काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन अनुरोध गरेकी छन्।

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन अनुरोध गरेकी हुन्। उनले भनिन्, ‘आउनुहोस्, होलीको खुसी साटौं। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण,स्वच्छ र ऐतिहासिक बनाऔं।’

उनले मतदातालाई २१ फागुनमा सबै काम छाडेर मतदान गरिदिन अनुरोध गरेकी छन्।

‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनिन्, ‘तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।’

राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र फरक विचार भएपनि मनमुटाव र वैमनस्य हुन नहुने बताउँदै उनले भनिन्,‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।’

उनले मौन अवधिमा पूर्ण अनुशासनको पालना गर्न पनि अनुरोध गरेकी छन्।

उनले आफू निर्वाचन गराउन आएको उल्लेख गरिन्।

उनले भनिन्, ‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु।’

निर्वाचनपछि निर्वाचित सरकारले देशको नेतृत्व गर्ने उनले बताइन्।