काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
अ+
अ-

काठमाडौँ। सरकारले हालै कार्यान्वयनमा ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ प्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्।

१५ संघसंस्था आवद्ध शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर बिहीबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।

समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै बिहीबार कालो पट्टी बाँधेर नियमित काम गर्ने र शुक्रबार बिहान ११ बजेदेखि देखि आधाघन्टासम्म काठमाडौँका विभिन्न स्थानहरूमा प्लेकार्डसहित विरोध प्रदर्शन गरिने जनाएको छ।

यसरी आन्दोलन गर्दा पनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेमा आफ्ना कार्यालयका चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालिन आन्दोलनमा उत्रिने समितिले जनाएको छ ।

संयुक्त संघर्ष समितिले नियमावलीमा अनुमति पत्रको नवीकरण वर्षैपिच्छे गर्नुपर्ने व्यवस्था रहेकोमा यसलाई खारेज गरी कम्तीमा ५ वर्षको बनाउनुपर्ने, शैक्षिक मेला वा सेमिनार गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र कार्यालय परिसरभित्र गरिने कार्यक्रमका लागि समेत अनुमति लिनुपर्ने व्यवस्था हटाउनु पर्ने, निजि शैक्षिक संस्थालाई लागु गरिएको समता शुल्क शैक्षिक परामर्शमा लागु गर्न नहुने लगायतका माग गर्दै आएको संयोजक दीपक गुरुङले जानकारी दिए।