दृष्टिकोण
फुर्वालाई सम्झँदा मलाई एउटा प्रश्नले सताउँछ। यदि म उसको ठाउँमा जन्मिएको भए? मेरो मातृभाषा नेपाली नभएको भए? मेरो घर पनि तीन घण्टा उकालो भएको भए? मैले पनि किताबसँगै घरका सामान बोक्नुपरेको भए? के आज म यो ठाउँमा हुन्थेँ?
कुनै समय मलाई लाग्थ्यो, म सामान्य परिवारमा जन्मिएँ। सरकारी स्कुल पढेँ। मिहिनेत गरेँ, त्यसैले त परीक्षामा राम्रो नम्बर ल्याउन सफल भएँ।
मलाई कहिल्यै लागेन, स्कुलको घण्टी घरबाटै सुनिनु सुविधा हो। नेपाली मातृभाषा हुनु जन्मसिद्ध लाभ हो। मैले कहिल्यै सोचिनँ, शिक्षक र साथीहरू मेरो नेपाली उच्चारणमा नहाँस्नु सामान्य कुरा होइन। मलाई कहिल्यै लागेन, विद्यालयबाट घर फर्किंदा किताबबाहेक अरू केही बोक्न नपर्नु सबैका लागि समान अनुभव होइन।
भर्खरै पढेको एउटा पुस्तक जसले मलाई यसरी रन्थनायो कि आफैँसँग प्रश्न गर्न थालेँ– जीवनमा जे जति पाएँ, ती सबै साँच्चै मैले कमाएकी थिएँ कि तीमध्ये अधिकांश कुरा जन्मिँदै पाएकी थिएँ?
सञ्जीव उप्रेतीको पुस्तक संरचनात्मक लाभांशले मलाई आफ्नो जीवन पुनः पढ्न लगायो। म आफ्नो किशोरकालतिर फर्किएँ।
मेरो गाउँ रामेछाप, नामाडी। घरनजिकै सानोतिनो बजार थियो। स्कुल पढ्दाको काम भनेको बिहान उठ्ने, खाना खाने, झोला बोक्ने र घरसँगै जोडिएको स्कुल जाने। दिउँसो ब्रेकमा एकलटको खाजा खाने। बेलुका फर्किंदा अर्को लट खाजा मलाई कुरिरहेको हुने। त्यतिबेला बिहानदेखि बेलुकासम्म पढ्नु, पढ्नु र पढ्नु नै मेरो सबैभन्दा ठूलो जिम्मेवारी थियो।
कक्षामा एक जना साथी थियो– फुर्वा तामाङ। तामाङ उसको मातृभाषा। पढ्दा ऊ नेपाली शब्दहरूसँग अड्किन्थ्यो। मलाई लाग्थ्यो, आज पनि उसले राम्रो तयारी गरेन। उसको ध्यानै छैन पढाइमा।
सबै मिलेर उसलाई जिस्क्याउँथे– ओए फुर्वा, राम स्कुल जान्छिन् कि जान्छ? सीता स्कुल जान्छ कि जान्छिन्?
‘कुकुरलाई आउनुभयो, ज्वाइँलाई आइस् हैन त फुर्वा,’ त्यो ठट्टाले यहाँसम्मको रूप लिन्थ्यो।
यो सुनेर सबै जना हाँस्थे। म पनि हाँसिदिन्थेँ।
गाउँमा तामाङहरूबारे भनाइ थियो– उनीहरू रिसाहा हुन्छन्। खुकुरी बोकेर हिँड्छन्। सबैसँग झगडा गर्छन्।
मैले पनि बाल्यकालदेखि नै यी कुरा स्विकार्दै आएँ। तर, कुनै पनि बच्चा पूर्वाग्रह लिएर जन्मिँदैन रहेछ। पूर्वाग्रह त भाषा जस्तै बाल्यकालदेखि नै सिकाइने कुरा रहेछ। त्यसैले त स्कुलमा हामीले वर्णमाला सिक्यौँ। सँगसँगै मानिसलाई वर्गीकरण गर्ने भाषा पनि जान्यौँ।
हामीलाई त्यहाँ गणित मात्रै सिकाइएन, समाजमा कसको स्थान माथि र कसको तल भन्ने हिसाब गर्न पनि लगाइयो। हामीले इतिहास पढ्यौँ। तर, इतिहासमा भएका संरचनात्मक हिंसाबारे पढेनौँ, पढाइएन। तिनलाई बुझ्न मलाई धेरै वर्ष लाग्यो।
