काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

पुस्तक

रुकुन आडवाणीसँग ४० वर्ष पुरानो चिनारी, मित्रता र सम्पादक-लेखक सम्बन्धबारे रामचन्द्र गुहाको वृत्तान्त ‘द कुकिङ अफ बुक्स’मा।

१९ बैशाख २०८३
अ+
अ-

अंग्रेजी भाषामा लेख्ने समकालीन भारतका लेखकहरूको पंक्तिमा एउटा ओजिलो नाम हो, रामचन्द्र गुहा। वन्यस्रोतमाथि स्थानीय किसान र राज्यबीचको द्वन्द्वबारे समाजशास्त्रीय अध्ययनमा विद्यावारिधि गरे पनि उनले आफ्नो विशेषज्ञताभन्दा बाहिर धेरै विषयमा लेखेका छन्। उनले महात्मा गान्धीबारे गहिरो अनुसन्धानमूलक जीवनी लेखेका छन्। भारतीय आदिवासीहरूबारे सर्वप्रथम स्थलगत अध्ययन गरेका बेलायती मानवशास्त्री भेरियर इल्भिनको जीवनी लेखेका छन्। कुनै बेलाका क्रिकेटर उनले भारतका र भारतबाहिरका क्रिकेटरहरूको समाजशास्त्रीय शोधमा आधारित कृति लेखेका छन्। नियमित अखबारी स्तम्भ लेख्ने उनलाई पाठकले पढिरहेका हुन्छन्, खोजिरहेका हुन्छन्। मोदी नेतृत्वको भाजपा सरकारको कटु आलोचना गर्दै उनले लेख्दै आएका लेखहरू संसारका लागि भारतीय राजनीतिको आयतन नाप्ने कसी बन्दै आएको छ।

गुहालाई जति धेरै मानिसले चिन्छन्, त्यति नै कम मानिसले रुकुन आडवाणीलाई चिन्छन्। आडवाणी आफैँ पनि लेखक हुन्, तर उनी मूलतः सम्पादक हुन्। उनी गुहाका धेरैजसो पुस्तकका सम्पादक हुन्। औपचारिक रूपमा सम्पादक नै नभए पनि गुहाले लेख्ने सबैजसो लेख र पुस्तकका उनी प्रथम समीक्षक हुन्। गुहालाई चिन्नु र आडवाणीलाई नचिन्नु चलचित्रका नायक-नायिकालाई चिन्नु तर पर्दापछाडिका चलचित्रकर्मीलाई नचिन्नु जस्तै हो। पुस्तकको आवरणमा गुहाको नाम आउँछ, सामान्यतः लेखकलाई नै केन्द्रमा राखेर पुस्तकको चर्चा-परिचर्चा हुन्छ, पुस्तकको ब्लर्बमा लेखककै तस्बिर छापिन्छ, त्यसैले पाठकले उनैलाई चिन्छन्। तर, एउटा गुनिलो पुस्तक तयार पार्न दिनरात एक बनाउने आडवाणीहरू चुपचाप आफ्नो कर्ममा लागिरहेका हुन्छन्।

गुहाले धेरै विषयमा कलम चलाउने जोखिम लिएका छन्। राजनीतिदेखि समाजशास्त्र, क्रिकेटदेखि पर्यावरणसम्म उनले अनुसन्धानमूलक कृति लेखेका छन्। त्यसले उनलाई सुपरिचित लेखक बनायो। तर, उनी आफ्ना सबै पुस्तकका प्रारम्भिक खाका कोर्नेदेखि प्रकाशनपछि तिनका केस्राकेस्रा केलाउने चरणसम्म चुपचाप भूमिका खेल्ने सम्पादक रुकुन आडवाणीलाई रानीखेतको जंगलकै छायामा ओझेल पार्न राजी भएनन्। त्यसैले गुहाले उनै प्रिय सम्पादकसँगको आफ्नो लेखक-सम्पादक सम्बन्धमा आधारित पुस्तक लेखे, द कुकिङ अफ बुक्स, अ लिटरेरी मेमोइर

