काठमाडौँ। अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकपको इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। केप भर्डेविरुद्धको प्रि–क्वार्टरफाइनल (अन्तिम १६) खेलमा गोल गर्दै उनी विश्वकपका लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।
मेसीको लगातार गोल गर्ने यात्रा सन् २०२२ को विश्वकपबाट सुरु भएको थियो। उनले अष्ट्रेलियाविरुद्ध गोल गर्दै शृंखला प्रारम्भ गरेका थिए। त्यसपछि नेदरल्यान्ड्सविरुद्ध एक गोल र एक असिस्ट, क्रोएसियाविरुद्ध एक गोल र एक असिस्ट तथा फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए।
सन् २०२६ विश्वकपमा पनि उनको उत्कृष्ट लय कायम रह्यो। उनले अल्जेरियाविरुद्ध ह्याट्रिक, अष्ट्रियाविरुद्ध दुई गोल, जोर्डनविरुद्ध एक गोल र केप भर्डेविरुद्ध थप एक गोल गर्दै लगातार आठ विश्वकप खेलमा गोल गर्ने दुर्लभ उपलब्धि हासिल गरे।
केप भर्डेविरुद्धको गोलसँगै मेसीले विश्वकपमा आफ्नो व्यक्तिगत गोलसंख्या २० पुर्याएका छन्। यससँगै उनी २०२६ विश्वकपको गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा पुगेका छन्।
३९ वर्षीय मेसीले उमेरसँगै पनि आफ्नो प्रदर्शनलाई निरन्तर उच्च स्तरमा कायम राख्दै विश्व फुटबलमा नयाँ–नयाँ कीर्तिमान थपिरहेका छन्। लगातार आठ विश्वकप खेलमा गोल गर्ने उनको उपलब्धिलाई आधुनिक फुटबल इतिहासकै सबैभन्दा दुर्लभ व्यक्तिगत कीर्तिमानमध्ये एकका रूपमा हेरिएको छ।