व्यक्तिवृत्त
सोमपाल कामी र करण केसी आफ्नो खेल जीवनको उत्तरार्द्धमा रहेको बेला नन्दन यादव नेपाली क्रिकेटको तीव्र बलिङको उदाउँदो आशा
सन् २०१४ मा बाङ्लादेशमा आयोजना भएको टी-२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङविरुद्ध ८० रनको जित निकाल्दै सुखद सुरुआत गर्यो। त्यो ऐतिहासिक क्षण प्रायः सबै नेपालीले टेलिभिजन स्क्रिनबाट हेरे। त्यो खेल ११ वर्षका नन्दन यादवले पनि घरको टेलिभिजनमै हेरेका थिए।
नन्दनका लागि त्यो विश्वकप खालि मनोरञ्जन थिएन, क्रिकेटप्रति ढुकढुकी बढाउने संयोग पनि थियो। राष्ट्रिय झन्डा बोकेर हाम्रा खेलाडी विश्वमञ्चमा गर्वका साथ उभिएको दृश्यले पहिले त उनको मुटु ढक्क फुल्यो, त्यसपछि उनले अठोट गरे– एकदिन म पनि नीलो जर्सी लगाएर मैदानमा उत्रिनेछु।
नेपालीमा एउटा भनाइ छ– १२ वर्षपछि समयले आफ्नो चक्र पूरा गर्छ! नन्दनको हकमा पनि यो भनाइ मेल खान्छ। नेपालले यसै साता विश्वकपको तेस्रो सहभागितालाई सार्थक तुल्याउँदा नन्दन पनि राष्ट्रिय टोलीको हिस्सा बने।
उनले टी-२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध ८ फेब्रुअरीमा मुम्बईको चर्चित वानखेडे रंगशालामा पहिलो खेल खेल्दै १२ वर्षअघिको संकल्प पूरा गरे। जारी विश्वकपमा इङ्ल्यान्ड चानचुने टोली होइन। दुई पल्ट टी-२० विश्वकप जितेको इङ्ल्यान्डले ‘सर्ट फर्म्याट’ को क्रिकेटमा आफ्नो श्रेष्ठता प्रमाणित गरिसकेको छ।

श्रीलंकामा अभ्यास खेलका क्रममा नन्दन। तस्बिर : क्यान
यस्तो टोलीसँग प्रतिस्पर्धा गर्नु हामीजस्तो एसोसिएट राष्ट्रका लागि चानचुने कुरा थिएन। तर, नन्दनले पहिलो खेलमा दबाब महसुस गर्नुको साटो उल्टै विश्व क्रिकेटका स्थापित नामहरूलाई दबाबमा राखे। जस बटलर र कप्तान ह्यारी ब्रुकजस्ता उम्दा ब्याटरलाई पभेलियनको बाटो देखाए। उनकै प्रभावशाली बलिङका कारण इङ्ल्यान्ड १८४ भन्दा माथिको योगफलमा बढ्न सकेन। खेलमा नेपाल जितको नजिक पुगेर पनि चार रनले पराजित भयो। यसपछि नन्दनले नेपाली समर्थकसँग माफी माग्दै भने, ‘जित्न पाएको भए अझ राम्रो हुन्थ्यो। पछुतो महसुस भइरहेको छ।’
उनको आत्मविश्वास तारिफयोग्य थियो। उनले विश्वकपका चार खेलमा ११ रनको औसतले पाँच विकेट लिँदै प्रभावशाली बलिङ गरे। उनको यस प्रदर्शनले देशले राम्रो बलर पाएको चर्चा चुलिएको छ।
सोमपालले देखाएको सपना
सन् २०१४ मा नेपालले विश्वकपमा ऐतिहासिक डेब्यु गर्दा देशभरि क्रिकेटप्रतिको उत्साह चरममा थियो। त्यही माहोलले धेरै बालबालिकाको मस्तिष्कमा क्रिकेटप्रति गहिरो छाप छोड्यो। त्यसमा नन्दन अछुतो रहेनन्।