धन्य कोभिडकाल

कोभिडकालको सम्झना कसैलाई पनि मीठो नहोला। भय र अनिश्चयको तरबारमुनि बस्नु परेको क्षण अब कहिल्यै नदोहोरियोस्, सबैको कामना। यद्यपि, सिर्जनशील मानिसहरूले भने त्यो उकुसमुकुसको समयलाई पनि रचनात्मक बनाउन छोडेनन्। कतिले तनाव र अनिश्चयबीच धेरै समयदेखि कोठामा थन्किएका पुस्तकका ठेली पढिभ्याए भने लेखकहरूले यही मौकामा सामान्य परिस्थितिमा लेख्न उति ध्यान नदिइने विषयमा लेखे। कोभिडकालको सन्त्रास जतिसुकै नमीठो भए पनि त्यस अवधिमा गरिएका रचनात्मक कार्य भने कालो बादल वरपर चाँदीको घेरा जस्तै बनेको छ। फलतः हिजोआज पनि नवप्रकाशित धेरै पुस्तकमा कोभिडकालमा लेखेको भनी लेखकीय आउने क्रम रोकिएको छैन।

संग्रहालय र पुस्तकालयका कोठामा पुराना स्रोत र फाइलबाट धुलो टकटकाउँदै अनुसन्धानमूलक कृति लेख्ने बानी परेका गुहा जस्ता लेखकका लागि दैलो पनि नाघ्न नपाउने उर्दी कति कष्टप्रद थियो होला।

संग्रहालय र पुस्तकालयका कोठामा पुराना स्रोत र फाइलबाट धुलो टकटकाउँदै अनुसन्धानमूलक कृति लेख्ने बानी परेका गुहा जस्ता लेखकका लागि दैलो पनि नाघ्न नपाउने उर्दी कति कष्टप्रद थियो होला। त्यही कष्ट केही हलुका बनाउन कलमजीवी गुहाले कोठाभित्रै कुनै विषय फलेको छ कि भनी खोज्न थाल्नु किमार्थ आश्चर्य होइन। पुराना बहीखाता खोतल्दै जाँदा उनलाई लाग्यो, आफ्नो ४० वर्ष लामो लेखकीय यात्राका क्रममा आडवाणीसँग भएका पत्राचार, इमेल आदानप्रदानलाई खाँबो बनाएर एक जना लेखक र सम्पादकबीचको सम्बन्धका बहुआयामबारे लेख्न सके एउटा गतिलो पुस्तक बन्नेछ। गुहाको यही सिर्जनशील सोचाइले जन्माएको हो, द कुकिङ अफ बुक्स

कोभिड अब इतिहास बन्यो। तर, गुहाको जाँगरले इतिहास बन्दै गरेको लेखक र सम्पादकबीचको एउटा सम्बन्धको अभिलेखन भएको छ। अनि गुहा र आडवाणीबीच चार दशकको लेखन यात्राको वर्णन गर्दै गर्दा समकालीन भारतको पुस्तक लेखन, सम्पादन र प्रकाशनका अनेकन् कुनाकाप्चा खोतलिएको छ।

