बातचित
कलाको काम मानिसको आत्मामा दिनहुँ जम्ने धुलो सफा गर्नु हो।
राज शेखर बलिउडका वर्तमान समयका सफल र लोकप्रिय गीतकार हुन्। ‘पहेले भी मै’, ‘यूँ ही’, ‘जाने दे’, ‘ऐसे क्यूँ’, ‘पापा मेरी जान’, ‘घनी बावरी’, ‘रंगरेज मेरे’, ‘तुम हो तो’, ‘तबाही’ लगायत उनका दर्जनौँ गीत भारतमा जस्तै नेपाली स्रोताले समेत रुचाएका छन्। बलिउडका अग्रज तथा समकालीन धेरै गायक-गायिका र संगीतकारसँग काम गरिसकेका राज शेखरको करिअर थप सफलतातर्फ उन्मुख छ।
पछिल्लो समय भारतीय सिनेमाले महिला, अल्पसंख्यक र सामाजिक विविधताको कथा भन्ने अभ्यास फराकिलो बनाएसँगै गीतमा पनि ती पात्रका विषय र दृष्टिकोण अभिव्यक्त भइरहेको मत राख्ने राज शेखर गत साता काठमाडौँमा सम्पन्न काठमाडौँ कलिंग साहित्य महोत्सवमा सहभागी भएका थिए। प्रस्तुत छ, उनै राज शेखरसँग बलिउडको गीत लेखन, साहित्य र सिनेमाबारे नेपालन्युजका लागि प्रभाकर गौतमले गरेको बातचित :
दोस्रो पटक काठमाडौँ आउनुभएको छ। यो सहर कस्तो लागिरहेछ?
काठमाडौँ पहिलो पटक (सन् २०२२)मै मन परेको सहर हो। यहाँको मौसम, हावापानी र मान्छेहरूको आत्मीय व्यवहारबाट प्रभावित भएको थिएँ। तर, पशुपतिनाथ, स्वयम्भू जस्ता ठाउँ पुगेको थिइनँ। भक्तपुर र पाटन दरबार स्क्वायर जस्ता ठाउँ घुम्न पाएको थिइनँ। यसपटक ती ठाउँ पुगेँ। भक्तपुर र पाटनमा कति मजाले पुरानो इतिहास जोगाएर राखिएको रहेछ। ती पृथक् ठाउँमा हाँस्दै, खाँदै, फोटो खिच्दै निर्धक्क बसेका मान्छेका गतिविधि कति जीवन्त!
काठमाडौँको विशेषता खाना पनि रहेछ भन्ने अनुभूत गर्न पाएँ। मम पहिल्यै चाखेको थिएँ, यसपालि थकाली खाना, चटामरी र नेवारी परिकारहरू चाख्ने मौका मिल्यो। चटामरी निकै मिठो लाग्यो। नेपाली टमाटरको अचार खुब स्वादिलो। मलाई एउटा नेपाली शब्द खास मन पर्यो– हजुर। कति आत्मीय, कति मिठो!
यो सहरसँग पहिलाभन्दा अझै बढी प्रेममा परेको छु। काठमाडौँमा अझै धेरै कुरा ‘एक्सप्लोर’ गर्न बाँकी छ। भविष्यमा यहाँको संगीत र कला-साहित्यसँग जोडिएर सहकार्य गर्ने मेरो चाहना हो।
नेपाल-भारत सीमा जोडिएको राज्य बिहारमा जन्मिनुभएको तपाईं हुर्कंदै गर्दा नेपाललाई कसरी चिन्नुभएको थियो?
