काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२३ असार २०८३
अर्थमन्त्री स्वर्णिम वाग्ले।
अ+
अ-

काठमाडौँ। संघीय संसद्को दुवै सदनबाट आगामी आव ०८३/८४ बजेट पारित भएको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८३ राष्ट्रिय सभाबाट मंगलबार पारित भएको हो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।

यसअघि विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ। योसँगै संघीय संसद्‌का दुवै सदनबाट बजेट पारित भएको छ।

त्यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारको सयबुँदे कार्यसूचीमध्ये उल्लेख्य मात्रामा अर्थात् ८७.२ प्रतिशत प्रगति हासिल भएको दाबी गरे। उनले आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने बताए।

वाग्लेले राष्ट्रसेवकहरूमा सुशासन र सदाचार प्रवर्द्धनका लागि विभिन्न नीतिगत तथा कानुनी व्यवस्था गरिएको, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, राष्ट्रिय सदाचार नीति २०८३, राष्ट्रिय आरोग्य पर्यटन रणनीति तथा कार्ययोजना, २०८३ तर्जुमा गरिएको बताए। त्यस्तै उनले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न काम भइरहेको बताए। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ भर्खरै संघीय संसद्का दुवै सदनबाट पारित भएको पनि उनले जानकारी दिए।

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले समयबद्ध रणनीति र कार्ययोजनासहित काम गरिरहेको र भविष्यमा पनि हरसम्भव प्रयास गर्ने उनले जानकारी दिए। बैठकले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित गरेको छ।