काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताएकी छन्।
राष्ट्रिय सभा बैठकमा मंगलबार आफ्नो मन्त्रालयमाथिको विनियोजित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अन्तर-मन्त्रालय र अन्तर-तह समन्वयलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रको मनोबल उच्च राख्ने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि मन्त्रालय क्रियाशील रहने बताइन्।
सरकारका विभिन्न मन्त्रालयबीच समन्वय र अन्तर-सम्बन्ध कायम गरी सहज उत्पादन, लगानी तथा व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
उनले ‘लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ तर्जुमा गरी नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको जानकारी दिइन्।
यस रणनीतिले निजी सम्पत्तिको संरक्षण, लगानी संरक्षण र उद्योग प्रतिष्ठानहरूलाई ‘शान्ति क्षेत्र’ का रूपमा स्थापित गर्ने उद्देश्य राखेको उनको भनाइ छ।
त्यस्तै उनले विगतका आन्दोलनका क्रममा भएका क्षतिका कारण बन्द तथा रुग्ण हुन पुगेका उद्योग व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न छुट, सुविधा तथा सहुलियतको व्यवस्था ल्याइने जनाए।
नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि कार्यदल गठन भई प्रतिवेदन तयारीको काम भइरहेको उनले बताए।