हो, मेरो जन्मथलो मधेपुरा, बिहार नेपाली सीमानजिकैको गाउँ हो। रेडियो आकाशवाणीबाट बज्ने गीतहरू सुनेर हुर्किएँ। अलि पछि, गाउँमा टेलिभिजन आयो। हाम्रो गाउँमा नेपाल टेलिभिजनसमेत टिप्थ्यो, यसका लागि नेपालको दिशातिर एन्टेना घुमाउनुपर्थ्यो। नेपाल टेलिभिजनबाट रामायण प्रसारण हुन्थ्यो। नेपाली च्यानलमा आउने कार्यक्रमबाहेक विज्ञापनसमेत रोचक लाग्थ्यो। त्यतिबेला ‘आरए आरए रारा, मिठो भन्छन् सारा’ भन्ने विज्ञापन आउँथ्यो।
स्कुलबाट भागेर भाइसँग करजाइन हुँदै जब म राजबिराज बजार पुगेँ, त्यतिबेला मैले रारा चाउचाउसमेत किनेको थिएँ। नेपालबाट हरियो रंगको एउटा स्कुल ब्याग, गोल्डस्टार जुत्ता, हिरो पेन आदि किनेको स्मृति अझै ताजा छ।

राज शेखर। तस्बिर : प्रभाकर गौतम
नेपालको कुरा गर्दा, दरबार हत्याकाण्डको खबर सुनेर हाम्रो गाउँ नै शोकमा परेको पनि सम्झन्छु म। राजपरिवारका सदस्यलाई हामीले चिनेका थिएनौँ, तर त्यस घटनाले सीमापारका मानिसहरूलाई समेत निकै दुःखी बनाएको थियो। सीमावर्ती क्षेत्रमा हुर्किएकाले भौगोलिक सांस्कृतिक समानता थियो। त्यहीबेलादेखि नेपाललाई मैले कहिल्यै पराइ भूमिका रूपमा हेरिनँ।
धेरै पटक विराटनगर, काँकडभिट्टाजस्ता ठाउँ पुगेकै थिएँ। अहिले साहित्य महोत्सवमा सहभागी हुन काठमाडौँ आउने मौका मिलिरहेको छ। नेपाल र नेपालीलाई अझै नजिकबाट चिन्न पाएको छु। यो ठाउँ र यहाँका मान्छेहरूको आत्मीय व्यवहारले पहिलाभन्दा अझै प्रभावित बनाएको छ।
आजको बलिउडको नामी गीतकार हुनुहुन्छ। सानैदेखि गीतकार/लेखक बन्न चाहनुहुन्थ्यो? बिहारबाट भागलपुर हुँदै दिल्ली युनिभर्सिटीमा र त्यसपछि मुम्बई नगरी जाने बेला जीवनमा के बन्ने सोच/सपना थियो?
आमबिहारी जसरी मेरा अभिभावकको चाहना पनि मलाई इन्जिनियरिङ वा मेडिकल पढाउने थियो। नभए छोराले कम्तीमा यूपीएससीसम्म गरोस् भन्ने चाहना थियो। तर, म मानविकी पढ्न दिल्ली युनिभर्सिटी पुगेँ। धेरै स्पष्ट उद्देश्य नभए पनि सिनेमाले आकर्षित गरेको थियो। त्यही रुचिले होम डेलिभरीमा क्लापर थिएँ। त्यसपछि तनु वेड्स मनु फिल्ममा सहायक निर्देशकका रूपमा काम गरेँ। तर, दिल्लीबाट मुम्बई जाँदासम्म मलाई थाहा थिएन– म किन मुम्बई आएँ?
त्यतिबेलासम्म तपाईंभित्रको गीतकार कता थियो?
कविताहरू त लेख्थेँ। तर, मभित्रको गीतकार जन्मेकै थिएन।
काठमाडौँको विशेषता खाना पनि रहेछ भन्ने अनुभूत गर्न पाएँ। मम पहिल्यै चाखेको थिएँ, यसपालि थकाली खाना, चटामरी र नेवारी परिकारहरू चाख्ने मौका मिल्यो। चटामरी निकै मिठो लाग्यो। नेपाली टमाटरको अचार खुब स्वादिलो। मलाई एउटा नेपाली शब्द खास मन पर्यो– हजुर। कति आत्मीय, कति मिठो!
त्यसैले तपाईंले आफूलाई ‘एक्सिडेन्टल’ गीतकार भन्नुभएको?
