दृष्टिकोण
रास्वपाले आसन्न चुनावका लागि अघि सारेका दलित उम्मेदवारहरू हेर्दा दलित समुदायले आशा गर्न सक्ने खासै कोही देखिँदैन।
नेपालमा छँदा मेरो छोरोले यहाँको राजनीतिमा खासै चासो राख्दैनथ्यो। अमेरिका पुगेपछि सोधखोज गर्न थालेको छ। अचेल कुराकानी हुँदा आसन्न प्रतिनिधिसभा निर्वाचनको माहोल र कुन पार्टीले जित्ने सम्भावना छ भनेर सोध्छ। मैले आफ्ना केही धारणा राखिसकेपछि भन्छ- ‘यसपालि घण्टीमा भोट हाल्नुपर्छ।’
२०७९ सालको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनमतको पहिलो परीक्षामा थियो। पहिलो पटक चुनावमा सहभागी हुँदा पनि प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ सिट जितेर संसद्को चौथो दल बनेको थियो। यसपालि त रास्वपाको पक्षमा लहर नै चलेको देखिन्छ। खासगरी उच्च र मध्यमवर्गीय नेपालीका छोराछोरीहरू जो युरोप, अमेरिका र अस्ट्रेलियामा छन्, उनीहरूको झुकाव रास्वपाप्रति देखिन्छ।
यस्तो अवस्थामा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ अघि सारेका दलित उम्मेदवारका बारेमा विश्लेषण गर्नु यस आलेखको उद्देश्य हो।
रास्वपाले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ दलित क्लस्टरमा १४ जना गरी दलित समुदायका १६ जनालाई उम्मेदवार बनाएको छ।
सुरुमा प्रत्यक्षतर्फ इलाम क्षेत्र नम्बर १ का उम्मेदवार विमल गदाल र बाँके ३ मा उठेका खगेन्द्र सुनारबारे चर्चा गरौँ।
खगेन्द्र दलित अभियन्ता हुन्। १० जेठ २०७७ मा रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जना युवाको हत्या भएको घटनामा न्याय माग्दै दलित आन्दोलनको एउटा नायकका रूपमा उनले आफूलाई स्थापित गरे।
विमलले नेपालमा रहेका केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लामो समय काम गरे। विकास व्यवस्थापक हुँदै आफूलाई पछि विपद् व्यवस्थापनविद्का रूपमा विकास गरे। उनले अमेरिकामा उच्च शिक्षा अध्ययन गरेका छन्। उनी गायक पनि हुन्। उनले गाएको गीतले उनमा विभेदप्रति चेत रहेको देखाउँछ, तर उनी सधैँ दलित भनेर हुँदैन, र दलित भन्ने शब्द संविधानबाटै हटाएर सीमान्तीकृत शब्दले जनाउनुपर्छ भन्ने धारणा राख्छन्। पछिल्लो समय उनले दलित समुदायबाट आफूलाई एकदमै अलग राखेको हुँदा सांसद भएमा दलित सवालमा केही गर्लान् भनेर आशा गर्ने ठाउँ कम छ।
खगेन्द्र दलित अभियन्ता हुन्। १० जेठ २०७७ मा रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जना युवाको हत्या भएको घटनामा न्याय माग्दै दलित आन्दोलनको एउटा नायकका रूपमा उनले आफूलाई स्थापित गरे। दलितका लागि दलित अभियानका संयोजकका रूपमा उनले ‘दलितलाई खोइ’ अभियानमार्फत समावेशिता र सहभागिताका लागि प्रश्न गर्दै आएका थिए। बाँके ३ बाट पहिले पनि दलित समुदायका व्यक्ति प्रत्यक्ष निर्वाचित भएको इतिहास छ। यसैले यसपालि रास्वपाको लहर चलेको समयमा उनले जित्न पनि सक्छन्। रास्वपा प्रवेश गर्नुपहिले ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता गरेका थिए, र दलितहरूको छुट्टै राजनीतिक शक्ति हुनुपर्छ भन्ने सोच राख्नेहरूलाई एउटा मञ्च उपलब्ध गराएका थिए। तर, पार्टीमा लागेका धेरै साथीहरूलाई अलपत्र छाडेर उनी रास्वपामा प्रवेश गरी केन्द्रीय सदस्यमा चित्त बुझाए।

