विराटनगर। सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरणको स्कोर्पियो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिकै भएको दुर्घटनामा चालक र एक प्राविधिक कर्मचारीको ज्यान गएको हो।
मृत्यु हुनेमा धरान–१३ का ३३ वर्षीय चालक बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय प्राविधिक सुमन आचार्य रहेका छन्।
दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा आएको प्राविधिक समस्या मर्मत गर्न जाने क्रममा प्राधिकरणको बा१ञा १६५१ नम्बरको स्कोर्पियो राति करिब ११ बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका राई र आचार्यलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा प्राधिकरणकै अर्का कर्मचारी ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्राधिकरण धरान शाखाका प्रमुख हरिराम पोखरेलका अनुसार सोमबार राति ९:५४ बजेतिर प्रसारण लाइनमा समस्या आएपछि टोलीलाई पेट्रोलिङ र मर्मतका लागि खटाइएको थियो। ‘डिउटीकै क्रममा कर्मचारीहरू सवार गाडी दुर्घटनामा परेको हो,’ उनले भने। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।