काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
अ+
अ-

विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यवसायिक संरचनाहरूमा सोमबार बिहानै डोजर चलाइएको छ ।

अस्पतालको जग्गा मिचेर बनाइएका ३२ वटा व्यवसायिक सटरहरू तीनवटा डोजर प्रयोग गरी एक घण्टाभित्रै भत्काइएको हो ।

विहान ६ बजेदेखि सुरु भएको डोजर अपरेसनमा हस्पिटल चोकस्थित गणेश मन्दिरले भाडामा लगाएका आधा दर्जन बढी सटरसहित नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका नाममा बनाइएका ३२ वटा सटरहरू भत्काइएको कोशी अस्पतालका जनसम्र्पक अधिकारी नवराज लुईटेलले जानकारी दिए ।

अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएर संरचना खाली गर्न अन्तिम चेतावनी दिएपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न सुरु गरेका थिए । अस्पतालले जिल्ला सुरक्षा समितिसँगको समन्वयमा सोमबार बिहान ५ बजेदेखि नै विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरेको थियो ।

सम्भावित अवरोधलाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । संरचना भत्काउने कार्यको प्रत्यक्ष अनुगमनका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितका सुरक्षा अधिकारीहरू उपस्थित थिए ।

एसपी कटवालका अनुसार अस्पतालको जग्गा कब्जा गरी विभिन्न संघ–संस्थाले व्यवसायिक प्रयोजनका लागि ती संरचनाहरू निर्माण गरेका थिए । ‘अस्पतालको जग्गामा अरूले नै रजगज गरेर भाडा खाइरहेको अवस्था थियो, त्यसैले डोजर लगाएर खाली गराएका हौं,’ उनले भने ।

विगत लामो समयदेखि अस्पतालको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएर औषधि पसल र क्लिनिकहरूलाई भाडामा दिएका थिए । ती सटरहरूको भाडाबापतको आम्दानी अस्पतालले नभई सम्बन्धित संस्थाहरूले नै उठाउँदै आएका थिए ।

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले अस्पतालको गुरुयोजना कार्यान्वयनका लागि यी संरचनाहरू हटाउनु अनिवार्य रहेको बताए । उनले भत्काइएको क्षेत्रलाई तत्काल घेराबन्दी (बाउन्ड्री) गरेर सुरक्षित बनाइने जानकारी दिए । ‘भत्काइएको ठाउँलाई हामी तत्काल व्यवस्थित गर्छौं र अस्पतालकै प्रयोजनका लागि पर्खाल लगाएर सुरक्षित राख्छौं,’ मेसु झाले भने ।

यसअघि गत असार २१ गते गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमन गरी अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए । सोही निर्देशन र अस्पतालको आफ्नै निर्णय बमोजिम सात दिने सार्वजनिक सूचना जारी गरिएको थियो, जसको म्याद आइतबार सकिएको थियो । म्याद सकिएको एकदिनपछि सोमबार सकिएकै दिन डोजर चलाइएको हो ।

अस्पतालको अभिलेख अनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएका थिए । पञ्चायतकालदेखि नै यी संस्थाहरूले अस्पतालको जग्गा हडपेर संरचना बनाएका थिए ।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलले अतिक्रमित संरचना हटेसँगै अब अस्पतालको सेवा विस्तार र संस्थागत प्रयोजनमा जग्गा उपयोग गरिने बताए । डोजर चलाएर व्यवसायिक सटरहरू भत्काइए पनि नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्ताकलय र गणेश मन्दिरको मूल संरचना भने तत्कालका लागि यथावत राखिएको अस्पताल प्रशासनले जनाएको छ ।