हो, मैले गीतकार बन्ने योजना बनाएको थिइनँ। सायद गीतले भने मलाई पछ्याइरहेको थियो। कहिलेकाहीँ हामी हिँड्दाहिँड्दै नसोचेको गन्तव्यमा पुग्छौँ। मेरो जीवनमा पनि त्यस्तै भयो।
तनु वेड्स मनुमा सहायक निर्देशकका रूपमा काम गरिरहेको थिएँ। त्यही फिल्मका लागि मैले डमी लिरिक्स लेख्नुपर्ने परिस्थिति आयो। निर्देशकलाई मन परेपछि त्यही गीत फाइनल भयो।
पहिलो फिल्मकै ‘यूँ ही’, रंगरेज मेरे’ जस्ता गीत हिट भए। त्यो सफलताको अनुभव कस्तो रह्यो?
खासमा म एकदम खराब सहायक थिएँ। आफूलाई प्रमाणित गर्न गाह्रो भइरहेको समयमा गीत चलेपछि मैले खोजिरहेको कुरा प्राप्त भएको महसुस गरेँ।

राज शेखर। तस्बिर : शेखरको फेसबुक
अचानक मानिसहरूले चिन्ने, कुरा गर्ने र प्रतिक्रिया दिने क्रम सुरु भयो। त्यतिबेला पहिलो पटक लाग्यो– यो त साँच्चै सुन्दर काम रहेछ। किनभने, प्रतिक्रिया यस्तो आयो कि म लोभिएँ। रमाएँ। धेरै केटीहरूको प्रशंसासमेत पाइरहेको थिएँ।
सफलताले कहिलेकाहीँ मानिसलाई आफ्नो वास्तविक चाहना देखाइदिन्छ। मलाई पनि त्यही भयो। गीत लेख्नु अब सोख नभई प्यासन बन्यो।
गीतकारका रूपमा छुट्टै पहिचान बनाउने यात्रा कति कठिन रह्यो?
आजको समयमा गीतकारका रूपमा छुट्टै परिचय बनाउनु सजिलो छैन। विशेषगरी फिल्म उद्योगमा दर्शकहरूले प्रायः अभिनेता वा गायकलाई बढी सम्झन्छन्, तर गीतकारको नाम धेरैलाई थाहा हुँदैन।
तर, म आफूलाई भाग्यमानी ठान्छु। राम्रो निर्देशक, उत्कृष्ट लेखक र बलिया पात्रहरूका लागि गीत लेख्ने अवसर पाएँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यस्ता संगीतकारहरू भेटिए जसले शब्दको अर्थ र भावनालाई सम्मान गरे। अनि दर्शक-श्रोताले मेरा गीतलाई प्रेम गरे। समय त लाग्छ, तर जब श्रोताले तपाईंको सिर्जना स्वीकार्छन्, त्यो अत्यन्त सन्तोषजनक अनुभव हुन्छ।
बलिउडमा गीत हिट हुनुले के अर्थ राख्दो रहेछ?
धेरैलाई लाग्दो हो, राजशेखरको पहिलो फिल्मका गीतहरू हिट भए, सबै सजिलो भयो। तर, मेरो वास्तविक संघर्ष त्यसपछि सुरु भयो। पहिलो फिल्मपछि लगातार तीन वर्षसम्म गीतकारका रूपमा मैले खासै काम पाइनँ।
तनु वेड्स मनुका गीत हिट हुनुअघि सहायक निर्देशकका रूपमा गाली खाइरहेको थिएँ। काम बनिरहेको थिएन। गीत हिट भएपछि ६ महिना यति धेरै प्रतिक्रिया आए कि म फुर्किएँ। ठूल्ठूला मिडिया, साहित्य महोत्सवमा निम्तो आयो। केटीहरूको प्रतिक्रिया त कति हो कति। म त्यसमा रमाएँ। किनकि, सबै राम्रो भइरहेको थियो। जहाँ गए पनि आफ्नै गीत बजिरहेको हुन्थ्यो। रेडियोमा, टेलिभिजनमा, कार्यक्रममा, सडकमा। त्यो नाम, चर्चा सबै ६ महिनामै हरायो। पैसा पनि सकियो, मान्छेले सोधपुछ गर्न पनि छोडे। टेलिभिजनका लागि काम गर्दा पनि गीत नै लेख्नुपर्छ भन्नेमा स्पष्ट थिएँ।
गीतको भाषा समयसँगै बदलिन्छ। आजको युवा जसरी बोल्छ, उसको प्रेम, उसको पीडा, उसको सपना जस्तो छ, गीतमा त्यसको प्रतिध्वनि आउनुपर्छ। यदि आज पनि ५० वर्षअघिकै भाषामा लेख्न खोज्यौँ भने त्यो कृत्रिम हुन्छ।
त्यसपछि टेलिभिजनका लागि संवाद लेखेर गुजारा चलाउन थालेँ। तर, त्यतिबेला स्पष्ट भइसकेको थिएँ, अब मैले गीतकार नै भएर काम गर्ने हो। किनकि, गीतले दिलाएको चर्चाले मलाई लोभ्याइसकेको थियो।
तीन वर्षको अवधिले के सिकायो?
सफलता क्षणिक हुन्छ भन्ने पाठ त्यही तीन वर्षले सिकायो। त्यस समयले मलाई जमिनमा उभिन सिकायो। अवार्ड पाउने सपना देख्थेँ। एउटा समय त अवार्डका लागि लुगा नै सिलाएर राखेको थिएँ। तर, मनोनयनमा समेत परेन। केही समयको निराशापछि बुझेँ– अवार्ड, प्रसिद्धि र प्रशंसा सबै अस्थायी हुन्। आज छ, भोलि नहुन सक्छ। त्यसैले अब कुनै पनि उपलब्धिलाई स्थायी सत्य मान्दिनँ।
अहिले प्रशंसा, लोकप्रियता वा पुरस्कारप्रति अत्यधिक मोह राख्दिनँ। तीन वर्षले मलाई धेरै परिपक्व बनायो।
आफूलाई आकस्मिक गीतकार त भन्नुभयो, तर तपाईंको शब्दशिल्पले मास र क्लास दुवैलाई आकर्षित गरिरहेको देखिन्छ। तपाईंको लेखनमा अग्रज गीतकार वा साहित्यकारहरूको प्रभाव पनि छ कि?
म हुर्किएको ग्रामीण समाजलाई बुझ्न मैले फणीश्वरनाथ रेणुलाई पढेँ। प्रेमचन्दको लेखनबाट म बढी प्रभावित छु। गाउँमा हुर्किएकाले उनका पात्र, उनीहरूको संघर्ष, गरिबी, सपना र जीवनका कथा मलाई आफ्नै वरिपरिको संसारजस्तै लाग्थे।
सूर्यकान्त त्रिपाठी निराला, कबीर, आमिर खुसरो जस्ता कविहरूले मेरो सोचलाई फराकिलो बनाए। चिलीका कवि पाब्लो नेरुदाले गहिरो प्रभाव पारे।

राज शेखर। तस्बिर : प्रभाकर गौतम
गीतकारहरूमा शैलेन्द्र, मजरूह सुल्तानपुरी, गुलजार जस्ता स्रष्टाका रचना पछ्याएँ। तर, म आफूलाई कसैको प्रभावमा बनेको लेखक भन्न चाहन्नँ। म उनीहरूलाई गुरुका रूपमा भन्दा पनि पाठक र श्रोताका रूपमा प्रेम गर्छु। उनीहरूको काम मन पर्छ, त्यसबाट आनन्द लिन्छु। मेरो लेखनमा उनीहरूको प्रभाव कति छ भन्ने निर्णय त पाठकले गर्ने कुरा हो।
ती लेखकले मलाई साहित्य केवल सुन्दर भाषा नभई मानिसको अनुभूति, समय र समाजलाई इमानदारीपूर्वक अभिव्यक्त गर्नु हो भन्ने बुझाए।
म गीत लेख्न सिक्नका लागि मात्र पढ्दिनँ, संसार बुझ्नका लागि पढ्छु। किनभने, गीत अन्ततः जीवनकै अनुभवबाट आउँछ। तपाईंको अनुभवको दायरा साँघुरो भए लेखनको दायरा पनि साँघुरै हुन्छ, जति फराकिलो अध्ययन छ लेखनमा पनि त्यति नै गहिराइ भेटिन्छ।
तपाईंको गीत लेखन प्रक्रिया के हो? गीत रेकर्डिङ हुँदासम्म तपाईंको उपस्थिति र भूमिका कति हुन्छ?
फिल्मका लागि लेख्ने सन्दर्भमा, म सबैभन्दा पहिले पात्रबारे सोच्छु। चरित्रलाई नजिकबाट महसुस गरियो भने पात्र र लेखकबीचको दूरी घट्छ। गीत मेरो होइन, पात्रको हुनुपर्छ। म आफैँ पात्र बनिदिन्छु, क्षणिक समयका लागि नै किन नहोस्। नाटकमा काम गरेकाले पनि मलाई चरित्र महसुस गर्न रमाइलो लाग्छ।
पात्र को हो? उसले कस्तो महसुस गरिरहेको छ? उसको सामाजिक पृष्ठभूमि के हो? उसको लवज र लय कस्तो छ? सबै बुझ्न खोज्छु।
पटकथा पढेर पात्रको उमेर, मनोदशा र मनोभाव बुझ्छु। त्यसपछि पात्रले भन्न चाहेको वा व्यक्त गर्न नसकिरहेको कुरा गीतमार्फत कसरी अभिव्यक्त गर्ने सोच्छु। गीतकारका रूपमा मेरो सबैभन्दा ठूलो जिम्मेवारी यही हो।
नेपालमा पनि लेखक र गीतकारहरूको संस्थागत सशक्तीकरण आवश्यक छ। सिनेमा बलियो हुन लेखक बलियो हुनुपर्छ। कथा बलियो हुनुपर्छ। गीत बलियो हुनुपर्छ।
धेरैले सोध्छन्– गीत पहिले लेखिन्छ कि पहिला धुन बन्छ? कहिलेकाहीँ धुन पहिले आउँछ, कहिले शब्द। कहिलेकाहीँ एउटा वाक्यांशले पूरा गीत जन्माउँछ। कहिलेकाहीँ महिनौँसम्म केही आउँदैन। अचानक कुनै बस यात्रा, कुनै चिया पसल, कुनै संवाद वा कुनै स्मृतिबाट गीत जन्मिरहेको हुन्छ। म जहिल्यै नोटबुक बोकेर हिँड्छु। मोबाइलमा पनि टिपोट गर्छु। मानिसहरू कसरी बोल्छन्, कुन शब्द प्रयोग गर्छन्, कस्तो भाव व्यक्त गर्छन्, म त्यसमा ध्यान दिन्छु। कला आखिर जीवनकै नक्कल न हो।
धुनमा गीत लेख्दा २० देखि ५० पटकसम्म दोहोर्याएर सुन्छु। म रेकर्डिङदेखि मिक्सिङसम्मै उपस्थित हुन्छु। आवश्यकताअनुसार मेरो निर्देशक, संगीतकार र गायक गायिकासँग संवाद हुन्छ। गायक-गायिकाले शब्दको सही उच्चारण गरिरहेका छन् कि छैनन्? भाव सही छ कि छैन भन्ने कुरामा ध्यान दिन्छु। ध्वनिदेखि दृश्यको अर्थसम्म गीतकारका रूपमा जोडिन्छु।
एउटा अर्थपूर्ण गीत बन्न शब्दको भूमिका कति हुन्छ?
गीत बन्ने प्रक्रियाबारे धेरैमा भ्रम देखिन्छ। कतिपय मानिस धुनलाई गीतको केन्द्र मान्छन्। म पनि मान्छु, धुन अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर, धुनले भावना दिन्छ भने शब्दले त्यसलाई शरीर दिन्छ। धुन अमूर्त हुन्छ, शब्द मूर्त हुन्छ। तर, मेरो अनुभवमा धुन भावना हो भने शब्द त्यसको शरीर हो। धुनले मुड वा वातावरण दिन्छ, तर शब्दले अर्थ दिन्छ। त्यसैले गीतकारको मुख्य काम भावनालाई दिशा दिनु हो।
तपाईंका प्रिय गीतकार शैलेन्द्रको बेलादेखि वर्तमान समयसम्म आइपुग्दा प्रविधिलगायत कारणले गीत-संगीतमा धेरै कुरा बदलिएको छ। तपाईंले देखेको परिवर्तन के हो?
सबैभन्दा ठूलो परिवर्तन भाषा नै हो। समाजको भाषा बदलिएको छ र त्योसँगै गीतको भाषा पनि बदलिएको छ। यो स्वाभाविक प्रक्रिया हो। आजको युवा जसरी आफूलाई अभिव्यक्त गर्छन्, जसरी संवाद गर्छन्, गीतमा पनि त्यही भाषा आउनुपर्छ। त्यो आइरहेको पनि छ।
मलाई लाग्छ, गीतको भाषा समयसँगै बदलिन्छ। आजको युवा जसरी बोल्छ, उसको प्रेम, उसको पीडा, उसको सपना जस्तो छ, गीतमा त्यसको प्रतिध्वनि आउनुपर्छ। यदि आज पनि ५० वर्षअघिकै भाषामा लेख्न खोज्यौँ भने त्यो कृत्रिम हुन्छ। त्यसैले म सरल भाषालाई कमजोरी मान्दिनँ। सरल लेख्नु झन् कठिन काम हो। मानिसको हृदयसम्म पुग्ने भाषा प्रायः सरल नै हुन्छ।

संगीतकार अमित त्रिवेदीसँग (दायाँ) राज शेखर। तस्बिर : शेखरको फेसबुक
आजको संगीत उद्योगमा प्रविधिले धेरै कुरा बदलेको छ। पहिले सबै जना एउटै स्टुडियोमा भेला हुन्थे। अहिले गायक अमेरिका, संगीतकार चेन्नई र गीतकार मुम्बईमा बसेर पनि गीत बन्न सक्छ। यसले सुविधा त दिएको छ, तर केही कुरा हराएका पनि छन्। गीतको गहिरो अर्थ प्रत्यक्ष संवादमा जति राम्रोसँग बुझिन्छ, कहिलेकाहीँ टाढाबाट पठाइएका फाइलहरूमा त्यो कुरा छुट्छ।
बलिउड परिवर्तनको चरणमा छ। पहिलेभन्दा अहिले विविध कथामा फिल्म बनिरहेका छन्, जसमा साना सहरका कथाहरू आउँछन्, महिलाका दृष्टिकोणबाट कथाहरू भनिन्छन्, पहिला नआएका नयाँ सामाजिक विषयहरू समेटिँदै छन्। त्यसैले गीतकारलाई समेत नयाँ चुनौतीहरू थपिएका छन्।
पहिला पनि प्रेमका गीत हुन्थे। अहिले पनि प्रेम छ, तर प्रेम मात्र छैन। सम्बन्ध, पहिचान, स्वतन्त्रता, मानसिक स्वास्थ्य, महिलाको अधिकार, परिवारभित्रका जटिल सम्बन्ध जस्ता धेरै विषय गीतमा प्रवेश गरिरहेका छन्। यी परिवर्तन स्वाभाविक छन्।
बलिउडका गीत पहिले र अहिले पनि उत्तिकै लोकप्रिय छन्। यसको मुख्य विशेषता के हो?
परिवर्तनका बाबजुद बलिउड र समग्र भारतमै एउटा कुरा भने स्थायी छ, गीतको प्रभाव। आज पनि एउटा राम्रो गीतले मानिसको मन छुन्छ। आज पनि मानिस आफ्नो प्रेम, पीडा, आशा, निराशा, उत्साह र एक्लोपनलाई गीतमार्फत अभिव्यक्त गर्छन्। सबै मानिस गम्भीर साहित्य पढ्न सक्दैनन्। सबैसँग समय पनि हुँदैन। तर, एउटा गीत तीनचार मिनेटमै मानिसको मनभित्र पस्छ। त्यसैले मलाई लाग्छ, आजको फिल्मी गीत नै आधुनिक लोकगीत हो। यसले आममानिसका दैनिक जीवनका प्रेम, पीडा, आशा, निराशा र उत्सव सबै खालका भावनालाई बोकेर हिँड्छ। यही कारणले पुस्तौँपुस्तासम्म यसको लोकप्रियता कायम छ।
तर, वर्तमान समयमा गीतको स्तर घट्यो, शब्द कमजोर भए, पुराना गीत जस्तो जादु रहेन भन्ने आरोप बढी सुनिन्छ? के यो साँँचो हो?
म यसलाई अलि फरक ढंगले हेर्छु। हरेक पुस्तामा अघिल्लो पुस्तालाई महान् र आफ्नो समयलाई संकटग्रस्त देख्ने बानी हुन्छ। आज पनि असाध्यै राम्रा काम भइरहेका छन्। फरक यत्ति हो कि माध्यम धेरै भए। पहिले सय गीत बन्थे, आज हजारौँ बन्छन्। त्यसैले कमजोर गीत पनि धेरै देखिन्छन्। तर, आज पनि राम्रा गीत प्रशस्तै बनिरहेका छन्।
व्यवसाय र कला-साहित्यबिच सन्तुलन मिलाउँदै बलिउडको प्रतिस्पर्धात्मक माहोलमा अर्थपूर्ण गीत सिर्जना गर्ने चुनौती के छन्?
लेख्ने बेलामा म फिल्मका लागि लेख्दै छु भनेर सोच्दिनँ। मलाई लाग्छ, गीत मनोरञ्जन मात्र होइन, जिम्मेवारी पनि हो। यसमा म सधैँ सचेत छु।
सामाजिक चेतना सधैँ नारामार्फत आउँदैन। कहिलेकाहीँ प्रेमगीतभित्र पनि आउँछ। उदाहरणका लागि, मेरो ‘यूँ ही’ प्रेमिकाको अस्वीकारलाई सम्मान गर्ने गीत हो। यो पनि समाजका लागि महत्त्वपूर्ण सन्देश हो भन्ने लाग्छ।
आसमाँ उँचा है मेरा, तु ही छू लेना
मेरे सारे सपने तेरे, तू ही जी लेना
साँढ की आँखको आशा भोसलेले गाएको आसमाँ पनि त्यस्तै गीत हो, जसले छोरी मान्छेलाई स्वतन्त्र भएर जिउन उत्प्रेरित गर्छ।

स्वर्गीय गायिका आशा भोसलेसँग राज शेखर। तस्बिर : शेखरको फेसबुक
यी केही उदाहरण हुन्। बलिउडको व्यावसायिक संसारभित्र पनि अर्थपूर्ण लेखनको स्पेस यसरी नै खोज्छु म। सायद अरू गीतकारले पनि यसरी नै काम गरिरहेका छन्।
गीतले आममानिससँग संवाद गर्छ। गीतमार्फत सोझै भाषण गर्न सकिन्न। तर, प्रश्न छेड्न वा संवेदना जगाउन सकिन्छ।
मलाई आफ्ना गीतहरूले मानिसको जीवनमा पुर्याएको प्रभाव देख्दा कहिलेकाहीँ आश्चर्य लाग्छ। एकदिन अमेरिकाबाट एक जना बुवाले सन्देश पठाए। उनका छोरा मानसिक समस्यासँग जुधिरेहका रहेछन्। बेलाबेला चिच्याउने, सामान फुटाउने ती छोरा मेरो गीत सुनेपछि शान्त हुन्थे रे! गीतको शब्दअर्थबारे कुरा गर्थे रे!
उनको सन्देश पढेर म लामो समय मौन बसेको थिएँ। त्यसले मलाई गीतको शक्तिलाई नयाँ ढंगले बुझ्न सिकायो। त्यसपछि म झन् सजग हुन थालेँ– मेरा गीतमा अनावश्यक अश्लीलता त छैन? हिंसालाई बढावा दिने कुरा त छैन? मानिसलाई गलत दिशामा लैजाने सन्देश त छैन?
म चर्चित हुन, पैसा कमाउन वा आत्मसन्तुष्टिका लागि लेख्दिनँ। म यस्ता सबै पक्षमा ध्यान दिन्छु। किनकि, गीत लाखौँ मानिससम्म पुग्छ। पाब्लो पिकासोको एउटा भनाइ छ— कलाको काम भनेको हाम्रो आत्मामा दिनहुँ जम्ने धुलो सफा गर्नु हो। मलाई लाग्छ– गीतको काम पनि त्यही हो। त्यसैले म आफूलाई कुनै ठूलो कलाकारका रूपमा होइन, कथाहरू सुनाउने एक साधारण मानिसका रूपमा हेर्छु। आज पनि जब नयाँ गीत लेख्न बस्छु, यसले मेरो गीत सुन्ने मानिसको जीवनमा केही क्षणको उज्यालो थप्न सक्छ कि सक्दैन भन्ने प्रश्न गर्छु।
म केवल राम्रो गीत लेखिरहन चाहन्छु। जिज्ञासु रहन सकूँ। संसारलाई हेर्ने संवेदनशीलता हराउन नदिऊँ। र, किसान परिवारबाट आएको मेरो जमीनसँगको सम्बन्ध कहिल्यै नटुटोस्। मेरा गीतलाई मानिसहरूले आफ्नो जीवनसँग जोड्न सकून्। कसैले १० वर्षपछि सुन्दा पनि त्यसमा आफ्नो कथा भेटाउन्।
एनिमल, सैय्यारा जस्ता ब्लकबस्टर फिल्मका गीतहरू लेखेपछि तपाईंको लोकप्रियता थप चुलिएको छ। अवार्डहरू पनि थापिरहनुभएको छ। गीतकारका रूपमा तपाईंका योजना र सपना के हुन्?
भारतीय फिल्म उद्योगमा एक पटक चलेर मात्र पुग्दैन। एउटा सफल गीतले अर्को सफल गीतको ग्यारेन्टी दिँदैन। प्रत्येक नयाँ गीत फेरि शून्यबाट सुरु गर्नुपर्छ।
आज म जहाँ छु, यो यात्रामा एक्लो भने थिइनँ। उत्कृष्ट निर्देशकहरू भेटेँ, जसले राम्रो कथा सुनाए। सिर्जनशील लेखकहरू पाएँ, जसले जीवन्त पात्र सिर्जना गरे। अब्बल संगीतकारहरू मिले, जसले मेरा शब्दहरूको आत्मालाई जोगाए। र, सबैभन्दा महत्त्वपूर्ण, मलाई असाध्यै माया गर्ने श्रोता र दर्शक पाएँ। उनीहरूले मेरा गीतलाई आफ्नो जीवनको हिस्सा बनाए। त्यसैले मलाई लाग्छ, सफलता कहिल्यै एक व्यक्तिको उपलब्धि मात्र हुँदैन।

हिन्दी चलचित्र ‘एनिमल’ को टोलीसँग राज शेखर(दायाँबाट अग्रपंत्तिको दोस्रो)। तस्बिर : शेखरको फेसबुक पेज
बलिउडका उत्कृष्ट गायकगायिकासँग काम गर्ने मेरो सपना पूरा भइसकेको छ। अरिजित सिंह, श्रेया घोषाल, सोनु निगम, विशाल मिश्रा, आशा भोसले जस्ता दिग्गजसँग काम गर्ने अवसर पाएँ। समय फर्काउन मिल्थ्यो भने मोहम्मद रफी र लता मंगेशकरका लागि गीत लेख्थेँ।
मसँग केही सपना थिए, जस्तै कि रणवीर कपूरका लागि गीत लेख्ने। अब म चाहन्छु, कुनै दिन शाहरूख खानमाथि छायांकन हुने गीत लेखूँ। शाहरूखको गीतमा आवाज म्युट गरेर धेरै पटक मैले आफ्ना शब्द गुनगुनाएको छु।
म अहिले भारतीय चलचित्र लेखक संघको महासचिवका रूपमा पनि काम गरिरहेको छु। शैलेन्द्र, साहिर, मजरूह, ख्वाजा अहमद अब्बास जस्ता महान् स्रष्टाहरू आबद्ध रहेको संस्थाको जिम्मेवारी सम्हाल्नु मेरा लागि गर्वकै कुरा हो। हामी विभिन्न भारतीय भाषाका लेखकहरूको अधिकार र हितका लागि काम गर्छौं।
मलाई लाग्छ, नेपालमा पनि लेखक र गीतकारहरूको संस्थागत सशक्तीकरण आवश्यक छ। सिनेमा बलियो हुन लेखक बलियो हुनुपर्छ। कथा बलियो हुनुपर्छ। गीत बलियो हुनुपर्छ।