काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

सेयरबजार

१४.४५ अंकले घटेको नेप्से २६६०.०२ विन्दुमा अडियो

१० असार २०८३
अ+
अ-

काठमाडौँ। नेप्सेको ओरालो यात्रा रोकिएको छैन। साताको तेस्रो कारोबार दिन आज (बुधबार) पनि नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १४.४५ अंकले घटेको हो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा थोरै बढेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.५४ प्रतिशतले घट्दै नेप्से २६६०.०२ विन्दुमा रोकिएको छ। मंगलबार नेप्से २६.१६ अंकले घटेको थियो। सोमबार भने १.४६ अंकले घटेको थियो।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि २.६० अंकले घटेर ४५८.८८ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.५६ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.५३ र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.५३ प्रतिशतले नै घटेको छ।

सेयरबजारमा बुधबार ३३८ कम्पनीको ७२ हजार ९१७ पटकको कारोबारमा एक करोड सात लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार चार अर्ब ४१ करोड ८६ लाख सात हजार ४८६ रुपैयाँको कारोबार भयो। मंगलबार चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको कारोबार भएको थियो। सोमबार भने चार अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ६२ कम्पनीका मात्र सेयरमूल्य बढे। २०२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बुधबार) १३ समूहको कारोबार भएकामा फाइनान्स र व्यापार समूहको सूचक मात्र बढ्दा बाँकी ११ समूहका सूचक राताम्मे बने।

जसअनुसार बुधबार वाणिज्य बैंक ०.४८ र विकास बैंक समूहको सूचक ०.५७ प्रतिशतले घट्यो भने फाइनान्स समूहको उपसूचक ०.१९ प्रतिशतले बढेको छ।

यस्तै होटेल तथा पर्यटन ०.६२‚ जलविद्युत् ०.६२‚ लगानी ०.३२‚ जीवन बिमा ०.४६‚ उत्पादन तथा प्रशोधन १.१०‚ लघुवित्त ०.३८‚ म्युचुअल फन्ड ०.४४‚ निर्जीवन बिमा ०.६४ र अन्य समूहको सूचक १.०२ प्रतिशतले घट्यो। व्यापार समूहको उपसूचक भने ०.८१ प्रतिशले बढ्यो।

नेप्सेमा बुधबार टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् यी दुई कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। सोपान फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले भने ५.०५ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार यसको २९ करोड ६२ लाख ३३ हजार २६९ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी धनवृद्धि योजना (म्युचुअल फन्ड) अगाडि रह्यो। बुधबार यसको नौ लाख ६ हजार ७०० युनिट सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतियुनिट १०.९५ रुपैयाँ कायम रह्यो।