काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

१४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले चुनाव अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म मदिराजन्य पदार्थमा रोक लगाउने व्यवस्था गरेको हो।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ अनुसार गठित समितिले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन यस्तो निर्णय गरेको जनाएको छ। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ।

यसैबीच, मतदानको दिन सवारी सञ्चालनमा पनि विशेष व्यवस्था लागू हुने भएको छ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन।

पास प्राप्त गरेका सवारीसाधन, कूटनीतिक नियोगका गाडी तथा अत्यावश्यक सेवामा प्रयोग हुने साधनहरू मात्र सञ्चालनमा रहनेछन्। अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका गाडी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन समावेश छन्।

सम्बन्धित निकायले नियम उल्लंघन नगर्न सबैलाई अनुरोध गरेको छ।