काठमाडौँ
००:००:००
८ फाल्गुन २०८२, शुक्रबार

८ फाल्गुन २०८२
अ+
अ-

कृष्ण दवाडी/रासस

कास्की। आहा रारा पोखरा गोल्डकप मोफसलकै पुरानो फुटबल प्रतियोगिता हो । माओवादी जनयुद्ध, भूकम्प र नाकाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि यो प्रतियोगिता कुनै वर्ष पनि रोकिएन । हाल २५औँ संस्करणसम्म आइपुगेको प्रतियोगिताको उपाधि भिडन्त शनिबार पोखरा रङ्गशालामा हुँदैछ ।

उपाधिका लागि जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब पोखरा मैदानमा उत्रिदैछन् । विगतमा जस्तो यसपटकको फाइनलमा चिरपरिचित मनाङ मस्र्याङदी, पुलिस क्लबजस्ता धेरैपटक उपाधि जितेका टोली छैनन् ।

जावलाखेल आहा राराको पहिलो उपाधि खोजीमा रहँदा घरेलु टोली सहारालाई १२ वर्षपछि उपाधि घरमै राख्ने मौका जुरेको छ । नेपाली उखान नै छ ‘१२ वर्षमा खोलो फर्किन्छ’ । सहारा भोलि त्यही उपाधि जितेको खोलो फर्काउने लक्ष्यमा हुनेछ । सहाराले योसँगै चारपटक फाइनल खेल्दा २०७० सालमा मात्र उपाधि जितेको छ । विसं २०६९ मा थ्रीस्टार र विसं २०७२ मा मनाङसँग फाइनलमा सहारा पराजित भएको थियो ।

जावलाखेल भने आहा रारामा दोस्रोपटक फाइनलमा पुगेको टोली हो । विसं २०६८ मा फाइनल पुगेको यो टोली उपाधि भिडन्तमा मनाङसँग पराजित भएको थियो । त्यसता अधिकांश संस्करणमा सहभागी हुँदै आएको जावलाखेलले फाइनल खेल्न पाएको छैन । उपाधि जितेर पोखरामा नयाँ इतिहास कामय गर्ने लक्ष्यमा जावलाखेल छ ।

जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाइज युनाइटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।

सहाराले भने प्रिक्वाटरफाइनलमा गोरखा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई सडन डेथमा ६–५ र सेमिफाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई सडन डेथमै ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

जावलाखेलमा प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पोखराको मैदानमा उपाधि जितेर इतिहास बनाउने योजना सुनाए । “हामीले पोखरामा उपाधि जित्न सकेका छैनौँ, राम्रो फुटबल खेलेर भोलि त्यो उपाधि सपना साकार पार्नेछौँ”, श्रेष्ठले भने। आक्रामक फुटबल खेल्ने र सुरुआतमा गोल गर्ने जावलाखेलको रणनीति हुनेछ । सेमिफाइनलमा उज्वेकिस्तानको आभा एएफसीलाई पराजित गरेकाले जावलोलका खेलाडी उच्च मनोबलसहित फाइनल खेलमा मैदान उत्रिने कप्तान युनेश चौधरीले भने ।

सहाराका प्रशिक्षक सुनिल रानाले घरेलु मैदान र दर्शकको साथ रहने भएकाले उपाधि उचालेर इतिहास दोहोर्याउने लक्ष्य सुनाए । उनले भने, “घरेलु समर्थकलाई खुसी दिनेछौँ । बाह्र वर्षपछि उपाधि घरमै राख्ने योजना छ, राम्रो फुटबल खेल्नेछौँ”, रानाले भने ।

सहाराका कप्तान सुशील लामाले टोली उच्च मनोबल र फर्ममा रहेकाले उपाधि जित्ने दाबी गरे । “टिम उच्च मनोबल र लयमा छ । हामी फाइनल जित्नेछौँ”, लामाले भने । सहारा एकेडेमीका उत्पादनसमेत रहेका लामालाई यसपटक कप्तानका रूपमा उपाधि चुम्नेमा आशावादी छन् ।

गत माघ २७ गतेदेखि सुरु भएको २५औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।