काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

११ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। ​अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक बसेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्ने बताए। यसअघिको बैठकमा गरिएका निर्णय सक्रिय रूपमा कार्यान्वयन भइरहेको चर्चा गर्दै राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयास अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा उनले जोड दिए।

​कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। उनले राजस्व चुहावट नियन्त्रणमा प्रहरीले आफ्नो संस्थागत क्षमताअनुरूप सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि बताए। प्रविधि, जनशक्ति, कानुनी सुदृढीकरण र अन्तर निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भए राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उनले उल्लेख गरे।

​प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकासम्बन्धी प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावटसम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए।

बैठकमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं जिल्ला प्रहरी कार्यालय मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासबारे भर्चुअल छलफल तथा अन्तर्क्रियासमेत गरिएको थियो। बैठकमा सीमानाकामा जडान भएका सीसीटीभीबाट त्यहाँको वस्तुस्थितिबारे जानकारी लिइएको थियो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृहसचिव, अर्थ मन्त्रालयका सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, प्रहरी नायब महानिरीक्षकहरूलगायतको उपस्थिति थियो।