काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने’ पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति समर्थन जनाएको छ।

राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीका नाममा दिइएको सन्देशमा विचारको स्वागत र समर्थन गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको बैठकले राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब भएको निस्कर्ष निकालेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यकाबाहिर रहेकाले उनको निर्देशनमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक बसेको प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए। बैठकमा पूर्वअध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र कमल थापा एवं काठमाडौँमा उपलब्ध केन्द्रीय पदाधिकारीको उपस्थित थिए।

राप्रपाले ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो’ भन्ने राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो। आमजनताको चाहना नै त्यही रहेको विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

पार्टीले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्ने र नवीन समझदारी कायम गर्नेबारे पटकपटक आवाज उठाउँदै आएको स्मरण गरेको छ। यथासम्भव निर्वाचनपूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग राप्रपाले आग्रह गरेको छ।

“यथासम्भव निर्वाचनपूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग फेरि पनि हामी आग्रह गर्दछौँ। साथै, राजाको सन्देश तथा पार्टीको नीतिअनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा समेत नवीन समझदारीको निम्ति दबाब दिन तथा आमजनतालाई जागरुक तुल्याउन राप्रपा आह्वान गर्दछ‚” प्रवक्ता श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।