काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार निकै आक्रोशित देखिए। रिपब्लिकन सिनेटरहरूसँगको बैठकपछि लुजियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले राष्ट्रपतिको मनोदशाबारे टिप्पणी गर्दै भने, ‘उनी मर्डर हर्निट जत्तिकै रिसाएका थिए।’

बैठकमा सहभागीहरूका अनुसार ट्रम्प आफ्नै पार्टीका सदस्यहरूप्रति गुनासोहरूको लामो सूची बोकेर क्यापिटल हिल पुगेका थिए।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको जितका लागि महत्त्वपूर्ण मानिएको मतदानसम्बन्धी नयाँ प्रतिबन्ध लगाउने विधेयक पारित गराउन पार्टी असफल भएकोमा उनले असन्तुष्टि व्यक्त गरे। साथै, उनले वर्षौँ पुराना कानुनी विवादहरूबारे आक्रोश पोखे, सिनेटको ‘फिलिबस्टर’ (बहस लम्ब्याउने नियम) हटाउन रिपब्लिकनहरूले अस्वीकार गरेकोमा गुनासो गरे र रोकिएका न्यायिक नियुक्तिहरू अगाडि बढाउन सिनेटरहरूलाई दबाब दिए।

तर, उनलाई सबैभन्दा बढी क्रुद्ध बनाउने विषय भने आफ्नै पार्टी रिपब्लिकनको नियन्त्रण रहेको सिनेटबाट इरान युद्धविरूद्ध प्रस्ताव पास हुनु हो । अघिल्लो दिन पार्टी निर्णयविपरीत प्रस्तावको पक्षमा मतदान गरेका चार रिपब्लिकन सिनेटर थिए । डेमोक्र्याटले ल्याएको उक्त प्रस्तावले राष्ट्रपतिलाई इरानविरुद्धको सैन्य कारबाही जारी राख्न वा रोक्नुअघि संसद्को अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

चार रिपब्लिकन सिनेटरको समर्थनपछि प्रस्तावमा मतदान हुँदा युद्ध रोक्नुपर्ने प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । यसलाई ट्रम्पका लागि ठूलो झट्काको रूपमा हेरिएको छ ।

ट्रम्पको युद्ध व्यवस्थापनमाथि दुवै दलका सांसदहरूको दुर्लभ संयुक्त आलोचना प्रस्तुत भएपद्धि आक्रोशित भएका थिए । ‘कुनै व्यक्तिले युद्ध अधिकार ऐनको पक्षमा किन मतदान गर्छ ?’ ट्रम्पले आक्रोशित हुँदै प्रश्न गरे।

क्यासिडी र अन्य सहभागीहरूका अनुसार राष्ट्रपतिले आफूलाई प्रश्न गरिएको मन पराएनन् र संवाद चाँडै भनाभन तथा चिच्याहाटमा परिणत भयो। केही क्षणका लागि सिनेटरहरू मौन बने। त्यसपछि गत महिना ट्रम्प समर्थित उम्मेदवारसँग प्राथमिक निर्वाचनमा पराजित भएका लुजियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले राष्ट्रपतिको युद्ध व्यवस्थापन शैली र संसद्लाई पर्याप्त जानकारी नदिएको विषयमा कडा आलोचना गरे।

‘म उभिएर भनेँ, ‘तपाईंले अमेरिकी जनतालाई त्यहाँ वास्तवमा के भइरहेको छ भनेर बताउनुभएको छैन,’ क्यासिडीले पछि सम्झिए, ‘यो चार हप्ता चल्ने भनिएको थियो, तर चार महिना बितिसक्यो। सुरुवाती उद्देश्यहरू अझै पूरा भएका छैनन् । म त्यहाँ वास्तवमा के भइरहेको छ भन्ने जान्न चाहन्छु।’

युद्ध अधिकार प्रस्तावको पक्षमा मतदान गर्ने चार रिपब्लिकनमध्ये एक रहेका क्यासिडीले यस विषयमा आफ्नो असन्तुष्टि झन् बढेको बताए। उनका अनुसार ट्रम्पले संसद्को अनुमतिबिना सञ्चालन गरिरहेको द्वन्द्वबारे सिनेटरहरूले अहिलेसम्म कुनै विस्तृत ब्रिफिङ पाएका छैनन्।

क्यासिडी र अन्य सहभागीहरूका अनुसार राष्ट्रपतिले आफूलाई प्रश्न गरिएको मन पराएनन् र संवाद चाँडै भनाभन तथा चिच्याहाटमा परिणत भयो।

‘तपाईं चुनाव हार्नुभयो,’ ट्रम्पले क्यासिडीलाई लक्षित गर्दै चिच्याए र उनलाई ‘लुजर’ भने।

दुवैबीच तिखो वादविवाद भयो।‘यदि कसैले मलाई धम्क्याउन खोज्छ भने म त्यो सहेर बस्नेवाला छैन,’ क्यासिडीले पछि भने।

उनले थपे, ‘राष्ट्रपतिसामु उभिँदा म माफी माग्दिनँ। म राष्ट्रपतिसँग कुरा गरिरहेको भए पनि वास्तवमा अमेरिकी जनताको पक्षमा बोलिरहेको छु ।’

ट्रम्पको आक्रोश केवल एउटा मतदानको परिणाम थिएन । राजनीति र नीतिगत विषयलाई लिएर उनी र सिनेटका रिपब्लिकनहरूबीच हप्तौँदेखि तनाव बढ्दै आएको थियो।

बुधबारको बैठकअघि नै राष्ट्रपतिले एउटा प्रमुख द्विदलीय आवाससम्बन्धी विधेयकको हस्ताक्षर समारोह अचानक रद्द गरिदिएका थिए। रिपब्लिकन नेताहरूले मध्यावधि निर्वाचनअघि महँगी नियन्त्रणका प्रयासलाई उजागर गर्ने अवसरका रूपमा यसलाई हेरेका थिए, तर ट्रम्पको निर्णयले त्यो योजना विफल बनायो।