संगीत
कन्दराको कमाल
बिदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जिउ त होइन ढुंगाको छपनी
आउँला माया नमरे म पनि…
गायक विवेक श्रेष्ठ मग्न भएर कन्दराको सदाबहार गीत गाउँदै थिए, उनको आवाजलाई ओझेल पार्ने गरी भिडले सुर, ताल समातेर थपिरहेको थियो,
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?
हे, हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?
शुक्रबार मध्यराति ठमेलको क्लब नोभामा कन्दरा ब्यान्ड ‘रिदम अफ चेन्ज’ थिमसहित प्रस्तुत हुँदा यस्तै दृश्य देखियो। कन्दरा ब्यान्डका हरेक गीतमा श्रोता-दर्शक यसरी नै झुम्दै गाइरहेका थिए। आफ्ना श्रोता-दर्शकको प्रतिक्रिया देखेर विवेक पनि भावुक बनेको सहजै महसुस गर्न सकिन्थ्यो।

सन् १९९० को दशकमा सञ्चारका माध्यम सीमित भएको समयमा गण्डकी क्षेत्रको एउटा कुनाबाट जन्मेको कन्दरा ब्यान्डले लोकसंगीतको छायामा नयाँ स्वादका गीत सिर्जना गर्न थाल्यो।
त्यतिबेलासम्म धेरै गाउँठाउँमा सडक सञ्जाल पनि पुगेको थिएन। गाउँघरका मेलापात, वनजंगल, खोरिया, भिर, पाखा, चौतारीमै मानिसका दिन बित्थे। टेलिभिजन र रेडियो पुगेका कुना कुनामा कन्दराका गीत गुन्जन थाले। ती गीत साथीभाइ, दौँतरी र प्रेमी वा प्रेमिकालाई सम्झेर गुन्गुनाउन थालियो। सहरदेखि गाउँका युवाले क्यासेट, डीभीडीमा कन्दराका गीत सुन्ने क्रम बढ्न थाल्यो।

नेपाली गीत-संगीत मन पराउने तीन दशकअघिका अधिकांश श्रोताले कन्दरा ब्यान्डका गीतलाई आफ्नो स्मृतिमा राखेकै छन्। आज प्रविधिको जमानामा कन्दराका गीत पहाड, तराई, हिमाल हुँदै नेपाली रहेका जुनसुकै देशमा पुगेकै छन्।
शुक्रबार राति नोभाको प्रस्तुति धेरै श्रोताका लागि ‘रियुनियन’ जस्तै बन्यो। करिब दुई हजार श्रोताको त्यो भिड कन्दराको पुराना गीतमा झुम्यो। आपसमा अपरिचितहरू पनि कन्दराका गीत सुन्दै आएको नाम वा साइनोका आधारमा परिचित जस्तै व्यवहार गरिरहेका थिए। उनीहरू कन्दराका गीतले सम्झाएका डाँडापाखा, चौतारी, खोला-खहरेतिर सँगै हराउँदै थिए।

कसैलाई ‘लेककी हे माया’ ले जोडेको थियो, कसैलाई ‘तगारोमा रुमाल राखी’ ले। कसैलाई ‘चन्चले कान्छीको जोवन’ ले मोहनी लगाएको थियो, कसैलाई ‘बिदेसिएर गइन् उनी’ ले विह्वल बनाएको थियो।
कार्यक्रम अघि बढ्दै गर्दा कुनातिर बसेर झुमिरहेका दर्शकलाई विवेकले ‘नाइन्टिजको जोस चाहियो’ भन्दै स्टेजनजिकै बोलाए। दर्शक पनि ‘नोस्टाल्जिक’ हुँदै अघि अघि आउन थाले।
कन्दराका गीतमा खासगरी गण्डकी क्षेत्रको चित्रण आउने भए पनि तिनले बोक्ने भावमा सबै खाले गाउँको गन्ध पाउन सकिन्छ। जसले आफ्नो गाउँठाउँ छोडी सहरिनु वा परदेसिनुपरेको छ, उनीहरूलाई कन्दराका गीतले त्यही स्थान र समयमा पुर्याउँछन्, जहाँ भेडीगोठ छ; लेकबेसी छ; तगारो छ; अनि लेककी मायालु, चन्द्रकोटकी नानीलगायत छन्।

