काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

वन्यजन्तु

साउनयताका ६ महिनामा १७ वन्यजन्तु मर्दा ३१५ वटा घाइतेको उद्धार

३ चैत्र २०८२
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा ९३४ मिटर उचाइमा राखिएका क्यामेरा ट्र्यापहरूमा बाघ र चितुवा। सबै तस्बिर सौजन्य : हरिप्रसाद शर्मा
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा तीनवटा बाघ अभिलेख भएका छन्। त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागले पाल्पा र अर्घाखाँचीमा राखेका क्यामेरा ट्रयापमा तीनवटा बाघ देखिएका हुन्।

लुम्बिनी प्रदेशको वन्यजन्तु र जीवजन्तुबारे भइरहेको अध्ययनका क्रममा पाल्पाको माथागढी गाउँपालिकाको माथागढी किल्ला आसपास, तिनाउ गाउँपालिकाको झुम्सा खोलाभन्दा माथि र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको रजियानजिकै राखिएका क्यामेरामा बाघ देखापरेको त्रिविका प्राध्यापक तथा अध्ययन टोली संयोजक हरिप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार यी तीनवटै बाघ वयस्क अवस्थाका छन्।

पाल्पाको माथागढी गाउँपालिकामा एक हजार ११० मिटर उचाइ र तिनाउको झुम्सा खोलाभन्दा माथि ५३६ मिटर उचाइमा बाघ ट्र्यापमा परेका हुन्। यस्तै अर्घाखाँचीको शीतगंगाको रजियामा ९३४ मिटर उचाइमा बाघ भेटिएको र यो क्षेत्र मानिस ओहोरदोहोर गर्ने बाटोकै आसपासमा पर्ने शर्माले बताए।

“मानववस्ती र अहिले ट्र्यापमा परेका बाघको दूरी त धेरै नै देखिन्छ तर सावधानी र संरक्षण दुवै आवश्यक छ,” उनले भने‚ “यो क्षेत्रमा भेटिएका बाघ बयस्क अवस्थाका छन् र लामो समयदेखि नै बसोबास गरेको हुनसक्छन् भन्ने हाम्रो प्रारम्भिक अध्ययनले देखाउँछ।” उनले प्रारम्भिक अध्ययनमा देखिएका बाघको बासस्थान र अन्य विषयहरू भने पूरा अनुसन्धानपछि मात्रै यकिन हुने बताए।

अर्घाखाँचीमा देखिएको बाघ।

उनका अनुसार पाल्पामा ४४ वटा र अर्घाखाँचीमा ५० वटा क्यामेरा ट्र्याप राखिएका थिए। करिब आठ सय वर्गकिलोमिटरमा यी ९४ वटा क्यामेरा जडान गरिएको र पाँच/पाँच वर्गकिलोमिटरको एउटा ग्रिड बनाएर २५ वर्ग किलोमिटरमा चारवटा क्यामेरा राखिएको थियो।

चुरे क्षेत्रका राष्ट्रिय वन, सामुदायिक वन र पहाडी क्षेत्रका वनहरुमा क्यामेरा राखिएको शर्माले बताए। “हामीले लुम्बिनी प्रदेशमा वन्यजन्तु र जलचरसम्बन्धी अध्ययन गरिरहेका छौँ,” उनले भने‚ “यसपटक वन्यजन्तुबारे अध्ययनका क्रममा वन्यजन्तु आउआउ गर्ने सम्भाव्य बाटो, नदी-खोलाकिनार, दोबाटो फायरलाइन, डाँडाको बाटो भञ्ज्याङ, गोरेटो ट्रयाक र पानीको स्रोत भएको ठाउँमा क्यामेरा राखिएका थिए। त्यसमा सफलतापूर्वक बाघ र चितुवा ट्र्याक भए।”

उनका अनुसार करिब २०-२१ दिनसम्म गरिएको अध्ययनअनुसार तीनवटा बाघ फेला परेका हुन्। पाल्पामा २० र ३० माघ र अर्घाखाँचीमा ४ र ५ फागुनमा क्यामेरा सेट गरिएको थियो। पाल्पाको माथागढीमा ३ र ४ फागुन तथा अर्घाखाँचीमा ३० फागुनमा बाघ ट्र्याक गरिएको हो।

चितुवाको संख्या भने बाघको तुलनामा धेरै छ। पाल्पामा १८/१९ वटा र अर्घाखाँचीमा १९/२० वटा चितुवा क्यामेरामा ट्र्याप भएका छन्। यसअघि सन् २०१८ मा लुम्बिनीका रुपन्देही, कपिलवस्तु र पाल्पामा बाघ ट्र्यापमा परे पनि त्यसयता अध्ययन भएको थिएन।

पाल्पामा देखिएको बाघ।

सन् २०१८ मा पहिलोपटक रूपन्देही, कपिलवस्तु र पाल्पाको सीमा क्षेत्रमा बाघ देखिएको थियो। राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास बोर्ड र राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरे क्षेत्रमा जैविक विविधताबारे गरेको संयुक्त अध्ययनले कपिलवस्तुसँगै रूपन्देही र पाल्पामा पाटेबाघ रहेको देखाएको थियो।

त्यसबेला पोथी बाघ रूपन्देही र पाल्पाको सीमा क्षेत्रमा एकभन्दा बढी ठाउँमा देखिएको र त्यसभन्दा करिब ४० किलोमिटर पश्चिम कपिलवस्तुको उत्तरी क्षेत्रमा भाले बाघ देखिएको थियो। कपिलवस्तुमा पुस २०८० मा बुद्धभूमि नगरपालिकामा दुईवटा र विजयनगर गाउँपालिकामा एउटा बाघ क्यामेरा ट्रयापमा परेको थियो।

पाल्पामा देखिएको बाघ।

लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्व पनि बढ्दो छ। यस प्रदेशमा चालु आव ०८२/८३ को साउनदेखि पुससम्मका ६ महिनामै बाघलगायत वन्यजन्तुको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ। यीमध्ये बर्दियामा आठजना तथा कपिलवस्तु र बाँकेमा एक-एकनाको मृत्यु भएको हो।

मानव-वन्यजन्तु द्वन्द्व नियन्त्रणमा असफल लुम्बिनी सरकार

यस अवधिमा वन्यजन्तुको आक्रमणबाट १४ जना घाइते भएका छन् भने घरपालुवा ९७ वटा पशुचौपाया मारिएका प्रदेशको वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ। वन्यजन्तुतर्फको क्षति पनि उस्तै छ। साउनयताका ६ महिनामा १७ वटा वन्यजन्तुको मृत्यु भएको र ३१५ वटा घाइते वन्यजन्तुको उद्धार गरिएको वन निर्देशनालयका महानिर्देशक प्रभात सापकोटाले जानकारी दिए।
यो पनि…

जंगल चिनाउने थारू युवती