काठमाडौँ। इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले मध्यपूर्वभर नयाँ चरणको आक्रमण थालेको छ।
इजरायल र क्षेत्रका अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै “छैटौँ चरण”को मिसाइल तथा ड्रोन आक्रमणको असर विभिन्न मुलुकमा देखिएको छ।
इजरायलमा इजरायली सेनाले इरानबाट प्रहार गरिएका मिसाइलहरू पहिचान गरिएको र प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाएको छ। यस क्रममा केन्द्रीय र दक्षिणी इजरायलभर साइरन बजाइएको थियो।
संयुक्त अरब इमिरेट्सको दुबईमा बिहानभर विस्फोटको आवाज सुनिएको र आकाशमा धुवाँ देखिएको जनाएको छ।
व्यवसायिक क्षेत्र बिजनेस बेमाथि गरिएको हवाई अवरोधनपछि खसेको भग्नावशेषका कारण प्रमुख बन्दरगाह जेबेल अली बन्दरगाहमा आगलागी भएको अधिकारीहरूले बताएका छन्।
यसैबीच कतारको दोहामा बिहान ७:३० बजे ठूलो विस्फोटको आवाज सुनिएको थियो। कतार गृह मन्त्रालयका अनुसार १६ जना घाइते भएका छन् भने केही स्थानमा सीमित भौतिक क्षति भएको छ।
बहराइनमा रातभर कम्तीमा ४५ वटा मिसाइल र ९ वटा ड्रोनको आक्रमण अवरोध गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। राजधानी मानामास्थित क्राउन प्लाजा होटल वरिपरि धुवाँ उठेको दृश्य देखिएको छ।
इराकको उत्तरी सहर एरबिलमा विमानस्थल क्षेत्र नजिक आगलागी भएको तस्बिरहरू सार्वजनिक भएका छन्। आइतबार बिहान एरबिलमा ठूलो विस्फोटको आवाज सुनिएको थियो।