काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

एक सिलिन्डर ग्यासका लागि घन्टौं लाइनमा

२८ फाल्गुन २०८२
घण्टौं लाइनमा बसेपछि ग्यास सिलेन्डर लिएर घरतर्फ जाँदै उपभोक्ता। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगर-१२ कामतचोककी ६५ वर्षीया कमली सहनी बिहीबार बिहानै सास्तीमा थिइन्। घरमा नातिनातिनीका लागि खाजा पकाउँदापकाउँदै ग्यास सकियो। चुलो बलेन, बालबालिका भोकै हुने भए। उनी हतार हतार रित्तो सिलिन्डर सिटी सफारीमा हालेर एक किलोमिटर उत्तरमा रहेको पिछरा चोक पुगिन्।

विराटनगर-११ स्थित बीके सप्लायर्सको सटरअगाडि पुग्दा त्यहाँ उनीजस्तै रित्तो सिलिन्डर कुर्नेहरूको लामो ताँती थियो। “ग्यासको गाडी दिउँसो आउँछ भनेका छन्, त्यसैले दुई घण्टादेखि सटर कुरेर बसेकी छु,” उनी भन्छिन्, “अरू बेला यस्तो हुन्थेन, अहिले के भएर सटेज (अभाव) भएको हो? घरमा नातिनातिनी भोकै होलान् भन्ने चिन्ता छ।”

विराटनगर-११ पिछरास्थित ग्यासको डिलरमा ग्यास कुर्दै ६५ वर्षीया कमली सहनी ।

पाँच घण्टाको प्रतीक्षा र ठेलमठेलपछि बल्ल उनले एउटा सिलिन्डर हात पारिन्। तर, यो समस्या कमलीको मात्र होइन। विराटनगर-१२ की राधा कामत पनि बिहानैदेखि लाइनमा थिइन्। तीन घण्टा लामबद्ध भएपछि मात्र उनले घरको चुलो बाल्ने जोहो गर्न पाइन्। “दिउँसो ग्यास आउने सुनेर बिहानै आएकी हुँ,” उनी भन्छिन्, “यसरी लाइन बस्नुपर्दा सास्ती भयो।”  विराटनगर-११ पिछरास्थित कोसी ग्यासको बिक्री केन्द्रमा बिहीबार यस्तै दृश्य देखियो। दिउँसो साढे १२ बजे ग्यासको गाडी आइपुग्दा उपभोक्ताको भिड थामिनसक्नु थियो। भिड नियन्त्रण गर्न सप्लायर्सका सञ्चालक वीरेन्द्र कार्कीले टोकन प्रणाली नै लागु गर्नुपर्‍यो।“भिडभाड धेरै हुने भएपछि सहजताका लागि १५० वटा टोकन वितरण गरेका थियौँ,” कार्की भन्छन्, “माग धेरै छ, आपूर्ति कम। दुई दिनअघि आएको ३०० सिलिन्डर एकैछिनमा सकियो। आज आएका १५० सिलिन्डर पनि एक घण्टामै सकिए।”

अभाव कि त्रास?

इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने हल्लाले नेपालमा पनि प्रभाव पारेको छ। छिमेकी देश भारत, बाङ्लादेश र पाकिस्तानमा ग्यासको संकट देखिन थालेको समाचारले यहाँका उपभोक्तामा त्रास सिर्जना गरेको छ। भारतबाट समयमा ग्यास ढुवानी नहुँदा बजारमा केही चाप देखिएको व्यवसायीहरूको दाबी छ।

विराटनगर-११ पिछरामा ग्यासको लाइन बसेका उपभोक्ता।

यता, सरकारी निकायले भने बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै आएको छ। नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्की कोसी प्रदेशमा ग्यासको अभाव नभएको बताउँछन्। उनी यसलाई ‘कृत्रिम अभाव’ को संज्ञा दिन्छन्। “उद्योगबाट पर्याप्त ग्यास बजारमा गइरहेको छ,” उनी भन्छन्, “डिलरहरूबाट केही बदमासी भएको हुन सक्छ, हामी यसबारे खोजी गर्दै छौँ।” मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल पनि बजारमा ग्यास लुकाइएको हुन सक्ने आशंका गर्छन्। “आयल निगमले ग्यास पर्याप्त छ भनेको छ, तर बजारमा उपभोक्ताले सास्ती पाइरहेका छन्,” उनी भन्छन्, “हामी तत्काल बैठक बसेर अनुगमनमा निस्कन्छौँ। यदि कसैले कृत्रिम अभाव सिर्जना गरेको वा ग्यास लुकाएको पाइए तत्काल कारबाहीको दायरामा ल्याउँछौँ।”

ग्यास आएको जानकारी पाएपछि खाली सिलिन्डर लिएर डिलरतर्फ जाँदै रिक्सा चालक।

सरकारी तथ्यांकले ग्यास पर्याप्त देखाए पनि डिपोअगाडि सर्वसाधारणको लामो लाइनले भने आपूर्ति व्यवस्थापनमा प्रश्न उठेको स्थानीय प्रकाश अधिकारी बताउँछन्। भन्छन्, “डिर्लरमा जाँदा ग्यास छैन भन्छन्। नेपाल आयल निगम पर्याप्त छ भन्छन्। त्यसो भए कहाँ गयो त ग्यास? प्रशासनले अनुगमन गरेर कालोबजारी गर्न खोज्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”

ग्यास नपाएपछि गुनासो सुनाउँदै उपभोक्ता प्रकाश अधिकारी।

कोसी ग्यास प्रालिका जेनेरल मेनेजर सचित उपाध्याय कोसी ग्यासका आठ हजार २७९ सिलिन्डर दैनिक बजारमा गइरहेको जनाउँछन्। “अहिले यो हल्लाको कारणले उपभोक्ताहरूले धेरै स्टक गरेको कारणले डिर्लरमा जानेबत्तिकै ग्यास सकिने गरेको छ,” उनी भन्छन्, “उपभोक्ताले पनि आवश्यकताअनुसार प्रयोग गरे सटेज हुँदैन।”