बाँके ३ मा मत माग्दै रास्वपाका उम्मेदवार खगेन्द्र सुनार। तस्बिर : सुनारको फेसबुक पेज
उनले आफ्नो चुनावी अभियानमा दलितका मुद्दालाई चटक्कै छोडेको देखिन्छ। दलित भएकै आधारमा कुनै कोटा वा आरक्षण नचाहिने अभिव्यक्ति दिन थालेका छन्। दलितहरूले आजसम्म हरेक राजनीतिक आन्दोलनमा गरेको योगदान र सहादत होस्, ती सबै देशकै लागि थिए। तर, हाम्रो असन्तुष्टि भनेको योगदान र बलिदान चाहिने बेला दलित चाहिने, राज्यसत्ताबाट स्रोतसाधन विनियोजन गर्ने बेला भने पाखा लगाइने र अझ अवहेलित नै गर्ने गरिएकाले दलितको राजनीतिक हैसियत निर्माण गर्नुपर्ने सोच आएको हो। तर, यस मामिलामा खगेन्द्रले दलित आन्दोलनलाई धोका दिएको देखिन्छ। यस्तोमा उनी निर्वाचित भइहाले पनि उनीबाट धेरै अपेक्षा गर्ने ठाउँ देखिँदैन।
अब समानुपातिकतर्फका केही उम्मेदवारबारे चर्चा गरौँ।
रास्वपाको दलित क्लस्टरमा पुरुषतर्फको सूचीमा पहिलो नम्बरमा छन्, प्रकाशचन्द्र परियार। पत्रकारको पृष्ठभूमिबाट विवेकशील साझा पार्टी हुँदै पछिल्लो समय उनी रास्वपामा आबद्ध छन्। उनी पत्रकार हुँदा दलितका मुद्दामा केही लेख्ने र बोल्ने गरेकै हुन्। तर, कान्तिपुर टेलिभिजनको पत्रकार हुँदा पेसागत बाध्यताले होला, दलित सवालमा खासै चर्चा गर्दैनथे। विवेकशील साझा पार्टीमार्फत राजनीतिमा प्रवेश गरेपछि त उनले दलित सवाललाई चटक्कै बिर्सेजस्तो देखिन्थ्यो। समानुपातिक सूचीको पहिलो नम्बरमा भएकाले उनी सांसद बन्ने लगभग पक्काजस्तो छ। तर, सांसद भएपछि उनले कस्तो भूमिका निर्वाह गर्लान्, त्यो भविष्यले नै बताउनेछ।
रास्वपाको दलित सूचीको अर्को चर्चित नाम हो– कलाकार तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा। कलाकारका हजारौँ र लाखौँ प्रशंसक हुने भएकाले उनीहरूले बोलेका कुराले समाजमा ठूलो अर्थ राख्छ।
दलित क्लस्टर (पुरुष)को दोस्रो नम्बरमा भएका प्रकाश विक (सपुत) राम्रा कलाकार र सर्जक हुन्। उनले दलित तथा महिलाहरूले भोगेका विभेदको विषयमा थुप्रै गीत र भिडिओ तयार पारेका छन्। युट्युबमा तिनले करोडौँ भ्युज पनि पाएका छन्। उनले दिएका सार्वजनिक अभिव्यक्तिहरूमा विभेदप्रति उनको बुझाइ र भोगाइ दुवै गहिरो देखिन्छ। तर, उनलाई विभेदको व्यापारीकरण गरेको भन्ने आरोप लाग्ने गरेको छ। व्यापार गर्नु र पैसा कमाउनु आफैँमा अपराध होइन, तर उनले आफ्नो समुदायको कुनै कार्यक्रममा प्रस्तुति दिनुपर्दा पनि राम्रो रकम असुल गरेको र टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ (सिजन दुई)को प्रस्तोता