उनलाई त्यतिबेला सोमपाल कामीको बलिङले सबैभन्दा बढी प्रभाव पारेको थियो। रोचक कुरा, यसपालिको विश्वकपमा उनी आफ्नै ‘आइडल’ सोमपालसँग मैदानमा बल साझा गरिरहेको भेटिए। एक दशकअघि विश्वकपमा सोमपालको अनुशासित रन-अप र सटीक लाइन-लेन्थ हेरेर हुर्किएका उनी वानखेडेमा सोमपालसँगै बलिङ गर्ने अवसर पाएपछि भन्दै थिए, “दाइको त्यो प्रदर्शन देखेपछि मलाई मिडियम पेसर बन्न मन लागेको थियो।”
सन् २०१५ मा नन्दन अध्ययनका लागि काठमाडौँ प्रवेश गरेका थिए। त्यतिबेला साथी दिलीप यादवको एउटा फोन कलले आफ्नो जीवनको दिशा बदलिएको उनी बताउँछन्। दिलीप नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)मा प्रशिक्षण गर्थे। यो कुरा थाहा पाएपछि नन्दनले आफूलाई रोक्न सकेनन् र तुरुन्त उक्त एकेडेमीमा भर्ना भए।
मल्लले सञ्चालन गरेको एकेडेमीमा दिलीप मात्र होइन, नन्दनजस्तै विश्वकप हेरेर राष्ट्रिय खेलाडी बन्ने सपना बुनेका धेरै खेलाडी प्रशिक्षण गर्थे, जहाँ सुमित महर्जनको पनि उपस्थिति थियो। सुमितले पहिले नै उमेर समूहको खेलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका थिए। उनी प्रशिक्षणमा आउँदा नेपालको झन्डा अंकित टिसर्ट र किटब्याग बोक्थे। उनलाई देखेर नन्दनलाई निकै डाहा लाग्थ्यो। मनमनै सोच्थे– ‘एक दिन म पनि यस्तै टिसर्ट लगाएर आउनेछु।’
उनका लागि १३ वर्षको उमेरमा ज्ञानेन्द्र मल्लजस्ता खारिएका खेलाडीसँग एउटै टोलीमा रहेर खेल्न पाउनु चानचुने कुरा थिएन।
नभन्दै उनको मनोकामना सन् २०१६ मा पूरा भयो। त्यतिबेला नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)को प्रतिबन्ध झेलिरहे पनि निजी क्षेत्रबाट फ्रेन्चाइज क्रिकेटको सुरुआत भयो। सोही क्रममा घोषणा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)ले उनको करिअरमा ठूलो मोड ल्यायो। उनी कलर्स एक्स-फ्याक्टरमा आबद्ध भए, जुन टोलीको ‘मार्की’ खेलाडी स्वयं ज्ञानेन्द्र थिए।
उनका लागि १३ वर्षको उमेरमा ज्ञानेन्द्र मल्लजस्ता खारिएका खेलाडीसँग एउटै टोलीमा रहेर खेल्न पाउनु चानचुने कुरा थिएन। यद्यपि, उनी प्रतियोगितामा विकेटविहीन रहे। तर, सोही वर्ष श्रीलंकामा आयोजना भएको यु-१९ एसिया कपमा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेजस्ता प्रतिभाशाली खेलाडीसँगै टोलीमा समावेश हुने सौभाग्य प्राप्त गरे।
यस प्रतियोगितामा पनि उनी विकेटविहीन रहे। मलेसियाविरुद्ध सेमिफाइनलको अन्तिम खेलमा उनलाई अन्तिम-११ बाट ‘ड्रप’ गर्नुपरेको थियो।
ईपीएलले खोलेको ढोका
सन् २०२१ मा पुनः ईपीएल आयोजना भयो। त्यतिबेला उनी विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोज्मा आबद्ध भए। प्रतियोगितामा उनले सात इनिङ्समा नौ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा आफूलाई चौथो स्थानमा उभ्याए।
सोही वर्ष काठमाडौँ मेयर्स कपको पनि आयोजना भयो, जसमा उनी बागमती प्रदेशबाट सहभागी भए। प्रतियोगिताका चार खेलमा आठ विकेट र १०९ रन बनाएपछि उनका लागि राष्ट्रिय टोलीमा अवसरको ढोका खुल्यो।
