काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरूलाई आह्वान गरेका छन्।
गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीसहित निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षणका लागि गृहमन्त्री सुदूरपश्चिम पुगेका छन्।
उनी आइतबार बाँकेको नेपालगन्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगे। उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरे।
मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाए। साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षालाई समेत प्राथमिकतामा राख्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति गरेका थिए। जिल्लाको वस्तुस्थितिबारे जानकारी लिइसकेपछि उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफूले नेतृत्व गरीरहेको जिल्लाको सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए।
स्थलगत अनुगमन तथा निरिक्षणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अर्यालले देशव्यापी रूपमा निर्वाचनको माहोल उत्साहजनक देखिएको बताए। उनले निर्वाचनका लागि सुरक्षा तयारी सुदृढ बनाइएको पनि दाबी गरे।
अनुगमनका क्रममा बाँकेको नेपालगन्ज भएको कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू, सुरक्षा निकायका लुम्बिनी प्रदेश इन्चार्जहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको गृह मन्त्रालयका सह-प्रवक्ता रमा आचार्यले जानकारी दिइन्।