हुँदा उनले एनजीओ, आईएनजीओ भन्ने संस्थाहरूलाई लुट्नैपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिएको सुनियो। खासगरी, उनले सोती घटनामा मारिएका नवराज विक र उनको परिवारले न्याय प्राप्तिमा भोगेका पीडालाई सार्वजनिक खपतका लागि प्रस्तुत गरे, तर सो परिवारलाई सिंगो दलित आन्दोलनले दिएको साथसहयोग र न्याय प्राप्तिमा खेलेको भूमिकालाई कतै उल्लेख गरेनन्। रास्वपाले दलित कोटाबाट चार वटा सिट पायो भने प्रकाश पनि सांसद बन्ने पक्का छ। तर, संसदीय भूमिका निर्वाह गर्दा त्यहाँ पनि ‘व्यापारी’ नै भए भने आश्चर्य नमाने हुन्छ।
रास्वपाको दलित सूचीको अर्को चर्चित नाम हो– कलाकार तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा। कलाकारका हजारौँ र लाखौँ प्रशंसक हुने भएकाले उनीहरूले बोलेका कुराले समाजमा ठूलो अर्थ राख्छ। कलाकारिताबाट यसै वर्ष उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा होमिएकी रिमाले सार्वजनिक रूपमा दिएका अभिव्यक्ति सुन्दा उनी कलाकार मात्र नभएर एउटी परिपक्व बौद्धिक पनि भएको छनक मिल्छ। दलित महिलाको सूचीमा उनको नाम पहिलो नम्बरमा भएको हुँदा समानुपातिकमा दुई जना दलित पर्दा पनि उनी सांसद बन्ने पक्काजस्तै देखिन्छ। उनलाई हेरेर दलित समुदायले गर्व महसुस गरे पनि उनले सार्वजनिक रूपमा आजसम्म दलितका सवाल र अधिकारबारे बोलेको सुनिएको छैन। त्यसैले संसद्मा पुगिन् भने पनि दलितका आवाज उनीमार्फत गुन्जिएला भनेर आशा गर्ने ठाउँ थोरै छ।

रास्वपाको चुनाव प्रचारका क्रममा रिमा विश्वकर्मा। तस्बिर : विश्वकर्माको फेसबुक पेज
रास्वपाले दलित क्लस्टरमा समेटेको अर्को सेलिब्रेटी नाम हो– तनहुँका डा. रूपक घिमिरे। उनी छाला तथा सौन्दर्य विशेषज्ञ भएको र एउटा क्लिनिक चलाइरहेको भन्ने बुझिन्छ। तर, उनीजस्ता मान्छेलाई दलितको कोटामा राखेर भजाउन खोजेको भान हुन्छ।
२०७९ सालको चुनावमा रास्वपाले दलितको कोटाबाट सन्तोष परियार र शिव नेपालीलाई संसद्मा पुर्याएको थियो। सन्तोषले आफूलाई संसदीय भूमिकामा अब्बल रूपमा प्रस्तुत गरे पनि दलित सवालमा खासै भूमिका खेलेको देखिएन। यस पंक्तिकारले प्राइम टीभीमा सञ्चालन गरेको संवाद कार्यक्रममा उनी पनि अतिथि थिए। दलित सवालमा रास्वपाको नीति र कार्यक्रम के छ भन्ने प्रश्न गर्दा उनले उत्तर दिन सकेनन्। शिवले त न एउटा सांसदका रूपमा न दलित सवालमा कुनै भूमिका खेलेको देखियो।
रास्वपाले विगतमा दलित सवालमा खेलेको भूमिका र आसन्न निर्वाचनका लागि उसले अघि सारेका दलित उम्मेदवारहरू हेर्दा दलित समुदायले आशा गर्न सक्ने खासै कोही देखिँदैनन्। तर, चुनावी नतिजामा रास्वपा प्रमुख तीन वटा पार्टीभित्र पर्यो भने समानुपातिकबाट कम्तीमा चार जना दलित संसद् पुग्ने सम्भावना देखिन्छ। यसपटक रास्वपाको पक्षमा लहर देखिएकाले प्रत्यक्षतर्फ पनि दुई जना दलितले जित्लान् भन्ने अपेक्षा गरौँ।