काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। अमेरिका-इजरायलले इरानमाथि सुरु गरेको प्रत्यक्ष सैन्य आक्रमणका कारण मध्यपूर्वका विभिन्न देशमा मानवीय क्षतिको संख्या तीव्र रूपमा बढ्दै गएको छ।

पछिल्लो विवरणअनुसार इरान, इजरायल, लेबनान र खाडी मुलुकमा गरी ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

सबैभन्दा ठुलो क्षति इरानमा देखिएको छ। जहाँ संयुक्त अमेरिकी-इजरायली सैन्य कारबाही सुरु भएदेखि अहिलेसम्म ५५५ जनाको मृत्यु भइसकेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार एक बालिका प्राथमिक विद्यालयमा भएको भीषण आक्रमणमा मात्रै १६८ विद्यार्थीले ज्यान गुमाएका छन्। इरानमा मारिनेमा एक चिनियाँ नागरिकसमेत रहेको चीनको विदेश मन्त्रालयले पुष्टि गरेको छ।

लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनान र बेरुतमा भएका इजरायली हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको जनाएको छ।

इजरायलमा पनि इरानविरुद्धको सैन्य अभियान सुरु भएदेखि हालसम्म १० जनाको मृत्यु भएको छ। २०० भन्दा बढी घाइते भएका छन्। इजरायली आपतकालीन सेवा मागेन डेभिड एडोमका अनुसार ‘बेट शेमेश’ सहरस्थित एक बम सेल्टरमा क्षेप्यास्त्र प्रहार हुँदा नौजनाको घटनास्थलमै मृत्यु भएको थियो।

इराकमा पनि तनाव चर्किएको छ। जहाँ इरान समर्थित अर्धसैनिक बल ‘पपुलर मोबिलाइजेसन फोर्सेज’ को मुख्यालयलाई लक्षित गरी गरिएको अमेरिकी-इजरायली आक्रमणमा चारजना मारिएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको जवाफी ड्रोन आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक-एकजना नागरिकको ज्यान गएको छ।

खाडीका अन्य मुलुकहरू कुवेत र बहराइनमा पनि युद्धको बाछिटा पुगेको छ। कुवेतमा संदीग्ध ड्रोन आक्रमणमा तीनजना अमेरिकी सैनिकको मृत्यु भएको छ भने सोही क्षेत्रमा भएको अर्को आक्रमणमा एक सर्वसाधारणको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै बहराइनको सलमान इन्डस्ट्रियल सिटीमा खसालिएको क्षेप्यास्त्रको टुक्रा खस्दा सल्किएको आगोका कारण एकजनाको मृत्यु भएको छ।