काठमाडौँ। निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
काठमाडौँमा बिहीबार कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिसँग छलफल गर्दै आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।
आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनको व्यवस्थासम्बन्धी कार्य पूरा भएको र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए। उनले निष्पक्ष निर्वाचन गराउन जिल्लाजिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन र मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी गराए। निर्वाचनको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीको व्यवस्था गरेको र कुनै चुनौती नदेखिएको उनको भनाइ छ।
राउतले पारदर्शी निर्वाचन खर्च सुनिश्चित गर्न र वित्तीय अनुशासन कायम राख्न राजनीतिक दलहरू र उम्मेदवारका लागि छुट्टै निर्वाचन खाता खोल्ने अनिवार्य प्रावधान गरेको पनि जानकारी गराए।
उनले निर्वाचन सफलतापूर्वक र समयमै सम्पन्न गर्न छिमेकी र मित्र राष्ट्रहरूबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको र निर्वाचन तयारी अन्तिम चरणमा पुगेको बताएका थिए। छलफलका क्रममा कूटनीतिक नियोगका प्रतिनिधिहरुले निर्वाचन केन्द्रीत जिज्ञासा राखेका थिए।