सात सवाल

१६ फाल्गुन २०८२
लेखक क्षितिज समर्पण।
अ+
अ-

२०८० सालको अन्त्यतिर माथिल्लो मुस्ताङ घुम्न गएका क्षितिज समर्पणले त्यहाँबाट झोलाभरि कथा बोकेर फर्केका थिए। संस्कृति, मिथक, प्रथा परम्परा, प्रकृतिलगायत विषय अटाएका ती कथाको गहिराइमा पुग्न उनी २०८१ मा फेरि माथिल्लो मुस्ताङ पुगेँ। त्यहाँ करिब दुई महिना चराङ गाउँमा बिताए।

त्यही यात्रापछि उनले मुस्ताङकै सेरोफेरामा बुनिएको उपन्यास लेखे, तोरकीन

पदयात्राका अनुभव र ज्ञानलाई लेखनमा उतार्ने लेखक क्षितिज समर्पणसँग नेपालन्युजले गरेको यात्रा संवाद :

घुम्ने ठाउँ, समय र बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ ?

मुख्य समस्या भनेकै समय र समयभन्दा पनि बजेट प्रमुख हो (हाहाहा)। तैपनि, वर्षमा एकदुई पटक कतै लामो यात्रामा निस्किन्छु।

यो वर्ष कति वटा नयाँ ठाउँ घुम्नुभयो ?

पाठकलाई  हाँसो लाग्न सक्छ– पनौतीको बल्थली, काठमाडौँकै दक्षिणकाली क्षेत्र र कालु पाँडे डाँडा, ललितपुरको कोन्ज्योसोमजस्ता ठाउँ पहिलो पटक पुगेँ। धेरै पटक गइसकेको पोखरा फेरि गएँ।

तपाईंका लागि यात्रा र लेखनको सम्बन्ध के छ ?

यात्राबाट फर्केपछि कम्तीमा यात्रासंस्मरण भए पनि लेख्छु। कति प्रकाशित गर्छु, कति आफ्नो सम्झनाका लागि मात्र लेख्छु। तिनलाई मेरो आधुनिक डायरी (ल्यापटप, इमेल, गुगल डक्स)मा राख्छु।

कैयौँ कविता, गजल, कथा यात्राकै कारण लेखेको छु। यात्रामा देखेका, सुनेका, बुझेका कुराले ‘हिट’ गर्छ र लेख्न मन लाग्छ। यसै वर्ष प्रकाशित पहिलो उपन्यास तोरकीन पनि यात्राकै कारण जन्मिएको हो।

एउटा यस्तो चिज जुन तपाईंको यात्रामा कहिल्यै छुट्दैन?

रमाइलो उत्तर दिनु कि गम्भीर दिनुजस्तो पो भयो त (हाहाहा)! सामान्यतया यात्रामा आवश्यक पर्ने अनिवार्य सामग्रीबाहेक डायरी र कलम सधैँ सँगै हुन्छ।

यात्राबाट प्राप्त हुने सबैभन्दा ठूलो कुरा हो?

यात्रा गर्दा ऊर्जा र पुनर्ताजगी प्राप्त हुन्छ। त्यसबाट प्राप्त हुने आनन्दले यस्तो लाग्छ, यसरी नै घुमेरै बिताउन पाए हुन्थ्यो दुई दिनको जिन्दगी। तर, मलाई फकिर हुने छुट जिन्दगीले दिएको छैन। यात्रामा बटुलेका अनुभूति अक्षरमार्फत जीवन्त बनाउने कोसिस गर्छु। नत्र मनभरि सँगालेर राख्छु।

तपाईंलाई मन परेको ठाउँ जहाँ तपाईं फेरि फेरि जान चाहनुहुन्छ

पोखरा घुमेर कहिल्यै अघाउँदिनँ। साँझपखको गुल्जार फेवाताल किनारका बत्तीहरूको उज्यालो, तालमा परावर्तन भएको दृश्यसँग संगीतमय साँझ खुब मिस गर्छु।

यात्रामा सुनिरहने सदाबहार प्रिय गीत?

प्राय: यात्रामा म मोबाइलमा गीत सुन्दिनँ। गाडीमा हुँदा जस्ता गीत बज्छन्, त्यही सुन्नु परिहाल्यो। तर, यात्राको बेलुका क्लासिक जनराका गीत सुन्न मन पराउँछु। पश्चिमको मान्छे भएर होला, लोकगीत पनि उत्तिकै मन पर्छ।

यात्रामा जाँदा सबैले गर्नैपर्ने मुख्य तयारी के हो?

बाटो र मौसमको अवस्था बुझ्नैपर्‍यो। टर्च, पावर बैंक, ज्वरो र पखालाको औषधि, सानो थर्मस वा बोतल झोलामा राखिराख्नुपर्छ। स्थानीय प्रशासन (प्रहरी)को सम्पर्क नम्बर पनि थाहा पाइराख्दा घाटा लाग्दैन। आफू जाने ठाउँको नक्सा बोक्दा झनै गज्जब!