काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा आज चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्।
नेपाल र चीनबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार (जेठ २९ गते) विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक जानकारी गराएको थियो।
“परराष्ट्रमन्त्री शिशिर खनालले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा जेठ ३१ गतदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्रले भनेको छ।
मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने छन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ।
खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम छ। उनले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिने छन्। सो सम्मेलनमा उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रममा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। चीन भ्रमण पूरा गरी उनी असार ३ गते काठमाडौं फर्कने कार्यक्रम छ।