काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

प्रतिनिधिसभा निर्वाचन

२२ फाल्गुन २०८२
अ+
अ-

जनकपुर। मधेस प्रदेशमा मधेसकेन्द्रित दलको अवस्था निकै कमजोर देखिएको छ।

निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार मधेसकेन्द्रित दलहरूले कुनै पनि क्षेत्रमा अग्रता कायम गर्न सकेका छैनन्। मधेस प्रदेशमा अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्।

सप्तरीको अधिकांश क्षेत्रमा मतगणना सुरु भए पनि प्रारम्भिक परिणाम भने आउन सकेको छैन। सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ। रास्वपाका उम्मेदवार तपेश्वर यादवले एक हजार २६७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादवले २३५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले २०५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, मधेसकेन्द्रित दल जसपा नेपालका उम्मेदवार राजकिशोर यादवले १८८ र नेकपा (एमाले)का उम्मेदवार धर्मनाथप्रसाद शाहले १७१ मत प्राप्त गरेका छन्।

धनुषा ३ मा रास्वपाका मनीष झाले १५ हजार ५५८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले पाँच हजार ६२ र नेकपा (एमाले)की उम्मेदवार जुलीकुमारी महतोले दुई हजार ३५५ मत प्राप्त गरेका छन्।

महोत्तरी २ मा पनि रास्वपाका उम्मेदवारले अग्रता कायम राखेका छन्। रास्वपाका दीपककुमार शाहले ७२८ मत पाउँदा जसपा नेपालका उम्मेदवार शरदसिंह भण्डारीले १६९ मत पाएका छन्। नेपाली कांग्रेसकी किरण यादवले ९४ मत हासिल गरेकी छन्।

सर्लाही २ मा पनि रास्वपाको अग्रता देखिएको छ। रास्वपाका रविन महतोले एक हजार १३९ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्र राय यादवले ५१६ मत पाएका छन्। त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोको २७५ मत छ।

रौतहट ४ मा पनि रास्वपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। रास्वपाका गणेश पौडेलले दुई हजार ७२५ मत प्राप्त गरेका छन्। कांग्रेसका देवप्रसाद तिमल्सिनाले ९८३ मत र नेकपाका रामकुमार भट्टराईले ८८६ मत पाएका छन्।

बारा १ मा पनि रास्वपाका गणेश धिमालले अग्रता कायम गरेका छन्। उनले पाँच हजार ८७७ मत पाएका छन्। कांग्रेसका शम्भुबहादुर बुढाथोकीले एक हजार ९४३ मत र नेकपा (एमाले)का उम्मेदवार अच्युतम मैनालीले एक हजार ४५५ मत पाएका छन्।

बारा ३ मा पनि रास्वपाका अरविन्द शाहले अग्रता कायम गरेका छन्। उनले नौ हजार ६८३ मत पाएका छन्। कांग्रेसका उम्मेदवार फर्मुल्लाह मन्सुरले दुई हजार २८२ मत प्राप्त गरेका छन् भने जसपाका रामबाबु यादव तेस्रो स्थानमा रहँदै एक हजार ५४५ मत प्राप्त गरेका छन्।

बारा ४ मा पनि रास्वपाका रहबर अन्सारीले अग्रता कायम राखेका छन्। अन्सारीले ९१८ मत पाउँदा नेकपा (एमाले)का कृष्णकुमार श्रेष्ठले ३२८ मत पाएका छन्।