काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

व्यक्तिवृत्त

बादी समुदायबाट पहिलो संघीय सांसद हुँदै पहिलो मन्त्री बनेको रेकर्ड

अ+
अ-

स्थान : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयस्थित मन्त्रीको कार्यकक्ष।
मिति : १३ चैत २०८२।
समय : अपराह्न ३ बजे।

कार्यकक्षमा फूलमालाको सुगन्ध फैलिएको थियो। सुब्बादेखि सचिवसम्मले फूल, खादा र मालाले स्वागत गर्दै नवनियुक्त मन्त्री सीता बादीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका थिए। बधाई, स्वागत र शुभकामना ग्रहण गर्दै गरेकी उनी अचानक भक्कानिइन्। उल्लासको त्यस क्षणमा उनका ओठ काँपिरहेका थिए। खुसी र सफलताको यो क्षणलाई उनले शब्दमार्फत व्यक्त गर्न सकिनन्, तर आँसुमा प्रस्ट झल्किन्थ्यो।

एकैछिनको मौनतापछि उनले आफ्नो आँसुको कथा सुनाउन थालिन्। त्यसमा सुर्खेतको झुप्राखोला किनारमा उनले बिताएको कहालीलाग्दो इतिहास लुकेको थियो। जहाँ सीताले जातीय हिंसाको तीतो अपमान, चरम गरिबी र अभावको रापमा आफूलाई जलाएर हुर्किएकी थिइन्। “मैले मन्त्री बन्छु भन्ने कल्पना नै थिएन,” सीताको कथन थियो, “जब यो कुर्सीमा बसेँ, मेरो विगत, परिवार र संघर्ष सम्झेर एक्कासि यस्तो भयो।”

मन्त्री सीताको आँसुले विगतको संघर्ष मात्र होइन, सिंहदरबारको कुर्सीमा बसेर वहन गर्नुपर्ने दायित्व पनि सम्झाएको अनुभूति हुन्थ्यो। सुर्खेत झुप्राखोला बस्ती भेरी नदी किनारमा छ। भेरी नदी दशकौँदेखि झुप्राखोलाको बादी समुदायको पीडाको साक्षी बनेको छ। हुन पनि २०४४ सालदेखि भेरीको तिरलाई आफ्नो संसार मान्दै आएको बादी समुदायको आँसु, पसिना र अस्तित्व यही नदीसँग जोडिएको छ। उनीहरूको जीवन धान्ने आधार पनि यही हो।

तस्बिर सौजन्य : मन्त्रीको सचिवालय

झुप्राखोलामा बसोबास गर्ने बादी समुदायसँग आफ्नो एक टुक्रा जमिन पनि छैन। उनीहरूसँग छ त केवल नदी किनारको चिसो बालुवा, ढुंगा, माटो र एउटा अस्थायी आवास। यिनै कठिनाइसँग जुध्दै, उठ्दै बादी समुदायबाट पहिलो मन्त्री बनेकी छन्, ३० वर्षीया सीता बादी।

राष्ट्रिय दलित आयोगकी संस्थापक सदस्य सचिव दुर्गा सोब भन्छिन्, “सानो उमेरमै रास्वपाबाट समानुपातिक सांसद हुँदै मन्त्रीको जिम्मेवारी पाउनु सीताको सौभाग्य मात्र होइन, महिला र दलित समुदायका लागि गौरवको कुरा पनि हो।”

सीताका बुवा गोपाल र आमा पार्वती झुप्राखोलाको तातो बालुवामा पसिना बगाएर छोराछोरीको पेट पाल्थे। बुवाआमासँगै बालुवा संकलन गर्ने र छान्ने सीप सीताले पनि सिकिन्। जुन उमेरमा उनी स्कुल जानुपर्थ्यो र साथीहरूसँग खेल्नुपर्थ्यो, त्यही उमेरमा उनी बालुवासँगै भेरी किनारमा संघर्ष गर्न थालिन्। ‘बालुवा किनिदिनुस्’ भन्दै ग्राहक बोलाउनु र बालुवा बेच्नु नै सीताको परिवारको दैनिकी थियो।

यस्तो अवस्थामा हुर्किनेमा मन्त्री सीता अपवाद चाहिँ होइनन्, झुप्राखोलाको बादी समुदायका अरू बालबालिकाको पनि नियति यस्तै थियो। मन्त्री सीताले नेपालन्युजसँग भनिन्, “हाम्रो जीवन नै बालुवामा बित्यो। मीठो-मसिनो खान पनि बालुवा बेच्नुपर्थ्यो। पानी, बालुवा, ढुंगा र माटो नै हाम्रा खेलौना, घर, स्कुल र जीवन थिए।”

