काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौँ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्।

टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात यस चलचित्रमार्फत पहिलोपटक नायकको भूमिकामा देखिन लागेका हुन्। उनको अभिनयले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ।

फिल्ममा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको छायांकन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।

निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारहरूको पनि उपस्थिति रहनेछ। चलचित्रमा पशुपति शर्माका गीत समावेश हुनेछन्। छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।

यसअघि नै चलचित्रका लागि गायक पशुपति शर्मा, गायिका परितोषिका पन्त तथा कलाकार समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तिघ्रे क्या बिग्रे’ दर्शकलाई हाँसो, मनोरञ्जन र नयाँ स्वाद प्रदान गर्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।