काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

ललितपुर। ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा गत ५ असारमा पुष्टि भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणउन्मुख बनेको छ।

चिडियाखाना प्रशासनका अनुसार सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु भाइरस नियन्त्रणका लागि निरन्तर औषधि छर्किने, जीवजन्तु राखिएका स्थानको सरसफाइ गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। उनले पछिल्लो परीक्षणका आधारमा १२ असारयता चिडियाखानाभित्र बर्डफ्लुको नयाँ सङ्क्रमण नदेखिएको जानकारी दिए।

सङ्क्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्डफ्लु नियन्त्रण अध्ययन समितिसमेत गठन गरिएको छ। समितिले केही दिनभित्र विस्तृत प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा विज्ञको सुझाव लिएपछि अहिले बन्द रहेको चिडियाखाना कहिलेदेखि सर्वसाधारणका लागि पुनः सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गरिने कोइरालाको भनाइ छ।

पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्डफ्लुको जोखिम अझै कायम रहेको जनाएको छ। विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा बर्डफ्लु तीव्र रूपमा फैलिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ।

चिडियाखाना प्रशासनले जीवजन्तुको सुरक्षा र सर्वसाधारणको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक सबै सावधानी अपनाइरहेको जनाएको छ। हाल चिडियाखाना बन्द रहे पनि सङ्क्रमण नियन्त्रणको अवस्था सकारात्मक देखिएकाले विज्ञहरूको प्रतिवेदनपछि पुनः सञ्चालनबारे अन्तिम निर्णय गरिने बताइएको छ।