जनकपुर। नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महतोलाई महोत्तरीको गौशाला नगरपालिका ५ मा रहेको एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको हो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ।
उच्च अदालत जनकपुरले हिजो (बुधबार) जिल्ला अदालत महोत्तरीको फैसला उल्टी भई पाँच वर्ष कैद सजाय ठहर गरेपछि प्रहरीले उनलाई आज (बिहीबार) पक्राउ गरेको हो। हिजो उच्च अदालत जनकपुरले मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय र रामशंकर मिश्रको हकमा पाँच वर्षको कैद सजाय सुनाएको थियो।
मधेस आन्दोलनका क्रममा २५ असोज २०७२ मा महोत्तरीको जलेश्वर नगरपालिका ४ स्थित संसारिमाई हटिया बजार लाग्ने ठाउँमा प्रहरी असई थमन विकलाई प्रदीप साह माझी, सञ्जयकुमार साह समेतकाले बाँस, भाटासमेतले प्रहार हत्या गरेका थिए। सख्त घाइते थमनको जलेश्वरस्थित महोत्तरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर लैजाने क्रममा बाटोमै मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, अभिराम शर्मासमेतले हत्या गरेको आरोप थियो।
त्यस्तै उच्च अदालतले कोइरी र पवन कापरलाई पाँच वर्षको कैद फैसला सुनाएको थियो। जिल्ला अदालत महोत्तरीले उनीहरूलाई सफाइ दिएको थियो। प्रदीप माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ। जिल्लाले उनीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो।