प्रतिनिधिसभा निर्वाचन
१५ सिटमा रास्वपा विजयी, ठूला दलको विरासत ढल्दा ‘माटो’ को पनि उदय
विराटनगर। प्रतिनिधिसभा निर्वाचनमा कोसी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा अभूतपूर्व नतिजा निकाल्दै बलियो उपस्थिति जनाएको छ। प्रदेशका कुल २८ निर्वाचन क्षेत्रमध्ये आइतबार १२ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाले १५ स्थानमा जित हासिल गरिसकेको छ भने थप दुई स्थानमा फराकिलो अग्रता कायम राखेको छ।
स्थापित पुराना दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले भने अहिलेसम्म तीन तीन स्थानमा मात्र जित निकाल्न सकेका छन्। यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले एक स्थानमा जित दर्ता गर्दै अन्य दुई स्थानमा अग्रता बनाएर ठूला दलहरूलाई कडा चुनौती दिएको छ।

मोरङ, झापा र उदयपुरमा रास्वपाको ‘क्लिन स्विप’
रास्वपाले प्रदेशका सबैभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा ऐतिहासिक सफलता हात पारेको छ। मोरङका ६, झापाका पाँच र उदयपुरका दुई गरी १३ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्।
मोरङ १ बाट यज्ञमणि न्यौपाने, क्षेत्र नं. २ बाट कृष्ण कार्की, क्षेत्र नं. ३ बाट गणेश कार्की, क्षेत्र नं. ४ बाट सन्तोष राजवंशी, क्षेत्र नं. ५ बाट आशा झा र क्षेत्र नं. ६ बाट रुविना आचार्य निर्वाचित भएका छन्। त्यसैगरी, झापा १ बाट निशा डाँगी, क्षेत्र नं. २ बाट इन्दिरा राना मगर, क्षेत्र नं. ३ बाट प्रकाश पाठक, क्षेत्र नं. ४ बाट शम्भुप्रसाद ढकाल र क्षेत्र नं. ५ बाट बालेन्द्र शाह विजयी भएका छन्।
यस्तै, उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको छ। उदयपुर १ मा पारसमणि गेलाल र क्षेत्र नं. २ मा सूर्यबहादुर तामाङ विजयी भएका छन्। सुनसरी ३ मा अशोककुमार चौधरी र ओखलढुंगामा विश्वराज पोखरेलले जित निकालेका छन्।
अहिले भइरहेको मतगणनामा रास्वपाले सुनसरी २ मा लालविक्रम थापा र क्षेत्र नं. ४ मा दीपककुमार साहमार्फत फराकिलो मतान्तरले अग्रता लिइरहेको छ।
एमाले र कांग्रेसको अवस्था
नेकपा (एमाले)ले हालसम्म तीन क्षेत्रमा जित दर्ता गरेको छ। एमालेका तर्फबाट ताप्लेजुङमा क्षितिज थेबे, इलाम १ मा सुहाङ नेम्बाङ र धनकुटामा राजेन्द्र राई विजयी भएका छन्। एमालेका तर्फबाट इलाम २ मा काजीमान कागते र संखुवासभामा अर्जुनकुमार कार्कीले झिनो मतको अग्रता लिइरहेका छन्।

नेपाली कांग्रेसले पनि हालसम्म तीन स्थानमा मात्रै जित निकालेको छ। कांग्रेसका तर्फबाट पाँचथरमा नरेन्द्रकुमार केरुङ, तेह्रथुममा सन्तोष सुब्बा र सोलुखुम्बुमा प्रकाशसिंह कार्की निर्वाचित भएका छन्।
‘माटो’ को उदय
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खोटाङमा आरेन राईमार्फत जित हासिल गर्दै खाता खोलेको छ। सो पार्टीले अन्य दुई निर्वाचन क्षेत्रमा पनि अग्रता लिइरहेको छ। भोजपुरमा ध्रुवराज राई र सुनसरी १ मा पार्टी अध्यक्ष हर्क साम्पाङले अग्रता कायम राखेका छन्।
देशभरि घण्टीको लहर चल्दा र साम्पाङ नेतृत्वको पार्टीले समेत प्रभाव देखाउँदा दशकौँदेखि राजनीतिमा वर्चस्व जमाएका ठूला दलहरूको बिरासत भने यस पटक तोडिएको छ। यस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निल हुने देखिएको छ। अहिलेसम्म उसले कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन।