जग्गा हडपेर धम्की दिएपछि महिलाले गरिन् आत्महत्या, धर्नामा पीडित परिवार
विराटनगर। विराटनगर १४‚ महतो टोलकी ५३ वर्षीया शान्तिदेवी महतोले आइतबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा देहत्याग गरिन्।
परिवारका अनुसार उनको यो आत्मघाती निर्णयको पछाडि कुनै घरायसी कारण नभई मिटरब्याजीको चर्को मानसिक तनाव र वर्षौंदेखिको सम्पत्ति हडपिने चिन्ता मुख्य कारक छ।
मिटरब्याजकै कारण शान्तिदेवीले ज्यान गुमाउनुपरेको भन्दै न्यायका लागि पीडित परिवार र छिमेकीहरू सोमबार जिल्ला प्रशासन कार्यालय मोरङको मूल गेटमा धर्ना बसे। उनीहरूले मिटरब्याजीलाई कारबाही र हडपिएको जग्गा फिर्ताको माग गरेका छन्।

आत्महत्या दुरुसाहन मुद्दामा जाहेरी दिन भेला भएका मृतकका आफन्त।
मृतकका पति भोला महतोका अनुसार शान्तिदेवीले ९ वर्षअघि सोही ठाउँका नारायण महतोसँग एक लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण दिने सर्तमा नारायणले शान्तिदेवीको नाममा रहेको १० धुर जग्गा आफ्नो नाममा पास गराएका थिए। “हामीले पटक-पटक गरी सावा र ब्याजसहित चार लाख ५० हजार रुपैयाँ तिरिसक्यौँ,” भोलाले भने, “तर पैसा बुझिसक्दा पनि उनले जग्गा फिर्ता गर्न मानेनन्। उल्टै हामीमाथि नै अदालतमा मुद्दा हाले।”
पीडित परिवारका अनुसार शनिबार मात्रै नारायण महतो र उनका छोरा अमनकुमार गुप्ता घरमै पुगेर जग्गा खाली गर्न भन्दै चरम मानसिक यातना दिएका थिए। “शनिबार उनीहरूले आएर धम्क्याए, भोलिपल्टै श्रीमतीले यो पीडा सहन नसकेर संसार छाडिन्,” भोलाले थपे, “उनीहरूले त्यसरी धम्की नदिएको भए मेरो श्रीमतीले यस्तो बाटो रोज्ने थिइनन्।”
महतो परिवारको सहाराका रूपमा रहेको त्यही १० धुर जग्गा पनि मिटरब्याजीले कब्जा गरेपछि अहिले चार छोराछोरीको बिचल्ली भएको छ। छिमेकीका अनुसार महतो परिवार विपन्न भएकै कारण मिटरब्याजीले उनीहरूको सम्पत्तिमा आँखा गाडेका हुन्।

यसैबीच मृतकका परिवारले नारायण महतो र उनका छोरा अमनविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा किटानी जाहेरी दर्ता गरेका छन्। जाहेरी परेपछि प्रहरीले बाबु-छोरालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटुवालले जानकारी दिए।
आत्महत्या दुरुसाहन मुद्दामा म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए। “घटना के हो ? प्रहरीले अनुसन्धान सुरु गरेको छ,” उनले भने।