फुर्वासँगै श्री कमलादेवी माध्यमिक विद्यालयमा कक्षा १० सम्मको पढाइ सकेर प्लस टु गर्न म काठमाडौँ आएँ। कलेज पढेँ। बाल्यकाल गाउँमै बितेको हुनाले वनपाखा असाध्यै मनपर्ने। काठमाडौँ वरपरका डाँडाकाँडा डुल्न गइरहन्थेँ।
त्यो दिन मैले बुझेँ– भलै हामी एउटै स्कुलमा पढ्थ्यौँ तर हामीले गरेको यात्रा एउटै थिएन। हामी एउटै परीक्षामा बस्थ्यौँ तर हामीलाई दिइएको प्रश्नपत्र एउटै थिएन।
त्यसै सिलसिलामा एकदिन अचानक एउटा विचार उब्जियो– काठमाडौँका डाँडाहरू हरेक हप्ता उक्लिरहेकी छु। तर, आफ्नै गाउँका बाटाहरू नै राम्रोसँग हिँडेकी छैन। स्कुल पढ्दा कोर्सका किताबबाहिरको संसार कस्तो हुन्छ, थाहै भएन।
केही वर्षअघि घर गएको बेला आफ्नै गाउँमा ‘हाइक’ गर्ने भएँ। गाउँको बाटो धेरै टाढासम्म नहिँडेकाले फुपूको साथमा उकालो लागेँ। जति उक्लिँदै गयो, बाटाहरू उति अपरिचित लाग्दै गए। म आफ्नै गाउँमा पर्यटक जस्तै भएकी थिएँ। ठाडो उकालो कहिल्यै सकिएन। एक घण्टा। दुई घण्टा। तीन घण्टा। करिब साढे तीन घण्टा उक्लिएपछि काँडे भन्ने ठाउँ पुगियो। त्यहाँ मैले एउटा परिचित अनुहार देखेँ।
म रोकिएँ। यसो हेरेको उही मेरो स्कुले साथी फुर्वाकी आमा हुनुहुँदो रहेछ।
‘नानीहरू कता जान लागेको?,’ उहाँले सोध्नुभयो।
‘टाट्ने डाँडातिर आमा,’ फुपूले जवाफ फर्काउनुभयो।
‘तपाईं चाहिँ कता जान लाग्नु भयो नि?’ मैले पनि अचम्म मान्दै उहाँलाई सोधेँ।
‘हाम्रो त घरै यतै हो,’ उहाँले मुस्कुराउँदै जवाफ दिनुभयो।
उहाँको उत्तरसँगै किशोरकालमा मैले सोचेको फुर्वा र मबीचको समानताको संसार भत्कियो।
फुर्वा हरेक दिन त्यत्रो बाटो धाएर पो स्कुल आउँदो रहेछ। बेलुका फेरि उही बाटो बजारबाट चामल, नुन र तेलका भारी बोकेर फर्किंदो रहेछ।
अनि म? केही मिनेटमै विद्यालय पुग्थेँ। घर फर्किंदा मसँग किताबको झोला मात्र हुन्थ्यो।
त्यो दिन मैले बुझेँ– भलै हामी एउटै स्कुलमा पढ्थ्यौँ तर हामीले गरेको यात्रा एउटै थिएन। हामी एउटै परीक्षामा बस्थ्यौँ तर हामीलाई दिइएको प्रश्नपत्र एउटै थिएन।
त्यसदिन फुर्वाकी आमासँग भेटेर उकालो लाग्दै गर्दा मनमा अनेक तर्कना आए। मेरो स्मृतिमा फुर्वा सधैँ एउटै कक्षामा पढ्ने सहपाठी मात्रै थियो। तर, त्यसदिन मैले स्कुलका थुप्रै साना साना दृश्यहरू सम्झिन थालेँ।
फुर्वा स्कुलमा ढिला पुग्थ्यो। ऊसँग कापीकिताब हुँदैनथ्यो। सधैँ थाकेको जस्तो देखिन्थ्यो। प्रायः कक्षामा निदाउँथ्यो। त्यतिबेला उसलाई हामी कसैले सोधेनौँ, तिमी किन ढिला भयौ? सधैँ कस्तो थाकेको जस्तो देखिन्छौ? तिमीसँग कापीकिताब किन भएन?
