चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्याएको बताएका छन्।
जेन-जी आन्दोलनमा ठुला दलका नेता भाग्नुपरेको इंगित गर्दै उनले भने‚ “देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्याउने काम गर्यौँ।” चितवनमा शनिबार आयोजित चुनावी कार्यक्रममा उनले पछिल्लो तीन वर्षमा रास्वपाले ठुलो सफलता पाएको उल्लेख गरे। “तीन वर्ष मिहिनेत गरेर हामीले आफ्नो भाग्य, भविष्य लेख्न सक्ने ठाउँ ल्याउन सानो सफलता, सानो खुट्किलो होइन‚” उनको भनाइ छ।
रास्वपाको उदयले चितवनलाई संसारले चिन्ने अवस्था आएको पनि उनले दाबी गरे। “पछिल्लो परिवर्तनको जन्मभूमिका रूपमा चितवनलाई विश्वले हेरेको छ। चितवन देवभूमि थियो, तपोभूमि थियो अब नेपाली राजनीतिको शान्त विद्रोह गर्ने उर्वर भूमि रुपमा पनि चिनिनेछ‚” लामिछानेले भने।
यो अवधिमा आफूले दुःख पाएको सभापति लामिछानेको भनाइ छ। भ्रष्टाचारको पैसामा भाग नखोजेकाले सरकार ढालेको र आफूलाई दुःख दिएको उनको आरोप थियो।