सेन्ट स्टेफनियन्सहरूको गठजोड

दिल्लीकै सबभन्दा पुरानो सेन्ट स्टेफन कलेजका सिनियर र जुनियर आडवाणी र गुहाबीच कलेज पढ्दाताका सामान्य परिचय मात्र थियो। अंग्रेजी साहित्यका धुरन्धर आडवाणी अन्तर्मुखी स्वभावका थिए। त्यसकारण उनको साँघुरो मित्रमण्डलीमा क्रिकेट खेल्न सेन्ट स्टेफन कलेज भर्ना भएका फरासिला गुहा अटाउन गाह्रै थियो। सिनियर त्यसमाथि अंग्रेजी साहित्य र पश्चिमा विथोवियन संगीतबाहेक कुरा नगर्ने आडवाणीसँग गुहा एकाध पटक धक मानेर अगाडि परेकोबाहेक एकै कलेजका विद्यार्थी भएर पनि भविष्यका यी दुई सहकर्मी कलेजमा उस्तो नजिक थिएनन्। यो थियो सन् १९७४ आसपासको कुरा। सन् १९७८ मा स्नातकोत्तरको पढाइ सकेर आडवाणी क्याम्ब्रिज विश्वविद्यालयमा ईएम फोस्टरको गैरआख्यानमा विद्यावारिधि गर्न गए। त्यही समयतिर गुहा अर्थशास्त्र छोडेर समाजशास्त्रतिर हाम फालिसकेका थिए। उनी भारतकै इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम)बाट समाजशास्त्रीय कोणबाट पर्यावरणमा विद्यावारिधिको शोध गर्नतिर लागे।

लेखनमा हास्यविनोद र ठट्टा गरिरहने आडवाणी गुहाका कमजोरीलाई उस्तै पेचिलो मजाक बनाएर घोच्ने गर्थे। अनि त्यस्ता आलोचनाले नै गुहालाई दोहोर्‍याएर आत्मसमीक्षा गराउँथ्यो।

दुई भिन्न भिन्न भँगाला बनिसकेका गुहा र आडवाणीलाई दुवैको प्राज्ञिक कर्मले एकै बिन्दुमा भेट गरायो, सन् १९८० को दशकमा। विद्यावारिधिपछि आडवाणी अक्सफोर्ड विश्वविद्यालय प्रेस (ओयूपी)को भारत शाखाका सम्पादकको जागिरे भए। त्यही बेला एक जना ‘कमन फ्रेन्ड’ को भोजमा गुहासँग भएको भेटबाट पुनर्योग भएको एक उदाउँदा लेखक र आफूलाई अब्बल प्रमाणित गर्न जोडबल लगाइरहेका सम्पादकबीचको सम्बन्धले आगतका चार दशकमा भारतीय बौद्धिक क्षेत्रमा राम्रै कमान्ड जमाइरह्यो। समाजशास्त्र, सवाल्टर्न स्टडिज, राजनीति, इतिहास आदि क्षेत्रमा यी दुईमध्ये एक जनाको लेखन र अर्कोको सम्पादनले लगातार भरिला पुस्तक प्रकाशन भइरहे।

सेन्ट स्टेफन कलेज आफ्नो लामो इतिहासको कारण मात्र होइन, त्यसले जन्माएका प्रतिष्ठित नामहरू गुहा, आडवाणी, शशी थरुर, अमिताभ घोष, रवि दयाल आदिले पनि त्यसलाई प्रतिष्ठित बनाएका छन्। गुहा र आडवाणीबीच ४० वर्षको सहकार्यको चर्चाबीच धेरै पटक कुनै न कुनै बेला त्यस कलेजका विद्यार्थीहरूका नाम आइरहेका हुन्छन्। त्यसकारण पुस्तक पढ्दा भारतीय बौद्धिक वृत्तमा सेन्ट स्टेफन कलेजको प्रभाव पाठकलाई राम्रै अनुभव हुन्छ।

सम्पादक-लेखक सम्बन्ध

कुनै पनि गुनिलो पुस्तक प्रकाशनमा एक्लो लेखकको मात्र विज्ञता र लेखन शिल्प पुग्दो हुँदैन। जसरी एक सफल मानिसको पछाडि धेरै मानिस टेको बनेर उभिएका हुन्छन्, त्यसरी नै एक सफल लेखकका पछाडि धेरै ज्ञाता र सिपालु मानिसहरू हुन्छन्। एक अर्थमा पुस्तक लेखन एक्लो यात्रा नभई धेरै मानिसको सामूहिक सहकार्य हो जहाँ लेखकको भूमिका कतिबेला एउटा माध्यम मात्र हुने गर्छ। रामचन्द्र गुहा समकालीन भारतमा धेरै पाठकले खोज्ने र पढ्ने नाम हो। त्यस अर्थमा उनी एक सफल लेखक हुन्। यद्यपि, उनको यो सफलता उनी एक्लैको यात्राको फल पक्कै होइन। गुहाको पार्श्वमा उनका आधार बनेर उभिने मानिसहरूमध्ये रुकुन आडवाणी पनि हुन्।

आडवाणीको सिपालु सम्पादनमा उनको पहिलो पुस्तक अनक्वाइट उड ओयूपीबाट प्रकाशन भयो। लेखनको हुटहुटी बोकेका गुहा अनेकथरी विषयमा पुस्तक लेखन र प्रकाशनका प्रस्ताव लिएर ओयूपी भारत शाखाको कार्यालयमा जान्थे। आफ्नो सम्पादन कलाले ओयूपीलाई सफलताको उकालोमा डोर्‍याइरहेका आडवाणी उनका प्रस्तावलाई हौस्याउँथे। लेखनमा हास्यविनोद र ठट्टा गरिरहने आडवाणी गुहाका कमजोरीलाई उस्तै पेचिलो मजाक बनाएर घोच्ने गर्थे। अनि त्यस्ता आलोचनाले नै गुहालाई दोहोर्‍याएर आत्मसमीक्षा गराउँथ्यो। त्यसले उनका कृतिलाई थप शक्तिशाली बनाउन भूमिका खेलेको गुहाले पुस्तकमा धेरै ठाउँमा लेखेका छन्। उनीहरूबीचको यस्ता अन्तरक्रियाले सुरुको एकथरी प्रकाशन प्रस्ताव अन्तिममा गएर अझ परिपक्व अर्को प्रस्ताव बनेका दृष्टान्त पनि छन्।

विचार र चिन्तन गर्ने मानिसहरूबीच सधैँ एकमत खोज्न जरुरी हुँदैन। चिन्तन गर्ने क्षमता भएकैले मानिसहरूबीच विमति हुन्छन्।

विचार र चिन्तन गर्ने मानिसहरूबीच सधैँ एकमत खोज्न जरुरी हुँदैन। चिन्तन गर्ने क्षमता भएकैले मानिसहरूबीच विमति हुन्छन्। चिन्तन र विचारकै उचाइमा उभिने लेखक र सम्पादकहरूबीच सबै विषयमा एकमत र सहमति खोज्नु सर्वथा गलत हो। गुहा र आडवाणीबीच पनि यस्ता अनेकन् मतान्तर र वैचारिक बेमेलका विषय आइरहन्छन्। घोचेर लेख्न मज्जा मान्ने आडवाणी गुहालाई यस्तै घोचपेचको शैलीमा पत्राचार गरिरहन्छन्, इमेलको जवाफ फर्काइरहन्छन्। अनि त्यस्ता घोचपेच गुहाका लागि आफ्ना लेखनीमा धार लगाउने सानपाते ढुंगो बन्छ।

आफ्नी श्रीमती तथा उस्तै अब्बल कोटिकी सम्पादक अनुराधा रोयलाई उनको विशिष्टताअनुसारको जिम्मेवारी नदिई अर्कै शाखामा सरुवा गरेको विषयमा ओयूपीको जागिर छोडेर आफ्नै प्रकाशन पर्मानेन्ट ब्ल्याक खोलेपछि आडवाणी दम्पती उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने रानीखेतमा बसाइँ सर्छन्। दिल्लीको व्यस्त सहरी जीवन चटक्क त्यागेर रानीखेतको स्याल हिँड्ने जंगलछेउ कटेरोमा बसेर आडवाणी पर्मानेन्ट ब्ल्याक प्रकाशन चलाउँछन्। उसै पनि मानिससँग कम घुलमिल हुने आडवाणी मानिसको पातलो बस्ती भएको क्षेत्रमा बसाइँ सर्दा उनीसँग हिँड्न घरमा पालेको कुकुर मात्र हुन्छ। तथापि, भौगोलिक रूपमा जति टाढा भए पनि गुहा उनलाई केही न केही लेखिरहन्छन् अनि केही न केही पठाएर सुझाव मागिरहन्छन्।

आडवाणीले छोडेसँगै ओयूपीको पुस्तक प्रकाशनको उचाइ घटेपछि गुहा पनि अर्कै विकल्पतिर लाग्छन्। केही पुस्तक पर्मानेन्ट ब्ल्याकबाट छाप्छन् भने केही अरू नै प्रकाशनबाट। जुनै प्रकाशकबाट पुस्तक प्रकाशित भए पनि आडवाणी गुहाका खास सम्पादक हुन्।

कुकिङ अफ बुक्स सम्पादक र लेखकबीचको पेसागत सम्बन्धबाट सुरु भई वैचारिक सामीप्य हुँदै व्यक्तिगत मानवीय सम्बन्धमा टुंगिएको पुस्तक हो।

पेसागत सहकार्यबाट सुरु भएको यी दुई कलमजीवीको सम्बन्ध आज एकअर्कासँगको व्यक्तिगत आत्मीयतामा पुगेको छ। एकअर्काको कठिन परिस्थितिमा दुवैले आपसमा सहयोग गरेका छन् र ऊर्जाको भूमिका खेलेका छन्। तर, रानीखेतको जंगलमा सम्पादनको तपस्या गरिरहेका आडवाणीलाई उनी जस्ता छन् त्यस्तै रहन दिने र त्यहाँबाट अन्यत्र जान हौस्याएर उनको खास विशिष्टतालाई नबिथोल्ने निष्कर्षसहित सन् २०१९ मा आडवाणी कटेरोबाट फर्कन्छन्। त्यो उनीप्रति गुहाको आत्मीयताको उचाइ थियो।

कुकिङ अफ बुक्स सम्पादक र लेखकबीचको पेसागत सम्बन्धबाट सुरु भई वैचारिक सामीप्य हुँदै व्यक्तिगत मानवीय सम्बन्धमा टुंगिएको पुस्तक हो। मानिसलाई भन्दा अरू प्राणीलाई विश्वास गर्ने आडवाणीलाई समाजसँग संवाद गरिरहने गुहाले मानवीय भावना नै नभएको एकोहोरो मान्छे ठानेका थिए। तर, पुस्तकको बिसौनीतिर त्यस्ता प्रसंगको चर्चा गरेका छन् जसले आडवाणीको एकान्तप्रेमभित्र शीतकालीन निद्रा (हाइबरनेसन)मा रहेको सामाजिक मानवीय भावनालाई प्रकाशित गर्छ।

पछिल्ला वर्षहरूमा पुस्तक प्रकाशनले व्यावसायिक लय समात्न थालेको नेपालका लेखक र सम्पादकहरूका लागि द कुकिङ अफ बुक्स पठनीय पुस्तक हुन सक्छ। यसले हाम्रो प्रकाशन क्षेत्रले अझै देख्न बाँकी तर भविष्यमा क्रमशः देखिने अवस्थाको पूर्वअन्दाज गर्न मद्दत गर्नेछ। नेपालमा अधिकांश प्रकाशकको भूमिका पुस्तक छापिदिने साहुजीमा मात्र सीमित छ। भविष्यमा यो अवस्थामा क्रमशः सुधार हुँदै जाने पक्का छ, किनभने बाटो अब उतैतिर मोडिइसकेको छ। पुस्तकका लागि भाषाको शुद्धि हेर्ने मानिसलाई नै सम्पादक भनिन्छ भन्ने परिभाषा अब बदलिने क्रममा छ। द कुकिङ अफ द बुक्स पढेपछि यतातिरको दौड अझ गतिवान् हुने अपेक्षा गर्न सकिन्छ।