तर, हामीले चाहिँ खुब किताब पढ्यौँ। एउटै कक्षामा बसेर पनि उसको संसार भने कहिल्यै पढेनौँ। किनभने, त्यतिबेला मलाई लाग्थ्यो, विद्यालयमा सबै बराबर हुन्। शिक्षक उही हुन्। किताब उस्तै हुन्। सबैलाई लिने परीक्षा एउटै हो। त्यसैले सबैले पाउने अवसर पनि उही होला।
मसँग अहिले ‘मिहिनेतले यहाँसम्म आइपुगेको हुँ’ भनेर दाबी गर्ने साहस छैन। त्यो मेरो मिहिनेतलाई सम्भव बनाउने त संरचना थियो; जसले मलाई समय दियो, भाषा दियो, नजिकको विद्यालय दियो र आत्मविश्वास दियो। तर, ती सबै कुरा फुर्वालाई बराबरी रूपमा दिएन।
अहिले लाग्छ– त्यो जन्म, भूगोल, भाषा, जात, परिवार र समाजले मलाई दिएको अदृश्य अग्रता थियो। मलाई नेपाली बोल्न आउँथ्यो। त्यो मैले हासिल गरेको उपलब्धि थिएन। मेरो घर स्कुलनजिकै थियो। त्यो मैले कमाएको होइन। शिक्षकले मेरो नेपाली शब्द उच्चारणको खिल्ली उडाएनन्। त्यो मेरो विशेष क्षमता थिएन। म विद्यालय पुग्दा थाक्दिनथेँ। किनभने, मेरो झोलामा किताबबाहेक चामल, नुन वा तेलको भारी हुँदैनथ्यो। यी सबै कुरा मैले रोजेर पाएकी थिइनँ।
म त्यस परिस्थितिमा जन्मिएकी थिएँ, ती सबै कुरालाई सामान्य ठानेकी थिएँ। यो नै संरचनात्मक लाभांशको सबैभन्दा अदृश्य रूप रहेछ। जुन सुविधा हामीलाई सबैभन्दा सामान्य लाग्छ, त्यही सुविधा धेरै मानिसका लागि कहिल्यै उपलब्ध हुँदैनन्। म पनि त्यही सामान्यताभित्र हुर्किएकी थिएँ। सायद संरचनात्मक लाभांश यही हो।
हामी दुवैलाई एउटै प्रश्नपत्र दिइन्थ्यो जसलाई हामीले निष्पक्ष भन्छौँ। वास्तवमा हामी दुवैले परीक्षा सुरु हुनुअघि नै फरक फरक परीक्षा दिइसकेका हुने रहेछौँ। पाठ्यक्रम र परीक्षामा त न उसको भाषा थियो, न उसका चाडपर्वका कथा।
फुर्वाले नेपाली बोल्दा म पनि अरू सँगसँगै लागेर हाँसेँ। सायद कतिपय गल्तीहरू आफ्नै क्रूरताले होइन, भिडसँगै हिँड्दा हुने रहेछन्। लहैलहैमा विभेद पनि पनि ठट्टै लाग्ने रहेछ।
त्यसबेला हामीले उसको उच्चारण सुन्यौँ, नेपाली भाषा कमजोर देख्यौँ। तर, आफ्नो मातृभाषाको संसारबाट अर्को भाषाको संसारमा पाइला चालिरहेको उसको साहस देखेनौँ। हामीले त्यो भिडभित्र एउटा किशोरको आत्मविश्वास बिस्तारै टुटेको देखेनौँ।
त्यसैले पनि होला, ऊ आफ्नो नामभन्दा पनि वर्षौंसम्म रिसाहा (विशेषण)को गह्रुँगो भारी बोकेर विद्यालय आइरह्यो। संरचनात्मक हिंसाले धेरै कुरालाई अदृश्य बनाइदिन्छ। जसले कसैको आक्रोशलाई व्यक्तिगत स्वभावका रूपमा मात्रै बुझ्छ। अधिकांश अवस्थामा ती व्यवहार पुस्तौँदेखि भोग्दै आएको ऐतिहासिक, सामाजिक, राजनीतिक र आर्थिक उत्पीडनका अभिव्यक्ति हुन सक्छन् भनेर बुझ्दैन। त्यो निरन्तर अपमान र बहिष्करण भोगेको समुदायको प्रतिरोध हो भनेर चाल पाउँदैन।
मसँग अहिले ‘मिहिनेतले यहाँसम्म आइपुगेको हुँ’ भनेर दाबी गर्ने साहस छैन। त्यो मेरो मिहिनेतलाई सम्भव बनाउने त संरचना थियो; जसले मलाई समय दियो, भाषा दियो, नजिकको विद्यालय दियो र आत्मविश्वास दियो। तर, ती सबै कुरा फुर्वालाई बराबरी रूपमा दिएन।
फुर्वालाई सम्झँदा मलाई एउटा प्रश्नले सताउँछ। यदि म उसको ठाउँमा जन्मिएको भए, मेरो मातृभाषा नेपाली नभएको भए, मेरो घर पनि तीन घण्टा उकालो माथि भएको भए, म पनि विद्यालय जाँदा किताबसँगै घरका सामान बोक्नुपर्ने भएको भए के आज यो ठाउँमा हुन्थेँ? के म पत्रकारिता पढाइरहेकी हुन्थेँ?
