काठमाडौं । स्ट्रेट अफ होर्मुजमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप अमेरिकाले इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ।
उक्त आक्रमणमा धेरै व्यक्ति घाइते भएको बताइए पनि हालसम्म कुनै मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (यूएस सेन्टकम) ले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दलसहितका व्यावसायिक जहाजलाई लक्षित गरी गरिएको आक्रमणको प्रतिकारस्वरूप सैन्य अभियान सञ्चालन गरिएको उल्लेख गरेको छ।
सेन्टकमका अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना डुंगासहित ८० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको छ। ती साना डुंगासँगै इरानका क्षेप्यास्त्र प्रहार स्थल र कमान्ड सेन्टरहरू पनि निशानामा परेको सेन्टकमले जनाएको छ। यद्यपि, आक्रमण गरिएका स्थानहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
यता, इरानका उपविदेशमन्त्रीले अमेरिकी हवाई आक्रमणलाई गत महिना भएको अमेरिका–इरान अन्तरिम सम्झौताविपरीतको कदम भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमण केश्म द्वीप, बन्दर अब्बास र सिरिक क्षेत्रमा गरिएको हो।
यसअघि अमेरिकाले तेल ट्यांकरमाथि हुने कुनै पनि आक्रमणको जिम्मेवारी इरानले वहन गर्नुपर्ने चेतावनी दिएको थियो। मंगलबार राति जारी सेन्टकमको विज्ञप्तिमा हालको हवाई आक्रमणलाई ‘इरानको आक्रामक गतिविधिको प्रतिउत्तर’का रूपमा व्याख्या गरिएको छ।
विज्ञप्तिमा सेन्टकमले इरानको गतिविधिलाई कुनै उक्साहटबिना गरिएको, अत्यन्त खतरनाक तथा युद्धविरामको स्पष्ट उल्लंघन भएको आरोपसमेत लगाएको छ।
यी सैन्य कारबाहीअघि मंगलबार अमेरिकी अर्थ मन्त्रालयले इरानमाथिको तेलसम्बन्धी प्रतिबन्धमा अस्थायी रूपमा दिइएको छुट पनि फिर्ता लिएको थियो।