अनुभूति
२००२ सालमा भारतमा चुनाव हुँदा नेपालमा राणाहरू निकै सतर्क भएका थिए, उताको चुनावी भेल यता आउला भनेर।
भारतमा अंग्रेजको शासनकालमा लखनउको चमकधमक र वैभव भव्य थियो। मुगल बादशाहहरूले शासन गरेका कारण खानपिन, भाषा, सत्कार आदिमा अगाडि थियो। फेरि यो भारतको सबैभन्दा ठूलो उत्तर प्रदेशको राजधानी भएका कारण पनि विशेष थियो।
त्यतिबेला लखनउलाई ‘बगैँचाहरूको सहर’ भन्थे। सहरभरि बगैँचैबगैँचा। आजभोलि त्यस्तो छैन, जताततै सडकैसडक छन्। भारत स्वतन्त्र भएपछि लखनउले त्यो पहिचान गुमाएको देखिन्छ।
सन् १९४७ मा बेलायतीहरूले भारत छोड्नुअघि म लखनउ विश्वविद्यालयमा अध्ययनरत थिएँ। बनारस विश्वविद्यालय (बीएचयू)बाट आईएस्सी उत्तीर्ण गरेपछि कमर्स पढ्न सन् १९४५ अघि नै लखनउ पुगेको थिएँ। त्यतिबेला भारतमा ठूलो राजनीतिक उथलपुथल चलिरहेको थियो।
दोस्रो विश्वयुद्धमा भारतका आन्दोलनकारी नेताहरू, विशेषत: सुवासचन्द्र बोसलाई छोडेर, सबै आफैँलाई दमन गर्ने बेलायती शासकको पक्षमा उभिएका थिए। त्यसैले विश्वयुद्ध समाप्त भएपछि बेलायतीहरूले भारत छोडेर जाने अनुमान लगाइएको थियो।
पढेलेखेका नेताहरूलाई नेपालको विषयमा राम्रो जानकारी थियो। हामीलाई प्रभावित पार्न उनीहरू नेपालको विषयमा कुरा गरिरहेका हुन्थे।
नभन्दै २ सेप्टेम्बर १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो, र १९ सेप्टेम्बरमा भाइसरोय लर्ड वेभेलले ब्रिटिस सरकारको मातहतमा चुनाव हुने घोषणा गरे। डिसेम्बर १९४५ बाट सुरु भएर जनवरी १९४६ मा सम्पन्न त्यस चुनावमा म पर्यवेक्षकका रूपमा खटिएको थिएँ। मसँगै लखनउ विश्वविद्यालयमा अध्ययनरत कुलशेखर शर्मा, नयनबहादुर खत्री, पुरनबहादुर विष्टलगायत पनि चुनावमा खटिएका थिए। नयनबहादुरलगायत थुप्रै व्यक्ति म लखनउमा पढ्ने थाहा पाएपछि नेपालबाट त्यहाँ पढ्न आएका थिए। नयनबहादुर त पछि प्रधानन्यायाधीश नै बन्नुभयो।
उतिबेला भारतमा लखनउ विश्वविद्यालयको ठूलो ठाँट थियो। बनारसमा पढ्नेहरू धोती-कुर्ता लगाएर पढ्थे भने लखनउमा पढ्नेहरू टाइसुट र कोर्ट लगाएर बेलायती ठाँटमा हुन्थे। लखनउ विश्वविद्यालयको अर्को पनि विशेषता थियो। त्यहाँ दुई वटा विषयमा एमए गर्न पाइन्थ्यो। आर्टस्, कमर्स वा साइन्स कुनै एउटा विषयमा पढिरहेको अवस्थामा कानुन पनि पढ्न पाइन्थ्यो।
चुनावअघि नै हामीलाई लखनउमा पर्यवेक्षणको तालिम दिइएको थियो। हामी रेल चढेर मुम्बईदेखि पुनासम्म पुग्यौँ। हामीलाई भीआईपी तहको स्वागत गरिएको थियो। स्थानीय नेताहरूले गरेको स्वागत-सत्कार सम्झँदा अहिले पनि रमाइलो लाग्छ। हामीलाई पैसा नै खर्च गर्न नदिने। नेपाली विद्यार्थी, चुनाव गराउन लखनउबाट आएको भन्दै खुब तारिफ हुन्थ्यो। महँगा महँगा मिठाई बोकेर आउँथे। पढेलेखेका नेताहरूलाई नेपालको विषयमा राम्रो जानकारी थियो। हामीलाई प्रभावित पार्न उनीहरू नेपालको विषयमा कुरा गरिरहेका हुन्थे।
