काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

काठमाडाैं। नेकपा (एमाले) को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी रूपमा संकलन गरिएका सुझावहरूका आधारमा अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई सुम्पेको छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको कार्यदलको बैठकले देशका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त राय र सुझावहरूलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत विशेष उपस्थिति रहेको उक्त बैठकले अभियानलाई प्रभावकारी बनाउन सहयोग गर्ने सबै कमिटी र नेता-कार्यकर्ताप्रति आभार प्रकट गरेको छ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार देशव्यापी रूपमा नेता, कार्यकर्ता, जनप्रतिनिधि, जनसंगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष छलफल गरेर यी सुझावहरू संकलन गरिएको हो।

निर्वाचनपछिको समीक्षा, पार्टीको पुनर्ताजगीकरण तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले यो कार्यदल गठन गरिएको थियो। अभियानका क्रममा प्राप्त सुझावहरू विशेषगरी पार्टीभित्रको शुद्धीकरण, संगठन सुदृढीकरण, नेतृत्व विकास, कार्यशैलीमा सुधार र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेका छन्।

कार्यदलले देशभरबाट प्राप्त भएका यी रचनात्मक सुझावहरू पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि अत्यन्तै महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेको छ। दुई नेताले तयार पारेको अन्तिम प्रतिवेदन छिट्टै पार्टी नेतृत्वसमक्ष पेस गरिने तयारी छ।

प्रतिवेदन अनुमोदन भएपछि त्यसकै जगमा एमालेले आगामी दिनमा पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका सांगठनिक कार्यक्रमहरूलाई व्यवस्थित र तीव्र रूपमा अघि बढाउने रणनीति लिएको छ।