दमक। जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन्।
नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हुँदै आएको दाबी गरेको छ। इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन्। तर, झन्डै आधाले दर्ता अनुमतिबिनानै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको जानकारी दिए।
दमकमा करिब ९०, विर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन्। दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन्। भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो।