काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

१३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले गृह मन्त्रालयलाई सात बुँदे सुझावसहित पत्राचार गरेको छ।

आयोगका अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट सुरक्षा योजनाको पुनरावलोकन, वर्तमान सुरक्षा अवस्थाको विश्लेषण तथा आवश्यक मार्गदर्शन र सिफारिसका आधारमा मन्त्रालयमार्फत आवश्यक व्यवस्थापन गर्न आग्रह गरिएको हो।

पत्रमा निर्वाचन प्रचारप्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि लागू हुने भएकाले सो अवधिमा लागू हुने आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी जिल्ला आचारसंहिता अनुगमन समितिहरूलाई सक्रिय बनाउँदै तोकिएका संयन्त्र र जनशक्ति परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ का सम्बन्धित प्रावधानले निषेध गरेका गतिविधि हुन नदिनुपर्ने आयोगले जनाएको छ। यदि त्यस्ता कार्य भएको पाइएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन पनि मन्त्रालयलाई अनुरोध गरिएको छ।

आयोगले मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम मत परिणाम सार्वजनिक नभएसम्म मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा नियन्त्रण गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयलाई लेखी पठाएको जानकारी दिएको छ।