नामिबियामा आयोजना भएको लिग-२ खेल्न जाने राष्ट्रिय टोलीमा स्थान बनाएको खबर नै उनका लागि अप्रत्याशित थियो। “मैले अपेक्षा पनि गरेको थिइनँ। एक्कासि टोलीमा परेको खबर सुन्दा शरीर सन्न भएजस्तो लाग्यो,” उनले अन्तर्वार्तामा भनेका छन्।

२५ माघमा डेब्यु विश्वकप खेल्दै नन्दन। तस्बिर : क्यान
क्रिकेटको तालिम लिएको ६ वर्षपछि उनले राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका थिए। तर, टोलीमा अरू खेलाडी हाबी हुँदा नामिबियामा डेब्यु गर्नै पाएनन्। यसपछि उनी अस्ट्रेलिया हानिए।
नेपाली क्रिकेट खेलाडीका लागि यो दुर्भाग्य नै हो, राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेका खेलाडीले वर्षमा एउटा मात्र प्रतियोगिता खेल्न पाउँछन्। यस्तो संरचनाले गर्दा न्यून तथा मध्यम पारिवारिक आय भएका खेलाडी ठूलो मर्कामा पर्ने गरेका छन्।
विगत स्मरण गर्दै उनी भन्छन्, “बुबाआमालाई छोराले केही गर्छ भन्ने आशा थियो। तर, नेपालमै बसेर आफूलाई अघि बढाउन नसक्ने अवस्थामा पुगेपछि मेरो अगाडि विदेश जानुबाहेक अर्को विकल्प भएन।”
त्यतिबेला क्रिकेटको उचाइमा थिए, नन्दन। नेपाल टी-२० लिग विराटनगर किंग्सबाट खेल्दै उनले १३ खेलमा १६ विकेट लिइसकेका थिए। तर, उनको मनमा क्रिकेटलाई निरन्तरता दिने कि अस्ट्रेलिया जाने द्विविधा चलिरहेको थियो। अन्ततः अस्ट्रेलिया उडे।
यसैबीच नेपालले लिग-२ मा १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता जोगायो र सन् २०२४ को विश्वकपमा पुनः फर्किने मौका पायो। लामो प्रतीक्षापछि प्राप्त उपलब्धिले नेपाली क्रिकेटको यात्रालाई नयाँ अध्यायतर्फ डोर्यायो।
अस्ट्रेलियामा उनको बसोबासलगायत प्रारम्भिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पूर्वओपनर सुवास खकुरेलले लिएका थिए। त्यसैले उनलाई कामसँगै प्रशिक्षण गर्ने अवसर जुरिरह्यो। अस्ट्रेलियाका पूर्वतीव्र बलर जेसन जिलेस्पीको नाममा खुलेको क्रिकेट एकेडेमीमा उनी साताको दुई दिन आफ्नो बलिङको धारलाई तिखो पार्थे। यसले उनमा नयाँ ऊर्जा भरेको थियो।
यसैबीच, नेपालले लिग-२ का १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता जोगायो र सन् २०२४ को विश्वकपमा पुनः फर्किने मौका पायो। लामो प्रतीक्षापछि प्राप्त उपलब्धिले नेपाली क्रिकेटको यात्रालाई नयाँ अध्यायतर्फ डोर्यायो। यी उपलब्धिको साक्षी बन्न नपाउँदा अस्ट्रेलियामा रहेका नन्दनको मन भने खिन्न भइरहन्थ्यो। पारिवारिक कारणले राष्ट्रिय टोलीबाट खेल्ने सपनालाई तिलाञ्जली दिए पनि उनको मनले यो स्वीकार गर्न मानिरहेको थिएन।
बोर्डिङ पास फ्याँकेर नेपाल बसेका नन्दन