पक्कै हुँदिनथेँ। त्यसैले पनि मसँग अहिले ‘मिहिनेतले यहाँसम्म आइपुगेको हुँ’ भनेर दाबी गर्ने साहस छैन। त्यो मेरो मिहिनेतलाई सम्भव बनाउने त संरचना थियो; जसले मलाई समय दियो, भाषा दियो, नजिकको विद्यालय दियो र आत्मविश्वास दियो। तर, ती सबै कुरा फुर्वालाई बराबरी रूपमा दिएन।
त्यो उकालो चढेर पनि विद्यालय आइरहने, दोस्रो भाषा सिक्दै कक्षामा बसिरहने, उपहास सहेर पनि पढाइ नछाड्ने किशोरप्रति वर्षौंपछि एकखालको सम्मान जागेर आएको छ। मलाई लाग्छ– फुर्वा कमजोर थिएन। उसले धेरै ठूलो भारी बोकेर उही दूरी मसँगै पार गरिरहेको थियो।
हामीले संरचनात्मक हिंसा गर्न दैनिक जीवनबाट, वयस्कहरूका कुराकानीबाट, ठट्टाबाट, धार्मिक व्याख्याबाट, सामाजिक व्यवहारबाट सिक्दै जाने रहेछौँ। र, हामी आफैँ त्यो विभेदको भाषा बोल्न थाल्ने रहेछौँ।
धेरै वर्षसम्म मलाई लाग्थ्यो, समाज बदल्ने काम सरकारको हो, कानुनको हो, विद्यालयको हो। एउटा सामान्य मानिसले के नै गर्न सक्छ र? हामीले बोलेर के नै हुन्छ र? तर, मौनताले पनि धेरै कुरा बोलिरहेको हुने रहेछ। समाज बदलिनु भनेको कसैप्रति गरिएको ठट्टामा नहाँस्ने व्यवहारबाट सुरु हुने रहेछ। कसैले मातृभाषामा बोल्दा उसको खिल्ली नउडाउने चेतनाबाट हुने रहेछ। र, सबैभन्दा मुख्य कुरा आफ्नै विगतसँग इमानदार हुने निर्णयबाट हुने रहेछ।
हामीले संरचनात्मक हिंसा गर्न दैनिक जीवनबाट, वयस्कहरूका कुराकानीबाट, ठट्टाबाट, धार्मिक व्याख्याबाट, सामाजिक व्यवहारबाट सिक्दै जाने रहेछौँ। र, हामी आफैँ त्यो विभेदको भाषा बोल्न थाल्ने रहेछौँ।
फुर्वा, सायद तिमीलाई यो लेखबारे थाहा होला/नहोला। तिमीले यो लेख कहिल्यै पढौला/नपढौला। हुन सक्छ, जीवनले तिमीलाई कतै टाढा पुर्याइसकेको छ। हुन सक्छ, तिमी अझै त्यही पहाडका उकालाहरू उक्लिरहेका छौ।
तर, म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। म तिमीसँग माफी माग्न चाहन्छु। किनभने, यत्रो समय म मौन बसेँ। मैले तिम्रा कठिनाइ देखिनँ। तिम्रो यात्राबारे बुझिनँ। तिम्रो भाषासँगको संघर्ष देखिनँ। तिम्रो थकानलाई महसुस गरिनँ। कहिलेकाहीँ अन्याय गर्ने मानिसभन्दा अन्याय नदेख्ने र मौन बस्ने बढी दोषी हुन्छ। म त्यहीमध्ये एक थिएँ।
फुर्वा, तिमीले मैले जस्तो कुनै लेख लेखेनौ। कक्षाकोठामा कुनै भाषण दिएनौ। तर, आज तिम्रो जीवनलाई सम्झिँदा मैले एउटा किताबबाट सिकेको सबैभन्दा ठूलो पाठ बुझ्न सकेँ। न्याय भनेको सबैलाई एउटै दौडमा उभ्याउनु मात्र होइन रहेछ। उनीहरूले कहाँबाट यात्रा सुरु गरेका थिए भनेर हेर्नु पनि रहेछ। सायद तिमीलाई नभेटेको भए मैले आफ्नो मौनतालाई कहिल्यै प्रश्न गर्ने थिइनँ।
त्यही कारणले यो लेख तिमीसँग मागिएको माफी मात्रै होइन, आफ्नो किशोरकालतर्फको आत्मावलोकन पनि हो। समाजसँग गरिएको संवाद हो। विद्यार्थी र आउने पुस्ताप्रति मैले गरेको वाचा हो। उनीहरूसँग म विभेदको भाषा होइन, प्रश्नबारे संवाद गर्ने प्रयास गर्नेछु। सायद त्यही दिन, फुर्वाहरूका लागि मागिएको यो माफीले साँच्चै अर्थ पाउनेछ।