फोटो कथा
परिवर्तित समयका साक्षी बनेको दुई तस्बिर
थापाथली क्षेत्रको बागमती किनारस्थित बस्तीले नाम पाएको थियो– सुकुम्बासी बस्ती। होचा घरटहराको बाहुल्य भए पनि बस्ती आफ्नै लयमा गुलजार थियो। सहरका अग्ला भवन र अपार्टमेन्टहरूले छेलिएका कारण भित्री दृश्य कमैको आँखामा पर्थ्यो।
उचाइबाट बस्ती कस्तो देखिएला भन्ने जिज्ञासाले ललितपुरको कुपन्डोलस्थित रिओ अपार्टमेन्टबाट कैद गरिएको थियो– यो पहिलो तस्बिर। १९ पुस २०६८ मा खिचिएको तस्बिर नेपाली टाइम्सको अंक ५८६ मा प्रकाशित छ।

१९ पुष २०६८ मा खिचिएको तस्बिर।
त्यसको पाँच हजार २३७ दिन अर्थात् झन्डै साढे १४ वर्षपछि, २२ वैशाख २०८३ मा सोही अपार्टमेन्टमा पुगेर दोस्रो तस्बिर खिच्दा दृश्य मात्र होइन, देशको राजनीति र परिस्थितिमा युगान्तकारी परिवर्तन भइसकेको छ। त्यसैले यी दुई तस्बिर दृश्य मात्र होइनन्, परिवर्तित समयका साक्षी पनि हुन्।
२१ फागुन २०८२ को आमनिर्वाचनबाट वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने अभियानले तीव्रता पायो।
सरकारी आँकडाअनुसार हालसम्म काठमाडौँका १९ वटा बस्ती खाली गरिएका छन्। २१ वैशाखसम्म दुई हजार ६८६ घरटहरा डोजर प्रयोग गरी भत्काइएका छन् भने १५ हजार ३१६ जनालाई स्थानान्तरण गरिएको छ।

२२ वैशाख २०८३ मा खिचिएको तस्बिर।
सुकुम्बासीहरूलाई प्राकृतिक विपद्बाट जोगाउन बस्ती खाली गरिएको सरकारी दाबी त छ, तर उनीहरूको दीर्घकालीन व्यवस्थापनको खाका अझै स्पष्ट छैन। बल प्रयोग गरेर बस्ती खाली गराएपछि सरकारले स्थापना गरेको ‘होल्डिङ सेन्टर’ मा आश्रय लिइरहेका भूमिहीन नागरिकहरूमा कतै अलपत्र परिने त होइन भन्ने त्रास फैलिएको छ। बस्ती उजाडिए पनि उनीहरूको मनबाट आशा मरेको छैन। उनीहरू अहिले आफ्नो व्यवस्थापन र नयाँ जीवन झल्काउने ‘तेस्रो तस्बिर’ कुरिरहेका छन्।