सन् २०२४ मा क्यान आफैँले पहिलोपल्ट फ्रेन्चाइज लिग आयोजना गर्ने घोषणा गर्यो। त्यतिबेला उनले पनि अस्ट्रेलियाबाट आफ्नो नाम दर्ता गराए। भाग्यवश, उनलाई ज्ञानेन्द्र मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले ११ लाख रुपैयाँमा भित्र्यायो। पहिलो संस्करणमा कर्णालीलाई क्वालिफायर-२ सम्म पुर्याउन नन्दनले नौ विकेट लिएका थिए। यो प्रदर्शनपछि नन्दनको जीवनले नयाँ मोड लियो।
एनपीएल खेल्न आउँदा उनले अस्ट्रेलियाको रिटर्न टिकट सँगै ल्याएका थिए। तर, कीर्तिपुरको घरेलु त्रिवि मैदानमा पुनः उत्रिएपछि उनको मन डगमगायो। ४ माघ २०८१ मा अस्ट्रेलिया फर्किने उडानतालिका तय थियो। यसका लागि उनी त्रिभुवन विमानस्थल पनि पुगिसकेका थिए। विमान उड्नुअघि उनले सिरहामा रहेकी आमा समीरालाई फोन गरेर आशीर्वादसमेत लिइसकेका थिए। तर, अन्तिम क्षणमा उनको मन बदलियो। उनले काउन्टरमा गएर आफ्नो टिकट रद्द मात्र गरेनन्, अस्ट्रेलियाको सुनिश्चित भविष्यलाई पनि विराम लगाए।

५ फागुनमा स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नन्दन। तस्बिर : क्यान
“विमानस्थलबाट फर्कंदै गर्दा नेपालमै केही गर्छु भन्ने अठोट लिएको थिएँ,” उनी भन्छन्। उनले त्यतिबेला गरेको प्रतिज्ञा विश्वकपमा पूरा गरेका छन्। यतिबेला उनको बलिङको चौतर्फी प्रशंसा भइरहेको छ।
विमानस्थलबाट फर्किएको दुई महिनापछि उनले राष्ट्रिय टोलीबाट टी-२० मा डेब्यु गर्ने अवसर पाए। हङकङमा आयोजना भएको शृंखलामा उनले ६ विकेट लिनुका साथै ३७ रन पनि बनाए।
टी-२० विश्वकप टोलीमा समावेश हुनुअघि उनले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा पनि एकदिवसीय खेले। उनलाई तीन खेलसम्म बेन्चमा थन्क्याइएको थियो। तर, अन्तिम खेलअघि तीव्रगतिका बलर सोमपाल घाइते भएपछि उनले अवसर पाए। नेदरल्यान्ड्सविरुद्ध उनले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने ४२औँ खेलाडी हुन्। डेब्यु खेलमै उनले उत्कृष्ट बलिङ गर्दै तीन विकेट झारे। नेपालले यो खेल १६ रनले जितेको थियो। त्यसयता उनी राष्ट्रिय टोलीका नियमित खेलाडी हुन्। दोस्रो एनपीएलमा उनले कर्णाली याक्सबाट खेल्दै पुनः १० विकेट लिएका थिए।
बलिङमा देखिएको अनुशासन, नयाँ र पुरानो दुवै बलसँग लय समात्ने क्षमता तथा दबाबको अवस्थामा पनि लाइन-लेन्थ कायम राख्ने गुणले उनलाई राष्ट्रिय टोलीमा विशेष बनाएको छ। विशेषगरी पावरप्ले र डेथ ओभरमा नियन्त्रण कायम राख्न सक्ने क्षमताका कारण उनी प्रशिक्षक स्टुअर्ट लको पनि रोजाइमा परेका छन्।
नेपाली क्रिकेटका अनुभवी बलर सोमपाल र करण दुवै करिअरको उत्तरार्द्धमा रहेको बेला नन्दनको आगमनले नेपाली क्रिकेटलाई पुनः खुसी बनाएको छ।
विश्वकपमा राम्रो प्रदर्शनका लागि शुभकामना छ, नन्दन यादवलाई।