भारतमा चुनाव हुँदा नेपालमा निकै सतर्क भएका थिए, राणाहरू। उताको चुनावी भेल यता आउला भन्ने डर थियो। तर, भारतमा ब्रिटिसराज कायमै रहेका कारण केही ढुक्क पनि थिए।
त्यसबेलाका भारतीयहरू निकै सोझा थिए। उनीहरूको तुलनामा बरु नेपालीहरू बाठा थिए भन्ने लाग्छ। उनीहरूलाई पाइलैपिच्छे कुरा बुझाउनुपर्थ्यो। तर, अहिले त युरोप र अमेरिकामा पढेर होला, निकै ‘स्मार्ट’ भइसकेका छन्।
भारतीय नेताहरूले फुर्क्याउँदै कुरा गरे पनि हामीलाई आफ्नो सीमा थाहा थियो। म चुनावमा खटिन लागेको थाहा पाएपछि नेपालबाट बुवाले सन्देश पठाउनुभएको थियो– ‘खुरुखुरु आफ्नो काम गर्ने, नेपालको विषयमा चुइँक्क नबोल्ने। त्यहाँ केही तलमाथि भयो भने यता हामीलाई गाल पर्छ।’
भारतमा चुनाव हुँदा नेपालमा निकै सतर्क भएका थिए, राणाहरू। उताको चुनावी भेल यता आउला भन्ने डर थियो। तर, भारतमा ब्रिटिसराज कायमै रहेका कारण केही ढुक्क पनि थिए।
हामी भारतको निर्वाचनमा खटिएको थाहा पाएर राणा सरकारले निकै चासो राखेको थियो। यिनीहरूले भारतमा सबै कुरा बुझेर नेपालमा चुनाव गर्ने माग राख्लान् भन्ने डर रहेछ। नेपालमा हाम्रो घर आसपासमा जासुस छोडेका थिए।
हामी भारतको निर्वाचनमा खटिएको थाहा पाएर राणा सरकारले निकै चासो राखेको थियो। यिनीहरूले भारतमा सबै कुरा बुझेर नेपालमा चुनाव गर्ने माग राख्लान् भन्ने डर रहेछ। नेपालमा हाम्रो घर आसपासमा जासुस छोडेका थिए, घरपरिवारसँग के-कस्तो कुरा गर्छ भनेर बुझ्न। उनीहरूलाई भारतमा उच्च शिक्षा लिन गएका हामी कांग्रेसी बन्छौँ कि भन्ने डर पनि रहेछ।
तर, हामीलाई बुवाहरूले पहिले नै सम्झाइसकेका कारण त्यस्तो किन गर्थ्यौं र? फेरि हाम्रो काम त पर्यवेक्षण गर्ने मात्र थियो।
भारतमा चुनावको समयमा एकदुई ठाउँमा उम्मेदवारहरूबीच झगडा पनि पर्न लागेको थियो। तर, आफूहरू झगडा गरे बेलायतीहरूले फाइदा उठाउँछन् भन्ने डरका कारण उनीहरूले आपसमा कुराकानी गरेर झगडा सल्टाइहाल्थे। हामी खटिएको ठाउँमा कुनै अप्रिय घटना भएन।
महात्मा गान्धी, जवाहरलाल नेहरू, बल्लभभाइ पटेल र डा. सरोजिनी नायडुजस्ता उच्च कदका नेता भएका कारण त्यस चुनावमा भारतीय राष्ट्रिय कंग्रेसको जित भएको थियो। भारतका प्रभावशाली राजाहरूको केही क्षेत्रलाई छोडेर १०२ सिटका लागि भएको निर्वाचनमा स्पष्ट बहुमतका लागि ५३ सिट आवश्यक पर्थ्यो। कंग्रेसले ५७ सिट जितेर बहुमत पाएको थियो। मुस्लिम बाहुल्य ३० वटा चुनावी क्षेत्रमा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको अल इन्डिया मुस्लिम लिगले सबै सिट जितेको थियो।
वास्तवमा पाकिस्तान विभाजनको जरा यही चुनावबाट रोपिएको भन्थे। अन्यमा शिखहरूको अकाली दलले दुई सिट, युरोपियनका तर्फबाट आठ र स्वतन्त्र पाँच जनाले चुनाव जितेका थिए। तर, स्वतन्त्रका एक विधायक पछि कंग्रेसमा समाहित भएका थिए।
भारतमा यो निर्वाचन सम्पन्न भएको एक वर्षपछि राणा प्रधानमन्त्री पद्मशमशेरले नेपालमा पनि नगरपालिकाको चुनाव गराएका थिए। त्यसबेला म भारतमै अध्ययनरत थिएँ।