई अपमान र तिरस्कार गरिरहे फेरि पनि विद्रोह हुने चेतावनी दिँदै असन्तोषलाई सुधारको अवसरका रूपमा लिन आग्रह गरिन्।