राजधानीको बन्द क्लबमा कन्दराका गीतमा झुमिरहेका दर्शक देख्दा लाग्थ्यो, उनीहरू एउटा टाइम मेसिनमा छन् र ती गीतमार्फत उनीहरू एउटा मीठो समय बाँचिरहेका छन्, जहाँ उनीहरूले आफ्नो किशोरावस्था छोडी आएका थिए।
कार्यक्रम अघि बढ्दै जाँदा नोस्टाल्जियामा झुमेर हावामा हात हल्लाइरहेका दर्शकसँगै ब्यान्डका गायक विवेक पनि पुरानो समयमा पुग्छन् र भन्छन्, ‘नाइन्टिजका गीतहरूले अहिलेका भाइबहिनीलाई त्यसरी नछुन सक्छ।’
विवेकको कुरा नसकिँदै भिडबाट चर्को अब्जेक्सन सुनिन्छ, ‘नोऽऽ नोऽऽ नोऽऽ!’
सुरुदेखि नै विवेकसँगै दर्शकदिर्घाबाट गीत गाउँदै झुमिरहेका जेन-जी युवाको अब्जेक्सन थियो त्यो। उनीहरूको दाबी थियो– कन्दराका गीत हामी पनि सुन्छौँ, नाइन्टिजका दाइदिदीलाई मात्र होइन, हामीलाई पनि यी गीतले उत्तिकै छुन्छन्।

जेन-जीलाई कन्दराले छोएको कुरा सुनेर विवेक अझै खुसी भए, तर कन्दरालाई पनि जेन-जीले छोएको रहेछ। त्यसो त जेन-जीले नछोएको पो कसलाई छ र यतिबेला?
मध्यरातमा झुम्दै नाच्दै रमाउन पुगेका दर्शकलाई विवेकले अकस्मात् जेन-जी सहिदको सम्मानमा छातीमा हात राख्न लगाए। मायाप्रेमका भाका बिसाई एकैछिन देशलाई सम्झन आग्रह गरे। अनि गुनगुनाए–
एकजुट भई अघि बढे
वैरभाव भेदभाव नगरे
माटोको निम्ति सबले थोरै त्याग गरे
शान्ति र उन्नति
रसाउनेछ त्यो दिन
हरेक मुहारहरू मुस्काउनेछ त्यो दिन
एउटै गीतमा उनले सहानुभूति पनि गाए, समानुभूति पनि गाए,
तिमी आशा नमार्नू
निराश नहुनू
पीडा भुलाउने
खुसी ल्याउने छु त्यो दिन
जेन-जीको त्यागले ल्याएको परिवर्तनमा कन्दराले आफ्नो ऐक्यबद्धता जनाएको छ, नोस्टाल्जियामा वर्तमानको भाव र सन्देश पनि थपेको छ।
अडियो क्यासेटबाट सुरु भएको कन्दराको यात्रा युट्युब र स्पोटिफाईसम्म आइपुगेको छ। परिवर्तित समयमा युवा पुस्तालाई रक शैलीसहितको ‘बिचरा म’ वा ‘सुन्दर बिहानी त्यो’ जस्ता गीतमार्फत कन्दराले नयाँ पुस्तालाई समेत सम्बोधन गरिरहेको छ।

संगीतको भावसँगै रङ बदलिने आकर्षक लाइट, गीतका शब्दको मर्म चित्रण गर्ने लोभलाग्दो ग्राफिक्सले नोभाको त्यो भव्य हलको प्रस्तुतिलाई अविस्मरणीय बनाएको थियो।
कन्सर्टमा गाइएका अधिकांश गीत दर्शकलाई धीत नमर्दै सकिइरहेका थिए। जसले गर्दा ‘वान्स मोर’, ‘वान्स मोर’ को आवाज घन्किइरहेको थियो। समयको आफ्नै सीमा हुन्छ, सीमाका बाबजुद कन्दराले हरेक कन्सर्टमा आफ्ना दुई सर्वाधिक हिट ‘तिमी पारि’ र ‘हङकङ पोखरा’ लाई नदोहोर्याई सुख पाउँदैन।
जब विवेकले प्रस्तुतिको अन्तिम गीतका रूपमा ‘हङकङ पोखरा’ गाइभ्याए, दर्शकको मनोभाव देख्दा लाग्थ्यो उनीहरू भनिरहेका छन्– बरु गीत हामी नै गाउँछौँ, कन्दराका सदस्यहरू बस् स्टेजमै बसिरहून्।

त्यहीबेला बोनसका रूपमा ‘लेककी हे माया’ को धुन उठ्यो। विवेकले गीत सुरु गरे जस्तो मात्रै गरे, बाँकी अंश गाउने जिम्मा दर्शक आफैँले लिए। माइकमा गाइरहेका विवेकको स्वरलाई साथ दिन दर्शकले विनामाइक चिच्याई चिच्याई गाउन थाले। प्रस्तुतिको अन्तिमतिर यस्तो लाग्यो– विवेकको ‘गायक आत्मा’ प्रत्येक दर्शकमा पसिसकेको थियो।
पहिलो पटक कन्दरालाई प्रत्यक्ष सुनिरहेको म पनि त्यही भिडमा सम्मोहित भइरहेको थिएँ। अझै म कन्दराकै ह्याङओभरमा छु,
नशा लागिसकेछ
व्यथा बनिसकेछ
माया बसिसकेछ…।