देशको सामाजिक र राज्य संरचनामा सीमान्तीकृत बादी समुदाय दलितभित्र पनि चरम अवहेलित र किनाराकृत छ। त्यसैले बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा इतिहासमै पहिलो पटक बादी समुदायको महिला मन्त्री बनाइनुलाई सकारात्मक रूपमा लिइएको छ।

झुप्राखोलाबाट सुरु भएको संघर्ष

सीताले झुप्राखोलामा संघर्ष गरेरै बाल्यकाल बिताइन्। उनको मानसपटलमा बाल्यकालको गरिबी, छुवाछुत र सामाजिक बहिष्कारको तीतो स्मृति अझै ताजा छ। अपमानलाई आफ्नो नियति र तिरस्कारलाई जीवनको सामान्य पाटो ठानेर हुर्किनुको विकल्प उनीसँग थिएन।

“अपमान, तिरस्कार त हाम्रो जीवनको हिस्सा नै थियो। हामी त हिंसामै हुर्कियौँ, विभेद सहनुको विकल्प थिएन। मेरा लागि अक्षर चिन्न पाउँदा एउटा सपना साकार भए जस्तै थियो,” उनले भनिन्, “केही संस्थाहरूले सहयोग गरेपछि मैले अक्षर चिन्ने अवसर पाएँ। मेरा बुवाआमाको जीवन त अहिले पनि झुप्राखेलाको बालुवाको तातोमै पसिना बगाएर बितिरहेको छ।”

तस्बिर : नेपाल न्युज

प्रारम्भिक शिक्षा सुर्खेतको जनसेवा माध्यमिक विद्यालयबाट सुरु गरेकी उनी १३ वर्षको उमेरमा काठमाडौँ आएर चामुण्डा माध्यमिक विद्यालयमा भर्ना भइन्। काठमाडौँमा पनि उनले काम र पढाइलाई सँगैसँग अगाडि बढाइन्। सामाजिक विषयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेकी उनी आफ्नो समुदायको न्याय र आत्मसम्मानका लागि सशक्त अभियन्ता भइन्। सामाजिक विषयको अध्ययनले उनलाई समाजका विविध समस्या, असमानता तथा सीमान्तीकृत समुदायका सवालहरू बुझ्न मद्दत गर्‍यो। “सुर्खेतको भन्दा काठमाडौँको विभेद झन् डरलाग्दो रहेछ,” उनी सम्झिन्छिन्, “हरेक संघर्षले मलाई आफ्नो हकका लागि लड्न झन् बलियो बनायो।”

अकल्पनीय क्षण

बूढानीलकण्ठको भंगाल बस्ने मन्त्री सीता १२ चैतमा घरपरिवार र श्रीमान्‌लाई आज ‘प्रधानमन्त्रीज्यूको शपथ छ, त्यहाँ पार्टीले बोलाएको छ’ भनेर निस्किएकी हुन्। त्यतिबेलासम्म पनि उनलाई मन्त्री हुन्छु भन्ने थाहा थिएन। कतिसम्म भने प्रधानमन्त्रीको शपथमा भाग लिन राष्ट्रपति निवासमा जाँदा पनि उनी स्कुटरमै गएकी थिइन्। त्यहाँ पुगेपछि उनलाई रास्वपाकै केही सांसदले अघिल्लो पंक्तिमा बस्न अनुरोध गरे। त्यसपछि मात्र उनलाई आफू मन्त्रीमा नियुक्त भएको थाहा भयो। “मैले कल्पना नै गरेकी थिइनँ। सांसद् बन्दा पनि त्यस्तै भयो। मन्त्री बन्दा पनि त्यस्तै भयो।”

झुप्राखोलाको किनारमा संघर्ष गर्दै हुर्किएकी मन्त्री सीता बादीको सिंहदरबार यात्राले अधिकारकर्मीहरूलाई उत्साहित बनाएको छ। अधिकारकर्मी गोपाल बादी भन्छन्, “यो नयाँ इतिहास हो। जुन काम पुराना लोकतन्त्रवादी वा कम्युनिस्ट भनिने दलहरूले गरेका थिएनन्, रास्वपाले गर्‍यो, धन्यवाद छ।”

अर्का अधिकारकर्मी रूप सुनारको पनि यस्तै धारणा छ। उनी भन्छन्, “हिजो बादी समुदायलाई हेर्ने जुन दृष्टिकोण थियो, अब त्यो फेरिनेछ। हिंसा र विदेभका पहाडहरू छिचोलेर सीताले सिंहदरबारको यात्रा तय गर्नु सानो इतिहास होइन।”